उपनिर्वाचन २०७६: बढ्यो चुनावी चहलपहल

सर्लाही — हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्ष चयनका लागि मंसिर १४ गते हुने उपनिर्वाचनको चुनावी चहलपहल बढेको छ । वडाध्यक्ष पदका लागि विभिन्न पार्टीका उम्मेदवारले मनोयन दर्ता गराएसँगै नेता र कार्यकर्ताहरू जनमत आकर्षित गर्न चोक चोकमा सभा गरिरहेका छन् । उनीहरू घरदैलोको पनि तयारी गरिरहेका छन् ।

विभिन्न पार्टीका उम्मेदवारले मनोयन दर्तापछि चुनावी अभियानमा सक्रिय देखिएका छन् । चियापसल, चोक र चौतारीमा उम्मेदवारका बारेमा टिप्पणी सुनिन थालेको छ । तिनले उठार्‍याइरहेका मुद्दाबारे बहस समेत चलेको छ । राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका वडाध्यक्षका उम्मेदवारहरू पनि आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । पार्टीको उम्मेदवारलाई मत माग्न सांसददेखि जिल्ला स्तरका नेता समेत हरिपूर्वा पुगिरहेका छन् ।


सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह हरिपूर्वा पुगेर काँग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका रामपृत पासवानको पक्षमा मत माग्दै वडामा गरिएको सभामा सहभागी भए । काँग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतका जिल्ला स्तरका नेता पनि आना उम्मेदवारलाई मत माग्दै हिँडिरहेका छन् ।


नेकपाका केन्द्रीय सदस्य अच्यूतम काफ्ले, जिल्ला अध्यक्ष रेवती पन्तलगायतले पनि हरिपूर्वा पुगेर आना उम्मेदवारको पक्षमा मत माग्नमा व्यस्त छन् । नेकपाले तत्कालीन वडाध्यक्ष इसाक अन्सारीको छोरा मोहम्मद अन्सारीलाई उपनिर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको गत वर्ष निधन भएपछि हरिपूर्वा १ मा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ ।


राष्ट्रिय जनता पार्टी नेपालले रामविश्वास राय, समाजवादी पार्टीले श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीले दिनेश राय यादवलाई उम्मेदवार बनाएको छ । उनीहरूको पक्षमा मत माग्न पनि पार्टीका शीर्ष नेताहरू वडामा पुगेर चोक चोकमा सभा गरिरहेका छन् । यस्तै स्वतन्त्रबाट मनोजकुमार राय र मनोजकुमार यादवले उम्मेदवारी दिएका छन् । उनीहरू पनि आफ्नो पक्षमा मत माग्नमा व्यस्त छन् ।

प्रकाशित : मंसिर १, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?