कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

साग बिक्रीबाट घरखर्च

ओमप्रकाश ठाकुर

(सर्लाही) — लालबन्दी नगरपालिका–७ की दिलमाया मगर घरको काम सकेर केहीबेर नजिक रहेको १० धुर बारीमा मिहिनेत गर्छिन् । भोलिपल्ट बिहान हरियो सागपात टिपेर बजार जाने उनको दैनिकी छ । यसैबाट उनले प्रत्येक दिन ५ सय रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । 

साग बिक्रीबाट घरखर्च

मगरले बारीमा लगाएको रायोको साग बेचेर दैनिक पाँच सयभन्दा बढी आम्दानी गर्दै आएको बताइन् । उनले बारीको साग बिक्री गरेर घर खर्च चलाउन सहज बनेको सुनाइन् । ‘घरको कामकाज सकाएर १० धुर करेसा बारीमा मिहिनेत गर्छु । बारीमा रायोको साग लगाएकी छु,’ मगरले भनिन्, ‘त्यही सागबाट घर खर्च राम्रोसँग चलिरहेको छ ।’ मगर प्रत्येक दिन बिहान उठ्ने बित्तिकै बारीमा गएर हरियो साग टिप्ने गर्छिन् । टिपेको हरियो साग बजार लिएर जाने उनको दैनिकी छ । बजारमा हरियो साग लिएर पुग्ने बितिकै किन्नेको हानाथाप हुने गरेको उनले बताइन् । मगरले घरको बारीमा थोरै मिहिनेतले घर खर्च चलाउन सकिने जानकारी दिइन् ।


मगर जस्तै लालबन्दी बजारमा बिहान र साँझको समयमा एक दर्जनको हाराहारीमा महिला किसान हरियो साग बेच्न आउने गरेका छन् । अन्य तरकारीको तुलनामा हरियो साग तुरुन्त बिक्री हुने गरेको उनीहरू बताउँछन् । लालबन्दी नगरपालिका–७, कै सीता श्रेष्ठले मौसम अनुसारको हरियो सागपात फलाएर परिवारको गुजारा चलाउँदै आएकी छन् । हरियो सागबाट बालबालिकाको स्कुल फि तिर्न, अन्य घर खर्च चलाउन सजिलो हुने गरेको उनको अनुभव छ । उनले हरियो सागबाट आएको आम्दानीबाट केही रकम बचत पनि गरेको बताइन् । ‘एक कठ्ठा जग्गामा सिजन अनुसार लट्टे, पालुङ, चमसुर, रायोलगायतका साग लगाउँदै आएकी छु, अहिले बारीमा रायोको साग मात्र छ,’ श्रेष्ठले भनिन्, ‘दैनिक ३० भन्दा बढी मुठा साग बिक्री गर्छु, आम्दानी पनि राम्रै छ ।’ उनले पनि साग बेचेरै दैनिक सातसय रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको सुनाइन् ।


जिल्लाको हरिवन, वाग्मती, बरहथवा, मलंगवा, बयलवास लगायतका बजारमा हरियो सागपातको माग बढेको छ । माग बढेको बेला बिहान सबेरै र साँझपख हरियो सागपातको व्यापार धेरै हुने गरेको किसानहरूले बताएका छन् । अहिले हरियो सागपात बेचेर किसानले मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा रायोको साग प्रतिमुठा २० देखि २५ रुपैयाँसम्ममा खुद्रामा बिक्री भइरहेको किसानको भनाइ छ । लालबन्दी बजार र छेउछाउका गाउँका किसानले बिक्री गर्न ल्याउने हरियो सागपात सजिलै बिक्री हुने गरेको तरकारी बजार सञ्चालक समितिले जनाएको छ ।


यता सडकको धूलोले सर्लाहीका तरकारी किसानलाई तरकारी उब्जाउनै सकस छ । सडक छेउछाउ खेत भएका किसानले सडकबाट उडेर तरकारीमा छपक्कै ढाक्ने धूलो पखाल्न दैनिक पानी छिट्ने गरेका छन् । धूलोका कारण मिहिनेतअनुसार तरकारी फलाउन नपाएको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका किसान रामपुकार महतोले गुनासो गरे । बाँके–सङ्ग्रामपुर सडककै छेउमा खेत रहेको महतोले धूलो पखाल्न दैनिक मोटरबाट पानी छिट्ने गरेका छन् । जीर्ण सडक दायाँबायाँ खेत भएका जिल्लाका अन्य किसानले पनि महतोको जस्तै समस्या झेल्दै आएका छन् । पूर्व–पश्चिम हुलाकी सडक, बाँके–सङ्ग्रामपुर, सलेमपुर–हीरापुरलगायतका सडक छेउछाउ खेत भएका किसानले धूलोकै कारण अहिले कुनै पनि बाली राम्रोसँग उब्जाउन पाएका छैनन् । धुलोका कारण बाली सप्रिन समस्या भइरहेको किसानको गुनासो छ ।


कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादवले किसानहरू धूलोबाट आजित बनेको गुनासो आफूहरू समक्ष पनि आउने गरेको बताए । उनले धूलोले बाली राम्रोसँग सप्रिन नपाउँदा कृषि उत्पादनमै प्रभाव परिरहेको बताए । जिल्लामा अहिले अधिकांश सडक धूलाम्मे छन् । पर–परसम्म धूलो उड्दा तरकारी, तोरीलगायतका हिउँदे बालीमा प्रभाव पारेको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए । ‘बोटबिरुवाले पातबाट सूर्यको प्रकाशमा खाना पकाउने हो, धूलोले पात छोपिँदा बिरुवा विस्तारै मर्दै जान्छ,’ उनले भने, ‘धूलोले बिरुवाको फूल र फलमा पनि असर पुर्‍याउने गरेको छ ।’


प्रकाशित : कार्तिक ३०, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?