१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बढ्यो चुनावी सरगर्मी

छिन्नमस्ता–७ को वडाध्यक्षका उम्मेदवार आफूले जिते वडाको मुहार फेर्ने सपना देखाउँदै मत माग्दै 
अवधेशकुमार झा

(हाटी, सप्तरी) — सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा ७ की पवित्रीदेवी सदा मंगलवार बिहान धान काट्न खेततर्फ गइरहेका बेला झन्डा र प्रचार सामग्री बोकेका २०–२५ जनाबाट घेरिइन् । राजपा नेपाल र समाजवादी पार्टीबीचको गठबन्धनवाट वडाको वडाध्यक्ष पदमा उम्मेदवार भएकी प्रमिलादेवी यादव र उनका समर्थकले मत दिन आग्रह गरे । उनले पनि मुन्टो हल्लाइन् । 

बढ्यो चुनावी सरगर्मी

केही पर पुग्दा नेकपाका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार अच्छेलाल यादब पनि बस्तीमा मत माग्दै गरेको भेटिए । गाउँमा धान काट्ने र भित्र्याउने चटारोका बीच अहिले सप्तरीको छिन्नमस्ता वडा ७ मा चुनावी माहोल तातेको छ । दैनिक रूपमा हुने उम्मेदवारको घरदैलोका कारण चुनावी सरगर्मीलाई बढाएको छ । उक्त वडामा वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ मा मतदान हुँदै छ । वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।


निर्वाचनमा समाजवादी पार्टी र राजपाले गठबन्धन गरी प्रमिला यादवलाई उम्मेदवार बनाएको छ । उनी जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवकी श्रीमती हुन् । आफूले जितेको वडामा परिमाण आफ्नो पक्षमा पार्न जिसस प्रमुखलाई चुनौती थपिएको छ । जिसस प्रमुख यादवबाट वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भई ८ मतले पराजित हाल नेकपाबाट उम्मेदवार भएका अच्छेलाल यादव परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । नेपाली कांग्रेस र पहिलोपटक निर्वाचनमा होमिएको सीके राउतको जनमत पार्टीका उम्मेदवारले पनि चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । स्थानीय बासिन्दाले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रूपमा देखाएका छन् ।


उम्मेदवार भने आफूले जिते वडाको मुहार फेर्ने सपना देखाउँदै मत मागिइरहेका छन् । कुल एक हजार चार सय तीन जना मतदाता रहेको वडामा वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार रहे पनि मुख्य रूपमा समाजवादी पार्टी र राजपा नेपालको गठबन्धनबाट उम्मेदवार भएकी प्रमिलादेखी यादव र नेकपाबाट उम्मेदवार भएका अच्छेलाल यादवबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । ‘वडाको अवस्था सुधार गर्नेलाई मत दिन्छौं,’ स्थानीय तृप्तिलाल मण्डलले भने, ‘बाटोघाटो, स्वास्थ्य सेवा र गरिबी हाम्रो वडाको प्रमुख समस्या रहेको छ ।’


प्रकाशित : मंसिर ४, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?