३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उखु किसानलाई दोहोरो मार

सुनिता बराल

(महोत्तरी) — खेतमा नयाँ उखु तयार भइसक्यो, किसानले भने अघिल्लो वर्ष बिक्री गरेको भुक्तानी पनि पाएका छैनन् । ऋणमा पैसा लिएर लगाएको उखुको मूल्य समयमै नतोकिँदा र उद्योगले समयमै भुक्तानी नगर्दा किसान दोहरो मारमा परेका छन् । 

उखु किसानलाई दोहोरो मार

गत वर्ष सरकारले नै उखुको मुल्य प्रतिक्विन्टल ५ सय ६३ रुपैयाँ ५६ पैसा तोकेको थियो । यसमा किसानले ४ सय ७१ रुपैयाँ २८ पैसा चिनि उद्योगबाट र ६५ रुपैयाँ २८ पैसा सरकारबाट पाउनुपर्ने हो । तर किसानले उत्पादन गरेको उखु उद्योगलाई बुझाएको ४५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भनिए पनि महोत्तरीको एभरेष्ट चिनी मिलमा गत माघ महिनामा उद्योगलाई बुझाएको उखुको भुक्तानी अहिलेसम्म किसानले पाउन नसकेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुवाहले बताए ।


महोत्तरी जिल्लाको गौशाला १ स्थित रामनगरमा रहेको देशकै सबैभन्दा ठूलो चिनी उद्योग एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले अझै करिब ५ हजार किसानको ८ करोड बक्यौता बुझाएको छैन । गतवर्षकै बक्यौता नपाएकाले यस वर्षको उखु खेतमा पाकिसकेको भए पनि किसान बाँकी बक्यौताको भुक्तानी र अनुदान रकमकै लागि कुरिरहेका छन् । यस वर्ष उखुको मूल्य बढ्नुपर्ने माग किसानको भए पनि अहिलेसम्म उद्योगले मूल्य निर्धारण गर्न चासो नै दिएका छैनन् ।


गौशाला १ का शिवजी महतोले उखु खेती गरेर अब हातमुख जोर्न धौधौ पर्ने भएको बताए । ‘साहुको ऋण लिएर खेती गर्‍यो,’ उनले भने, ‘डेढ वर्षसम्म कुरेर पनि बालीको पैसा लिन सकिन्न भने खेती गरेर उँभो लागिने भएन ।’ सरकारले दिने अनुदानबापतको रकम महोत्तरीका किसानले २१ करोड रुपैयाँ लिन बाँकी छ । सरकारले अनेक कागजपत्रको झमेला दिएर त्यही अनुदान पनि नदिने खेल खेलिरहेको भन्दै किसानले आन्दोलन गर्ने निर्णय गरेको महासंघका महाशंकर थिङले बताए । अहिले अनुदान लिन सरकारले अनिवार्य लालपुर्जा र अन्य दर्ता प्रक्रियाको झन्झट लगाएको किसान बताउँछन् ।


चिनी बिक्री नहुँदा ढिलाइ

उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएकाले किसानको उखुको भुक्तानी गर्न नसकिएको उद्योगी बताउँछन् । विदेशी चिनी नेपालमा आएपछि स्वदेशी चिनीको खपत नहुने भएकाले अहिले नेपालमा भारत र पाकिस्तानको चिनी बिक्री भइरहेकाले नेपाली चिनीको व्यापार ठप्प रहेको र किसानको भुक्तानी गर्न नसकिएको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताए । उनले भने, ‘अहिले भारत र पाकिस्तानको चिनी नेपालमा छ, स्वदेशी चिनीको खपत गराउन र किसानको भुक्तानी गर्न समस्या भइरहेको छ ।’

प्रकाशित : मंसिर ३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?