वनरक्षक–तस्कर गोली हानाहान

कान्तिपुर संवाददाता

पर्सा — जिल्लाको कोइलाभारस्थित वन क्षेत्रमा आइतबार राति काठ तस्कर र सशस्त्र वनरक्षकको गस्ती टोलीबीच गोली हानाहान भएको छ । सबडिभिजन वन कार्यालय बडनिहारबाट खटिएको टोली र तस्करको समूहबीच कोइलाभार मन्दिरको उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको हो ।

तस्कर समूहलाई घेराबन्दी गर्न खोज्दा उनीहरूले पहिले फायर गरेको सुवेदार प्रदीपप्रसाद तिमल्सेनाले जानकारी दिए । ‘घेराबन्दीमा परेपछि उनीहरूले हामीलाई तर्साउन फायर खोले,’ उनले भने, ‘त्यसपछि हामीले ३ राउन्ड फायर गर्‍यौं । भिरालो जमिन भएकाले उनीहरूलाई पक्रन अप्ठ्यारो भयो ।’

उनका अनुसार तस्करको समूहमा १५–१६ जना थिए । उनीहरू साइकलमा काठका गोलिया बोकेर लैजाने प्रयासमा थिए । टोलीले उनीहरूबाट ४ वटा साइकल, २ थान आरा र ४ थान गोला बरामद गरेको छ । दुवैतर्फ कोही हताहत भएका छैनन् । कोइलाभार अत्यधिक काठ तस्करी हुने वन क्षेत्रका रूपमा चर्चित छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

तरुण दल नेतृत्वविहीन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको भ्रातृ संस्था तरुण दल नेतृत्वविहीन बनेको छ । ०७३ मंसिर २ मा भागबन्डाका आधारमा घोषणा गरिएको कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन ।

तीन वर्षअघि पोखरामा आयोजित महाधिवेशनमा निर्वाचन रोक्न लगाएर पार्टी नेतृत्वले भागबन्डाका आधारमा चार सदस्यीय कार्यसमिति घोषणा गरेको थियो । जितजंग बस्नेतको नेतृत्वमा बनाइएको समितिमा उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ थिए । बस्नेत र गुरुङ पार्टी सभापति शेरबहादुर देउवानिकट, शाही वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र चापागार्इं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । पार्टी नेताहरूबीचको झगडाका कारण कार्यसमिति विस्तार हुन सकेको थिएन । विधानअनुसार दलको कार्यसमिति ९९ सदस्यीय बन्नुपर्थ्यो । ‘हामीले तरुण दल विस्तार गरिदिनका लागि धेरैपटक नेताहरूलाई गुहार्‍यौं तर कहिल्यै सहमति जुटेन, न त हामीलाई गठन गर्न अधिकार दिइयो,’ दलका एक पदाधिकारीले भने, ‘कार्यसमिति विस्तार नहुँदा महाधिवेशनसमेत गर्न सकिएन ।’

पछिल्लोपटक अध्यक्ष बस्नेत र महासचिव शाहीबीच द्वन्द्वसमेत चर्किएको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै बस्नेतले शाहीलाई र शाहीले बस्नेतलाई निष्कासन गरेको घोषणा गरेका थिए । अध्यक्ष बस्नेतले ६ महिनाको म्याद बढाउन सकिने भन्दै ५ महिनाभित्र दलको महाधिवेशन गर्ने बताए ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×