सुवर्णपुर होमस्टेको स्तरोन्नति गरिँदै

शंकर आचार्य

(पर्सा) — ठोरी गाउँपालिकाकाको वडा ५ का होमस्टेलाई स्तरोन्नति गर्न सुरु गरिएको छ । विश्व वन्यजन्तु कोषको ताल कार्यक्रम र पर्सा राष्ट्रिय निकुञ्जको सहयोग तथा होमस्टे सञ्चालकसमेतको लगानीमा स्तरोन्नति थालिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार पहिलो चरणमा १५ मध्ये ४ होमस्टेको स्तरोन्नति गर्न थालिएको छ । त्यसपछि क्रमशः बाँकीको पनि स्तरोन्नति गरिने छ । निकुञ्जको मध्यवर्ती उपभोक्ता समितिमार्फत गरिएको यस कार्यअन्तर्गत हाल उर्मिला तामाङ, वीरबहादुर लोप्चन, दावा स्याङ्तान र धनबहादुर दोङको होमस्टे स्तरोन्नति गरिँदै छ ।

ताल कार्यक्रमले यसका लागि प्रतिहोमस्टे ८ लाख रुपैयाँ सहयोग गरेको उनले बताए । ‘निकुञ्जले पनि केही रकम सहयोग गर्ने गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘होमस्टे सञ्चालक आफैंले पनि १० देखि १५ प्रतिशत रकम लगानी गर्दै छन् ।’ हालका होमस्टेको स्तरोन्नति गरियो भने पाहुनाको बसाइ लम्बिने र त्यसले व्यवसाय उँभो लाग्ने महर्जनले बताए । ‘चितवन र अमलटारीकै जस्तो अवधारणामा सुविधा सम्पन्न होमस्टे निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘२ कोठे होमस्टे भवनमा पाहुनालाई नुहाउन र शौच गर्न सहज होस् भनी एट्याच बाथरुम निर्माण गरिँदै छ, होमस्टेमा बसे पनि अधिकांश पाहुनाले एट्याच शौचालयन खोज्ने र होटलकै सरह न्यूनतम सुविधा पनि खोज्ने भएकाले यसो गर्न लागिएको हो ।’ ५ वर्षअघि १० घरबाट सुरु गरिएको होमस्टे यो तामाङ गाउँमा हाल १५ घरमा विस्तार हुन पुगेको छ । ठोरी गाउँपालिकाकाको वडा ५ मा रहेको यो गाउँका होमस्टेमा सदरमुकाम वीरगन्ज, पोखरा, हेटौंडा, काठमाडौं, चितवन क्षेत्रका पाहुना आउँछन् । गत वर्षदेखि विदेशी पाहुनाको टोली पनि आउने क्रम बढेको गाउँका सुनाखरी मध्यवर्ती होमस्टे समितिका अध्यक्ष शम्भुराम पौडेलले बताए । होमस्टेको स्तरोन्नति भएपछि पाहुनाको बसाइ लम्बिने उनले विश्वास व्यक्त गरे । ‘यहाँ पनि चितवन र अमलटारीकै हाराहारीमा सुविधा सम्पन्न होमस्टे भए पाहुनाको बसाइ अवश्य पनि लम्बिनेछ,’ उनले भने, ‘निकट भविष्यमै वाईफाइको सुविधा तथा म्युजियमको व्यवस्था पनि हामी गर्न लागेका छौं ।’

अर्का होमस्टे अगुवा भीमबहादुर पाख्रिन बिदा मनाउन मात्र नभई तामाङ संस्कृति, रहनसहनलाई नजिकबाट बुझ्न, वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान एवम् शोधपत्र तयार पार्न पाहुना आउने गरेको बताउँछन् । यस भेगमै लज र स्तरीय होटेल नभएकाले पनि यो गाउँको होमस्टेले आगन्तुकलाई धेरै सुविधा भएको उनले सुनाए । पछिल्लो समय दैनिक कम्तीमा ३ देखि ५ जनासम्म पाहुना होमस्टेमा बासका लागि आइरहेको उनले बताए । गत वर्षदेखि अमेरिकी, जर्मनलगायत पर्यटकको टोली पनि होमस्टेमा आउने क्रम बढेको उनले सुनाए । होमस्टे समितिले पाहुनालाई नजिकको पर्सा निकुन्जमा रहेको दुग्धेश्वरनाथ महादेवको दर्शन गराउने, बिहान बेलुका आरक्षको ग्रास लाइनमा लगेर बन्यजन्तुको अवलोकन गराउने, आरक्षमै रहेको घोडेमसान मन्दिर र लौकी दहसम्म पुर्‍याएर जंगल सफारीको अनुभव दिलाउने योजना बनाएका छन् ।

पाहुनालाई गत बर्षदेखि तामाङ गित, नृत्य तथा संस्कृति पनि देखाउन थालिएको छ । समितिले २ कठ्ठा जग्गा खरिद गरी सांस्कृतिक घर निर्माण गरेको छ । भवन निर्माणका लागि तारागाउँ विकास समितिले ४ लाख १० हजार र चितवन राष्ट्रिय निकुन्जअन्तर्गतको ताल कार्यक्रमबाट ५ लाख गरी ९ लाख १० हजार रुपैया उपलब्ध भएको थियो । होमस्टेमा आउने पाहुनाको मनोरन्जनका लागि तामाङ गीत तथा नृत्य पस्कने गरिएको छ । तराईको दुर्गम गाउँमा पाहुनाले तामाङ गित तथा नृत्यको प्रत्यक्ष अनुभव लिन पाउँदा रमाउने गरेका छन् । यसले तामाङ संस्कृतिको संरक्षण र एक अर्काको संस्कृतिसँग परिचित हुने अवसर पनि जुटाइरहेको छ ।

हाल होमस्टे संचालित घरमा २/२ वटा गरी दुई दर्जन बढी बेड उपलब्ध छन् । होमस्टेमा पाहुनालाई टिका र माला लगाएर आत्मिय स्वागत गर्ने, पारीवारीक सदस्य झै व्यवहार गर्ने र भावपूर्ण रुपमा विदाई गरिन्छ । होमस्टे सञ्चालित घर र तिनका कोठा सफासुग्घर राखिएका छन् । घरमा आरामदायी बिछ्यौनाको व्यवस्था गरिएको छ । प्रतिबेड दैनिक २ सय रुपैयाँ मात्रै शुल्क लाग्ने होमस्टेमा पाहुनाको अर्डर बमोजिमको खाजा र खानाको व्यवस्था गरिन्छ । शाकाहारी तथा मांसाहारी खानाको व्यवस्था गरिएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमेडीमा जम्दै कृष्ण

कान्तिपुर संवाददाता

(धनुषा) — जनकपुरका हास्य कलाकार कृष्ण महतोको अभिनयले मधेस र पहाडको मन जित्दैछ । नेपाली चलचित्र दुई रुपैयाँ, फाटेको जुत्तामा अभिनय गरेका महतोका अरु दुई नेपाली चलचित्र रिलिज हुन बाँकी छन् । कलाकार महतोको मैथिली भाषाको रोचक–घोचक कार्यक्रम जनकपुरमा लोकप्रिय बनेको छ । 

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा उनी उत्कृष्ट भएका थिए । महतोले निर्देशन गरेको लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट भएसँगै उनी यो बिधामा जमेका हुन् । पहिलो निर्देशनमै उनी २७ वटा चलचित्रलाई पछि पार्दै उत्कृष्ट भएका हुन् ।

गरिब परिवारमा २०५२ सालमा जन्मिएका महतोले अहिलेसम्म चारवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

बाल्यकालदेखि नै अभिनयमा रुची राख्ने महतोले जनकपुरको स्थानीय टिभीबाट प्रसारण हुने हास्य कार्यक्रम रोचक–घोचकबाट पहिचान बनाए हुन् । कृष्णाको लगाव कलाकारितामा रहिरहयो । कलाकारको संघर्षमय जिन्दगी एकदिन सफलताको चुचुरो पुग्नेमा उनी ढुक्क छन् ।

कक्षा ३ मै पढ्दै गरेका बेला उनका बुवाको निधन भएको थियो । आर्थिक अवस्था दयनिय रहेको उनको परिवारमा छाक टार्न समेत गाह्रो थियो । त्यसपछि उनी नदीमा ढुंगा संकलनको काम गर्न बाध्य थिए ।

त्यसबेला एक टिप ढुंगाबाट ३३ रुपैयाँ मिल्थ्यो । त्यतिले घरपरिवार चल्न नपुग्ने भएपछि उनी छिमेकीको घरमा काम गर्न थाले । पढाइलेखाइमा बाल्यकालदेखि नै अब्बल रहेकाले उनी अरुकै घरमा बसेर भए पनि विद्यालय जान भने कहिल्यै छाडेनन् । उनकी आमा पनि दिनभरि अरुको खेतमा काम गर्थिन् ।

कक्षा ४ मै पढिरहेका बेला नाचगान गर्ने र माइकमा बोल्न माहिर थिए, कृष्ण । स्कुलमा ‘फन डे’, सरस्वती पूजालगायत सांस्कृतिक कार्यक्रममा नाचगानमा समेत एकदमै रुचि राख्थे । गाउँमा पर्वको बेला मेला लाग्दा जहिले पनि मञ्चमा बोल्न र नाच्न तयार हुन्थे उनी ।

गाउँमा नाचगान गरेको नराम्रो मानिने हुँदा मेलामा नाच्दा जहिलेपनि घरमा गाली खानुपर्थ्यो । उनी लुकिलुकी छिमेकी गाउँका मेलामा जाने र मञ्चमा नाच्ने क्रम रहिरहयो । कहिलेकाहीं नाचगान गर्दा मञ्चमा पैसासमेत पाउन थालेपछि उनको रुचि कलाकारितातर्फ झनै बढ्यो ।

२०६९ सालमा चर्चित कलाकार रवीन्द्र झाले जनकपुरमा नाटकको वर्कसप आयोजना गरे । उनी त्यहाँ पुगेका थिए । त्यहाँबाट विभिन्न ठाउँ पुगेर सडक नाटकमा अभिनय गरे । ‘रेडियो कार्यक्रममा सुनेका नामका व्यक्तिसँग भेटघाट भयो,’ उनले भने, ‘उनीहरूको लोकप्रियता देखेर मन त्यही क्षेत्रतिर लोभियो ।’

प्रकाशित : मंसिर ३, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×