मुख्यमन्त्रीको गाउँमा बर्थिङ सेन्टर

कान्तिपुर संवाददाता

पर्सा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुर्ख्यौली गाउँ जगरनाथपुर गाउँपालिकामा सामुदायिक विकास कार्यक्रमले बर्थिङ सेन्टर निर्माण गरी दिएको छ । नेपाल तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको पहलमा ३४ लाख ११ हजार १ सय ८३ रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माण गरिएको हो । 

मुख्यमन्त्रीको गाउँमा बर्थिङ सेन्टर

त्यस भेगमै बर्थिङ सेन्टर अभाव हुँदा गर्भवती महिलालाई सुत्केरी गराउन करिब २५ किमि टाढा रहेको सदरमुकाम वीरगन्ज पुर्‍याउनु पर्ने बाध्यता छ । बर्थिङ सेन्टर भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यदेवप्रसाद यादवले तीन कोठे भवन निर्माण भइसकेको र अब त्यसमा शय्या तथा अन्य उपकरणको व्यवस्था गर्ने काम भइरहेको बताए ।


सेन्टरबाट गाउँपालिकाका ७ सय ४८ घरधुरी प्रत्यक्ष लाभान्वित हुनुका साथै छिमेकी जिराभवानी गाउँपालिकाका बासिन्दा पनि लाभान्वित हुने उनले बताए । बर्थिङ सेन्टर अभावमा यस भेगका सुत्केरी महिलालाई निक्कै समस्या हुँदै आएकोमा अब राहत मिल्ने उनले दाबी गरे । ‘६ महिनाभित्र यहाँका २ गर्भवती महिलाले समयमा सेवा नपाउँदा प्रसव पीडाका कारण ज्यान गुमाएका छन्,’ उनले भने, ‘अब त्यस्तो पीडाको अन्त्य हुने भयो, अब कम्तीमा २५ गाउँका बासिन्दा बर्थिङ सेन्टरबाट लाभान्वित हुनेछन् ।’ यहाँबाट नजिकको अस्पताल पोखरिया अस्पताल पनि सेवा सुविधाविहीन रहेकाले हाल आफूहरूले सामान्य रोग लाग्दा पनि स्वास्थ्य उपचारका लागि सदरमुकाम वीरगन्ज नै पुग्नुको विकल्प नरहेको उनले बताए ।


सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिने यो गाउँपालिका विकास निर्माणको सवालदेखि शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार जस्ता मामिलामा पनि पिछडिएको छ । सामुदायिक विकास कार्यक्रमका प्रमुख दीपक बोहरा संस्थाको कार्यक्षेत्र अन्तर्गत बर्थिङ सेन्टर यहाँको आवश्यता बुझेरै निर्माण गरिएको बताउँछन् । ‘हामीले यहाँ काम गर्ने क्रममा बर्थिङ सेन्टरको ठूलो अभाव महसुस गर्‍यौं, एउटा बर्थिङ सेन्टर भइदिए यो गाउँपालिका मात्र नभई छिमेकी गाउँपालिकाका बासिन्दा पनि लाभान्वित हुने देख्यौं,’ उनले भने, ‘त्यस कारण स्थानीयको सहजका लागि यो पहल गरेका हौं ।’


प्रकाशित : कार्तिक ३०, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?