१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हात्तीको पदमार्ग नमास्न माग

शंकर आचार्य

(पर्सा) — निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा हात्तीको परम्परागत पदमार्ग नमासी केही वन क्षेत्र यथास्थितिमा छोड्नुपर्ने माग संरक्षणकर्मीले गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जकर्मीले विमानस्थलको भौतिक संरचना निर्माणअघि हात्तीको पदमार्ग जोगाउन गृहकार्य गर्नुपर्ने उनीहरूको सुझाव छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जन निकुञ्जसँग जोडिएको बाराको राष्ट्रिय वनमा विमानस्थलको भौतिक संरचना निर्माण गर्न लागिएकाले त्यसको प्रत्यक्ष प्रभाव निकुञ्जका रैथाने हात्तीको बासस्थान र पदमार्गमा पर्ने बताउँछन् । ‘यो अत्यन्त संवेदनशील विषय हो, सरोकारवालाले राष्ट्रिय गौरवको आयोजना मानिएको निजगढ विमानस्थलको भौतिक संरचना निर्माण छिट्टै सुरु हुने दाबी गरी रहेको बेला हाम्रो चिन्ता पनि बढेको छ,’ उनले भने, ‘निर्माण कार्य सुरु हुनुअघि नै हात्तीको परम्परागत पदमार्गलाई जोगाउनेबारे पर्याप्त अध्ययन, बहस र गृहकार्य जरुरी छ ।’


आफ्नो परम्परागत पदमार्ग नै प्रयोग गरेर हात्तीको समूहले बर्सेनि यात्रा गर्ने गर्छ । उसको ओहोरदोहोर गर्ने मार्ग नै बिथोलियो भने उसले मार्गमा पर्ने जस्तोसुकै अवरोधलाई पन्छाउने प्रयास गर्छ । ‘यो हात्तीको प्राकृतिक स्वभाव नै हो, उसले बर्सेनि एउटै पदमार्गबाट आवागमन गर्छ,’ महर्जन भन्छन्, ‘आफ्नो बाटोमा कुनै निर्माण कार्य वा अवरोध आदि भए ऊ आक्रोशित भएर त्यसलाई पन्छाउन खोज्छ ।’


निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक राम बर्सेनि निकुञ्जको रैथाने हात्तीको झुन्ड बाराको राष्ट्रिय वन हुँदै रौतहट भएर सर्लाहीको वन क्षेत्रसम्म पुग्ने गरेको बताउँछन् । हात्तीको झुन्ड निजगढको पश्चिमको तामागढीको वन क्षेत्र भएर बकेया खोला तरेर निजगढ दक्षिण भएर रौतहटको वन क्षेत्रमा प्रवेश गर्ने गरेको छ । ‘प्रस्तावित विमानस्थलको उत्तरी सिमानामा पर्ने उक्त क्षेत्रमा हात्तीको सहज तथा परम्परागत आवागमनलाई कायम राख्ने केही वन क्षेत्रका रूख नकाटी पूर्ववत् अवस्थामै छाडिदिनुपर्छ,’ रामले भने, ‘बकेया खोलाको पश्चिमतर्फ २ किमि र पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ ३ किमि वन क्षेत्र नचलाउने हो भने हात्तीको पदमार्ग कायम रहन्छ ।’


निकुञ्जको रैथाने हात्तिको झुन्डले बर्सेनि असार–साउन महिनामा यही बाटो भएर पूर्वपश्चिम यात्रा गर्ने गर्छ । यही मार्ग भएर पूर्व सुनसरी/सिन्धुली हुँदै सर्लाहीसम्म आउने हात्तीको समूहले पनि निकुञ्जसम्मको यात्रा गर्ने गर्छ । यसै वर्ष पनि प्रस्तावित निजगढ विमानस्थल निर्माणस्थल क्षेत्रमा हात्तीको समूह धेरै दिन बसेको पाइएको उनले बताए ।


हात्तीमै विद्यावारिधि गरिरहेका राम यात्रा गर्दा बाटोको ५ किमि दूरीसम्म ‘डिटेक्ट’ गर्ने क्षमता भएको जनावर हात्तीले त्यस क्रममा कुनै बाधा–अवरोध देखे आफ्नो यात्रा अघि नबढाउने प्रकृतिको हुने गरेको बताउँछन् । सूँड माथि उठाएर उसले १५ किमि दूरीसम्मको अवस्था मापन गर्न सक्ने र त्यति नै दूरीमा रहेको हात्तीलाई संकेत गर्न सक्ने क्षमता हात्तीमा हुने गरेको उनले बताए । नेपालको राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षमा कुल २ सय २५ जंगली हात्ती रहेको तथ्यांक छ । जसमध्ये सबैभन्दा बढी बर्दिया कम्प्लेक्समा १ सयदेखि १ सय १०, चितवन/पर्सा कम्प्लेक्समा ४५ देखि ५०, सिन्धुलीमा ८, कोसीमा १३ देखि १४, झापामा १९ देखि २० र शुक्लाफाँटामा २० देखि २५ हात्ती रहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?