कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चौपाया जोगाउन ‘प्रतिरोधात्मक खोर’

पर्सा — वन्यजन्तुबाट बाख्रा जोगाउन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘बाख्राको प्रतिरोधात्मक खोर सहयोग कार्यक्रम’ प्रभावकारी बनेको छ ।

चौपाया जोगाउन ‘प्रतिरोधात्मक खोर’

राष्ट्रिय प्रकृति संरक्षण कोषले पर्सा तथा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रअन्तर्गत ठोरी गाउँपालिकाका विभिन्न उपभोक्ता समितिलाई लक्षित गरी यो कार्यक्रम गत वर्षदेखि सञ्चालन गरेको हो । कोषका सूचना अधिकृत सन्तोष भट्टराईका अनुसार पर्सा निकुञ्जको सुवर्णपुरस्थित सुनाखरी, पञ्चमुखी, निर्मलबस्ती र कुसुमबाटिका गरी चार तथा चितवन निकुञ्जअन्तर्गतका निर्मल–ठोरी गरी पाँच उपभोक्ता समितिमा यो कार्यक्रम चलिरहेको छ ।


कार्यक्रमका लागि छनोट गरिएका गाउँहरूमा गत वर्ष पहिलो चरणमा १ सय ७५ र दोस्रो चरणमा १ सय २५ गरी बाख्राका ३ सय खोर बनाइएका छन् । सुनाखरीमा १ सय, पन्चमुखी, निर्मलबस्ती र कुसमबाटिकामा ५०/५० तथा निर्मलठोरीमा ५० वटा खोर बनाइएका छन् । यसका लागि कोषले ३३ लाख रुपैयाँ लगानी गरेको छ । विगतमा बाघ र चितुवाले बाख्रा खाएर आजित भएका निकुञ्जनजिकको बस्तीका किसान कार्यक्रम सन्चालनपछि खसीबाख्रा जोगिएको बताउँछन् । कार्यक्रमअन्तर्गत उपभोक्तालाई प्रतिखोर ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । यो रकमबाट उपभोक्ताले खोर बनाउन मेस तार, जाली र टिन खरिद गरेका छन् । खोर बनाउने काठको फ्रेमको व्यवस्था उपभोक्ता आफैंले गरेका हुन् ।


सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल कार्यक्रम प्रभावकारी भएको बताउँछन् । ‘पहिले पहिले दैनिकजसो बस्तीमा पसेर बाघ र चितुवाले खसीबाख्रा लग्थे, कतिपयका त गोठ रित्तो नै बनाउँथे,’ उनले भने, ‘अहिले पनि खोरनजिक बाघ र चितुवा आउँछन् तर खोर फुटाएर लैजान पाउँदैनन् ।’ घरपालुवा जन्तु जोगिएपछि गाउँलेको वन्यजन्तुसँगको द्वन्द्व पनि कम भएको उनले बताए ।


खोर निर्माणमा वनछेउ रहेका र विगतमा बढी क्षति बेहोरेका किसानलाई प्राथमिकता दिइएको छ ।


प्रकाशित : मंसिर ५, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?