कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हराउँदै बासमती–करियाकामत

किसानको ध्यान कम पानी लाग्ने, छिटो र धेरै फल्ने हाइब्रिड धानतिर
ओमप्रकाश ठाकुर

(सर्लाही) — मगमग बास्ना आउने बासमती र करिया धानका चामल स्वादिला मानिन्छन् । दशकअघि सर्लाहीका अधिकांश कृषकले यी धान लगाउनु अनिवार्य जस्तै थियो । बेच्नका लागि धेरै फल्ने अरु धान लगाए पनि आफूलाई खान पुग्ने गरी करिया र बासमती लगाउने किसान धेरै थिए । 

हराउँदै बासमती–करियाकामत

तुलनात्मकरूपमा अन्य विकासे धानका तुलनामा बढि स्याहार र लगानी पर्ने तर, उत्पादन थोरै हुने भएकाले यी धान लगाउने क्रम घट्यो । अहिले जिल्लामा मुस्किलले कतै कतै लगाएको मात्रै भेटिन्छ । कम सिंचाइ चाहिने, छिटो र धेरै फल्ने हाइब्रिड धानतिर किसान आकिर्षित छन् । यसले गर्दा जिल्लबाट बासमती र करियाकामत धान हराउने अवस्थामा पुगेको छ । ‘बिउ जोगाउन गाह्रो भयो । फले पनि थोरै फल्ने, स्वाद पहिलेभन्दा फेरिँदै जान थालेपछि हामी सबैले विकासे धान नलगाइ सुख पाएनौं,’ कविलासी नगरपालिका–१ का नथुनी राय भन्छन्, ‘किसानले आफ्नै मनले बासमती र करिया लगाउन छाडेका होइनन् । यो लगाइरहँदा आएका समस्यामा कतैबाट पनि सहयोग पाइएन ।’ हलक्क बढ्ने, हावाहुरी चल्दा ढलेर सोत्तर हुने र रोगकीरा छिटै लाग्नुका साथै स्वाद पनि फेरिँदै गएको समस्यामा कृषि प्राविधिकको उचित सहयोग नपाउनुले बासमती र करिया लगाउन घटेको उनले बताए ।


बढ्दो महंगी धान्न किसानले धेरै फल्ने बिउ लगाउने क्रम बढेको छ । कृषि प्राविधिकले सिफािरस गर्ने नयाँ जातहरू खानका लागि किसानले रुचिकर भने मानेका छैनन् । एक दशक अघिसम्म जिल्लाका गाउँबस्तीमा कात्तिक–मंसिर नलाग्दै बासमती र करियाकामत धानको बासना आउँथ्यो । ती रैथाने धानको ठाउँ हाइब्रिडले ओगटेको छ । विकासे धानको तुलनामा उत्पादन पनि निकै कम हुने गरेका कारण पनि रैथाने बिउ मासिँदै गएको किसानको भनाई छ । ‘खानमा मिठो रहेको बासमती र करियाकामतको उत्पादन निकै कम छ, विभिन्न खाले रोगका कारण यी धानमा लगानी बढी लगाउनु पर्छ,’ राय भन्छन्, ‘हाईब्रिड लगाउँदा बढी फल्छ र रोगकिरा नलाग्नाले लगानी पनि कम लाग्छ, हावा चलेर हाईब्रिड धानलाई असर पनि गर्दैन ।’


पाँच वर्ष अघिसम्म करियाकामत धान खेती गर्दै आएका हरिपुरका कपल दासले पनि धानको जात फेरेका छन् । रैथाने बाली छोडेर उनले मकवानपुरे मोटो धान लगाउन थालेका हुन् । रैथाने बाली लगाउँदा प्रतिकठ्ठा एकदेखि डेढ मनसम्म उत्पादन हुने र हाईब्रिड लगाउँदा प्रतिकठ्ठा पाँचदेखि सात मनसम्म उत्पादन हुने गरेको उनले सुनाए ।


मकवानपुरे धानको उत्पादन राम्रो भएपनि यो धान चिउरा खान मात्र प्रयोग हुन्छ । उत्पादन भएको सबै धान चिउरा मिलमा बेचेर उनले भारतबाट आयातित मसिनो चामल किनेर खाने गरेको बताए । ‘करियाकामतले लागत अनुसारको उत्पादन दिएन, त्यसैले बाली फेरेर मकवानपुरे मोटो धान लगाएँ । अहिले कम लागतमा राम्रो फलेको छ,’ उनले भने, ‘यो धान चिउरा मिलमा बेचेर भारतीय बजारबाट सस्तोमा मसिनो चामल खरिद गरेर खाने गरेको छु, यसले केही पैसा बचत पनि भएको छ ।’


सिंचित क्षेत्रमा रैथाने धानहरू लोप अवस्थामा पुगिसकेको छ । सिंचाई नपुगेका ठाउँमा पनि कम उत्पादनका कारण किसानले धान बाली छोडेर उखु खेती गरिरहेका छन् । बासमती र करियाकामत धानको उत्पादनले धान्नै नसक्ने भएपछि खेती गर्न छाडेको स्थानीय किसान बताउँछन् । परम्परागत खेतीमा जस्तो अहिलेको आधुनिक खेती प्रणालीमा रैथाने धान नफल्ने किसान ठगा रायले बताए । ‘अहिले गुणस्तरीय मानिने बासमती र करियाकामत धान लगाइँदैन, धेरै उत्पादन दिने उन्नत जातको धान लगाइन्छ,’ उनले भने, ‘धेरै क्षेत्रफलमा थोरै उत्पादन हुने भएकाले पनि रैथाने धान खेती गर्न छाडियो ।’ उनले पहिला खानका लागि मात्र खेती गरिन्थ्यो अहिले व्यवसायिक उत्पादनमा जोड दिएकाले पनि लगाउन छाडिएको बताए ।


उन्नत जातको बीउ भित्रिएसँगै रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द रायले बताए । ‘रैथाने र गुणस्तर मानिएका बासमती र करियाकामतलाई हाइब्रिड धानले बिस्थापित गरेकाले लोप हुने स्थितिमा पुगेको छ,’ उनले भने, ‘पुरानो बिउमा उत्पादन घट्नु नै प्रमुख कारण हो ।’ कृषि कार्यालयले सिफरिस गर्ने नयाँ जातका बारेमा कृषि प्राविधिकले दिने सल्लह किसानले मान्नैपर्ने बाध्यता समयले पनि गराएको उनको भनाइ छ । ‘धेरै र राम्रो फल्ने जात भए किसानलाई आर्थिकरूपमा फाइदा हुन्छ,’ उनले भने, ‘नोक्सान खेपेर रैथाने धान कसले लगाइरहला ।’ ४६ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने सर्लाहीका २३ हजार हेक्टरमा मात्रै सिंचाई सुविधा पुगेको छ । सिंचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् ।


प्रकाशित : मंसिर ५, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?