मुख्यमन्त्री राउत अमेरिकामा

अजित तिवारी

(जनकपुर) — अमेरिका उड्नु तीन दिनअघि लिटरेचर फेस्टिभलको एउटा सेसनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कूटनीतिक राहदानी बनाउँदा परराष्ट्र मन्त्रालयले झमेला दिएको बताए । राहदानीमा ढिलाइ गरेर सरकारले फेरि अमेरिका जानबाट रोक्न खोजेको उनको बुझाइ थियो । ‘अहिले पनि खोज्यो भने २–३ जना मुख्यमन्त्री विदेशमै होलान् । म जाँदा आकाश खसेजस्तो किन गर्छन् ?’ उनले भने । 

मुख्यमन्त्री राउत अमेरिकामा

गत वर्ष मंसिरमै मधेसी एसोसिएसन अफ अमेरिकाले मुख्यमन्त्री राउतलाई अमेरिकामा निमन्त्रणा गरेको थियो । तर संघीय सरकारले भ्रमण रद्द गरिदिएपछि राउतले भिडियो कन्फरेन्समार्फत एसोसिएसनको भेलालाई सम्बोधन गरेका थिए । उक्त संस्था त्यति बेला छुट्टै मधेसको मुद्दा बोकेका सीके राउतसँग जोडिएको शंका गर्दै संघीय सरकारले रोकेको थियो । सीके अहिले पुराना मुद्दा छोडेर मूलधारको राजनीतिमा आइसकेका छन् ।


गत सोमबार राति सरकारी निवास मधेस भवनमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई डिनर दिएका मुख्यमन्त्री राउतले अमेरिका उड्न मंगलबार नै जनकपुर छोडे । उनीसँगै प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि अमेरिका पुगेका छन् । राउत अमेरिकन मोक तराई एसोसिएसन (आनटा) को निमन्त्रणामा सातदिने अमेरिका भ्रमणमा छन् । ‘एउटै संस्थाले मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्तालाई निमन्त्रणा गरेकाले दुवै जना अमेरिका पुग्नुभएको छ,’ मुख्यमन्त्री राउतको प्रेस हेर्ने आतिस मिश्रले कान्तिपुरसँग भने, ‘दुवै जना मंसिर ४ गते नेपाल फर्किनुहुन्छ ।’


मुख्यमन्त्री बनेपछि राउतको यो पहिलो विदेश भ्रमण हो । उनले गत शनिबार सिकागोमा प्रमुख अतिथिको हैसियतमा आनटाको पाँचौं साधारणसभालाई सम्बोधन गरे । मुख्य न्यायाधिवक्ता झाले मुख्यमन्त्री राउतलाई प्रमुख अतिथि बनाएकोमा आयोजकलाई धन्यवाद दिँदै ट्वीटरमा कार्यक्रमका केही तस्बिर पोस्ट गरेका छन् । साधारणसभामा मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी पनि सहभागी थिए । यस्तै, मुख्यमन्त्री राउतले सिकागोकै लेविस विश्वविद्यालयमा ‘नेपालका सीमावर्ती मधेसी, आदिवासी–जनजाति, लिंग, जाति र संघीयता’ का विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।


के हो आनटा ?

यो अमेरिकामा बस्ने नेपालका मधेसी–तराईवासीको संस्था हो । टेक्सासमा सन् २००५ मार्च ३१ मा गैरराजनीति र गैरनाफामूलक रूपमा दर्ता गरिएको यो संस्थाले अमेरिकामा खासगरी नेपालको तराई क्षेत्रको परिचय दिने, लोकसंस्कृति, सभ्यता चिनाउने उद्देश्य राखेको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?