कमेडीमा जम्दै कृष्ण

कान्तिपुर संवाददाता

(धनुषा) — जनकपुरका हास्य कलाकार कृष्ण महतोको अभिनयले मधेस र पहाडको मन जित्दैछ । नेपाली चलचित्र दुई रुपैयाँ, फाटेको जुत्तामा अभिनय गरेका महतोका अरु दुई नेपाली चलचित्र रिलिज हुन बाँकी छन् । कलाकार महतोको मैथिली भाषाको रोचक–घोचक कार्यक्रम जनकपुरमा लोकप्रिय बनेको छ । 

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा उनी उत्कृष्ट भएका थिए । महतोले निर्देशन गरेको लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट भएसँगै उनी यो बिधामा जमेका हुन् । पहिलो निर्देशनमै उनी २७ वटा चलचित्रलाई पछि पार्दै उत्कृष्ट भएका हुन् ।

गरिब परिवारमा २०५२ सालमा जन्मिएका महतोले अहिलेसम्म चारवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

बाल्यकालदेखि नै अभिनयमा रुची राख्ने महतोले जनकपुरको स्थानीय टिभीबाट प्रसारण हुने हास्य कार्यक्रम रोचक–घोचकबाट पहिचान बनाए हुन् । कृष्णाको लगाव कलाकारितामा रहिरहयो । कलाकारको संघर्षमय जिन्दगी एकदिन सफलताको चुचुरो पुग्नेमा उनी ढुक्क छन् ।

कक्षा ३ मै पढ्दै गरेका बेला उनका बुवाको निधन भएको थियो । आर्थिक अवस्था दयनिय रहेको उनको परिवारमा छाक टार्न समेत गाह्रो थियो । त्यसपछि उनी नदीमा ढुंगा संकलनको काम गर्न बाध्य थिए ।

त्यसबेला एक टिप ढुंगाबाट ३३ रुपैयाँ मिल्थ्यो । त्यतिले घरपरिवार चल्न नपुग्ने भएपछि उनी छिमेकीको घरमा काम गर्न थाले । पढाइलेखाइमा बाल्यकालदेखि नै अब्बल रहेकाले उनी अरुकै घरमा बसेर भए पनि विद्यालय जान भने कहिल्यै छाडेनन् । उनकी आमा पनि दिनभरि अरुको खेतमा काम गर्थिन् ।

कक्षा ४ मै पढिरहेका बेला नाचगान गर्ने र माइकमा बोल्न माहिर थिए, कृष्ण । स्कुलमा ‘फन डे’, सरस्वती पूजालगायत सांस्कृतिक कार्यक्रममा नाचगानमा समेत एकदमै रुचि राख्थे । गाउँमा पर्वको बेला मेला लाग्दा जहिले पनि मञ्चमा बोल्न र नाच्न तयार हुन्थे उनी ।

गाउँमा नाचगान गरेको नराम्रो मानिने हुँदा मेलामा नाच्दा जहिलेपनि घरमा गाली खानुपर्थ्यो । उनी लुकिलुकी छिमेकी गाउँका मेलामा जाने र मञ्चमा नाच्ने क्रम रहिरहयो । कहिलेकाहीं नाचगान गर्दा मञ्चमा पैसासमेत पाउन थालेपछि उनको रुचि कलाकारितातर्फ झनै बढ्यो ।

२०६९ सालमा चर्चित कलाकार रवीन्द्र झाले जनकपुरमा नाटकको वर्कसप आयोजना गरे । उनी त्यहाँ पुगेका थिए । त्यहाँबाट विभिन्न ठाउँ पुगेर सडक नाटकमा अभिनय गरे । ‘रेडियो कार्यक्रममा सुनेका नामका व्यक्तिसँग भेटघाट भयो,’ उनले भने, ‘उनीहरूको लोकप्रियता देखेर मन त्यही क्षेत्रतिर लोभियो ।’

प्रकाशित : मंसिर ३, २०७६ ०९:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ओझेलमा पर्यटकीय क्षेत्र

स्थानीय तहले आफ्ना क्षेत्रका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चासो देखाएको छैन
ओमप्रकाश ठाकुर

(सर्लाही) — सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण नभएको हो । 

जिल्लामा विविध महत्त्व बोकेका आठ वटा पर्यटकीय स्थल छन् । तीमध्ये अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन । साबिकको जिल्ला विकास समिति (जिविस) सर्लाहीले जिल्लाको प्रमुख पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसारका लागि बर्सेनी बजेट विनियोजन गर्ने गरेको थियो । संघीयतासँगै बनेका स्थानीय तहले भने आना क्षेत्रका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चासो देखाएको छैन ।

स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा जिल्लाका पर्यटकीय स्थल ओझेलमा परेको स्थानीय बताउँछन् । ‘स्थानीय तह गठन पश्चात चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल र बरहथवा नगरपालिकाले मुर्तीयास्थित मुक्तेश्वर महादेव मन्दिरको संरक्षणमा जुटे, अन्य स्थानीय तहको भने ध्यान नै पुग्न सकेको छैन,’ नागरिक अगुवा रजनीकान्त झाले भने, ‘स्थानीय तहले चासो नदिंदा प्रचार प्रसार भएको छैन ।’

प्रदेश २ कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तर–पूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारीबथानमा रहेको थूम्को प्रचारप्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको हो । तत्कालिन जिल्ला विकास समितिले राजारानी थूम्कोलाई जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा समावेशगरी संरक्षण र प्रचार प्रसारमा जोड दिएको थियो । त्यतिबेला युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने गर्थे तर स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा राजारानी थुम्को ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् ।

चुरे डाँडामा रहेको थूम्कोसम्म पुग्ने भीर बाटो निकै जीर्ण भएका कारण पनि त्यहाँ आवतजावत हुन छाडेको हो । ‘अलि पहिला त युवायुवती समूहमै वनभोज खाने, रमाइलो गर्न आउने गरेका थिए तर हिजोआज कोही पनि आएको देखेका छैनौँ,’ थुम्कोकै तल रहेको गुइडुङ गाउँका स्थानीय वीरबहादुर बम्जनले भने, ‘थुम्को जाने बाटो राम्रो नभएर पनि कोही नआएका होलान् ।’ घारीबथानकै पछिल्लो पुस्तालाई राजारानी थुम्को जिल्लाको पर्यटकीय स्थल हो भन्ने थाहासमेत नरहेको बम्जनले बताए ।

थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् । थुम्कोमा अहिले पनि ढिकी, जाँतोलगायत घरायसी काममा प्रयोग हुने वस्तुका अवशेष भेटिने गरेको त्यहाँ पुगेका बताउँछन् । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले राजारानी थूम्कोको संरक्षणका विषयमा नगरपालिका गम्भीर रहेको बताए । ‘हामीले संरक्षणको पहल गरेकै छैन् भन्ने होईन्, त्यहाँ भ्यु टावर निर्माण गर्ने विषयमा सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहित म आफै पुगेको थिएँ,’ नगरप्रमुख देवकोटाले भने, ‘थुम्कोसम्म पुग्ने बाटो र भ्यु टावर निर्माणका लागि हामीले सबैतिर पहल गरिरहेका छौं ।’

अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका–४ फरहदवास्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ । राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार अभावमा दर्शनार्थी पनि पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको स्थानीय विष्णु राउतले बताए ।

राजारानी थुम्को र जंगमुक्तेश्वर महादेव मन्दिर मात्र हैन, लालबन्दीको पाँचकुमारी क्षेत्र, हरिपुरको चितायन परिसर, जमुनियाको मदनपुर मठ र कर्मैयाको हरिहर क्षेत्रको संरक्षण एवं व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले पनि संरक्षण र प्रचारमा जोड दिई ओझेलमा परेको पर्यटकिय स्थलको विकास गर्न जरुरी छ ।

सर्लाहीको चन्द्रनगरस्थित नाढिमन ताललाई नेपाली सेनाको टोलीले ०७२ सालमा पर्यटकीय स्थलको रुपमा विकास गरेपछि पर्यटक आउन थालेका हुन् । यसलाई चन्द्रनगर गाउँपालिकाले पनि पर्यटकीय क्षेत्र विकास, विस्तार र प्रचार प्रसारमा सहयोग गरेको छ । ५२ विगाहामा फैलिएको ताल संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको थियो । यता बरहथवा नगरपालिका–९ मुर्तीयास्थित मुक्तेश्वर महादेव मन्दिरको प्रचार प्रसार र संरक्षणमा स्थानीय तह जुटेका छन् । स्थानीय तहले वर्षेनी प्रचार प्रसारका लागि मेला महोत्सव गर्दै आएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×