कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेताबीच चियापसलमै कुटाकुट

भूषण यादव

(वीरगन्ज) — प्रदेश २ का सांसद ओमप्रकाश शर्मा र कांगेसका वीरगन्ज महानगर सभापति भोला कलवारबीचको विवाद कुटपिटसम्म पुगेको छ । बुधबार वीरगन्जको आदर्शनगरमा उनीहरूले एकअर्कालाई कुटपिट गरेका हुन् । दुवै सामान्य घाइते छन् । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शर्मा कांग्रेसका समानुपातिक सांसद हुन् । 

बिहान पौने ८ बजे आदर्शनगस्थित एक पसलमा चिया खाने क्रममा गालीगलौजपछि उत्पन्न विवाद कुटपिटमा परिणत भएको थियो । त्यस क्रममा स्थानीयले शर्मालाई छुटाएर अर्को चिया पसलमा लगे । ‘त्यही क्रममा कलवारले ६/७ युवालाई फोन गरेर बोलाइसकेका थिए,’ एक प्रत्यक्षदर्शी भन्छन्, ‘कलवारका युवा आएपछि अर्को चिया पसलमा बसिरहेका शर्मालाई गएर कुटपिट गरेका थिए ।’ आक्रमणमा कलवारको निधारमा चोट लागेको छ ।


सुरुमा दुबै उपचारका लागि नारायणी अस्पताल पुगेका थिए । उपचारपछि शर्मा घर फर्किए भने उच्च रक्तचापबाट पीडित कलवार थप उपचारका लागि भन्दै काठमाडौँ गएका छन् । आफूमाथि कुटपिट भएको भन्दै शर्मा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । ‘प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जाहेरी मुद्दा फाँटमा बुझाएर घाउ जाँच फाराम भर्न भनेका छन्,’ उनले भने, ‘अवैध तरिकाले लिजमा लिएको नगरसभा गृहको विरोध गर्दा त्यसलाई पर्सनल इस्यु बनाएर मार्न खोजियो ।’ कलवारले भने व्यापारीको माल नियन्त्रणमा लिएर पछि आफैं बार्गेनिङ गर्ने शर्माको प्रवृत्तिको विरोध गर्दा वादविवाद भएको प्रतिक्रिया दिएका छन् ।


‘बिहान सुरुमा ओमप्रकाशले नै गाली गरेको हो,’ काठमाडौँबाट फोनमा कलवारले भने, ‘आज कसको दिन खराब थियो, उसको कि मेरो थाहा भएन, गालीगलौज पछि कुटपिट भयो ।’ प्रदेशसभामा मनोनीत शर्मा पहिलो संविधानसभामा कांग्रेसबाट मनोनित सभासद समेत हुन् । शर्मा र कलवार जिल्लामा कांग्रेसको एउटै गुटका मानिन्छन् । तीन वर्षअगाडि सम्पन्न १२औँ जिल्ला अधिवेशनसम्म दुवै जना जिल्ला सभापति अजय द्विवेदीनिकट थिए । अधिवेशनका क्रममा द्विवेदी समूहले आफूनिकटका मतदाता र समर्थकलाई जोगाउन वीरगन्जको रानीघाटस्थित हरिओम पार्टी प्यालेसमा ३ दिनसम्म खाने र बस्ने व्यवस्था मिलाएको थियो । खाना व्यवस्थापनको जिम्मेवारी भोला कलवारले लिएका थिए भने त्यसको भुक्तानीको जिम्मा ओमप्रकाश शर्माको थियो । अधिवेशनमा द्विवेदी समूहको विजय भयो ।


पार्टी स्रोतका अनुसार अधिवेशनपछि कलवारले करिब १५ लाख रुपैयाँको बिल शर्मालाई पेस गरेका थिए । ‘तीनदिनको खानाको यति धेरै बिल कसरी हुन्छ भनी शर्माले प्रश्न गरेका थिए,’ पार्टी स्रोत भन्छ, ‘दुईपटक गरि शर्माले करिब ९ लाख रुपैयाँ मात्र दिए ।’ त्यसबेलादेखि सुरु भएको मनमुटाव स्थानीय तहको निर्वाचनमा झन बढ्यो ।


‘पार्टी सभापति द्विवेदीले शर्मालाई कुनै पदमा चुनाव लडाउने आश्वासन दिएका थिए,’ एक नेताले भने, ‘त्यसपछि शर्माले देउवा खेमाकै जिल्लामा रहेको अर्को गुट समाए ।’ यहीबीच महानगरपालिका मातहत रहेको नगरसभागृह कलवारले सार्वजनिक नीजि साझेदारी अन्तर्गत २२ वर्षका लागि लिजमा लिएका थिए । स्थानीय प्रतिनिधि नहुँदा महानगरका कर्मचारीले सस्तो मूल्यमा लामो समयका लागि नगरसभागृह लिजमा दिएको भन्दै शर्माले विरोध गर्दै आएका थिए ।


करिब डेढ वर्षअगाडि कांग्रेस नेता रामचन्द्र पौडेलको वीरगन्जमा भएको एक कार्यक्रममा समेत कलवार र शर्माबीच गालीगलौज र धकेलाधकेल भएको थियो ।

प्रकाशित : मंसिर ५, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?