कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पोलै नसारी कालोपत्रे

विद्युत् प्राधिकरणले सहजीकारण नगरेका कारण बीचबाटोमा परेका पोल हटाउन सकिएन
ओमप्रकाश ठाकुर

(सर्लाही) — पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने हरिवन–कौडेना सडकको अधिकांस बस्तीमा रहेको बिजुलीको पोल नै नसारी कालोपत्रेको काम भइरहेको छ । बिजुलीको पोल नसारिँदा कतिपय स्थानका सडकको बीच भागमै पोल ठडिएको छ । यसले दुर्घटनाको जोखिम बढाएको छ ।

पोलै नसारी कालोपत्रे

सवारीसाधन, बटुवादेखि विद्यालयका बालबालिकाका लागि जोखिम भए पनि बिजुलीको पोल सार्न सम्बन्धित निकायले तदारुकता देखाउन सकेको छैन । यो सडक कालोपत्रेको ठेक्का पप्पु कन्सट्रक्सनले लिएको छ । पप्पुले सडकको बीचमा रहेको पोललाई त्यतिकै छाडेर कालोपत्रेको काम गरिरहेको छ । वर्षौंअघि यस क्षेत्रमा विद्युतीकरण गरिएको थियो । त्यसबेला सडक छेउमा गाडिएको पोल सडक विस्तार भएसँगै बीच बाटोमा परेको छ । सडक विस्तार र कालोपत्रेको काम गरिए पनि पोल सार्न प्रयास नै नभएको स्थानीय बताउँछन् ।


सडकको बीचमा पोल राखेर ठेकेदारले कालोपत्रेको काम गर्न खोजेपछि स्थानीयले विरोध गरेका थिए । तर, ठेकेदारले कालोपत्रे नगर्ने जनाएपछि धुलोको मारले आफूहरू पछाडि हट्नु परेको कविलासी नगरपालिका–१ का स्थनीय जोगेन्द्र ठाकुरले बताए । उनले सडकको बीचमा पोल रहेकै कारण यस क्षेत्रमा दैनिक दुर्घटना भइरहेको जानकारी दिए । ‘पहिला सडकको चौडाइ १८ देखि २० फिटसम्मको थियो, त्यतिबेला सडकको छेउमा पोल गाडिएको थियो, तर अब सडक बिस्तार भएर ३० फिट पुगेपछि बीच सडकमा पुगेको पोल हटाउने प्रयास भएको छैन,’ ठाकुरले भने, ‘सडकको बीचमा पोल भएका कारण दैनिकजसो दुर्घटना भइरहेका छन् ।’


विद्युत् प्राधिकरणको असहयोगका कारणबीच सडकमा रहेका पोल हटाउन नसकेको सडकको नियमन गर्ने पूर्वाधार विकास सम्पर्क एकाई कार्यालयले जनाएको छ ।


कार्यालयका साइट इन्जिनियर अरुणकुमार महतोले विद्युत् प्राधिकरणले सहजीकारण नगरेका कारण बीचबाटोमा परेका पोल हटाउन नसकेको गुनासो गरे । महतोले विद्युत्को पोल सार्न आएको बजेट थन्केर बसेको जानकारी दिए । ‘दर्जनौं पटक पोल सार्न प्राधिकरणलाई आग्रह गर्‍यौं, तर उहाँहरूले मान्नु भएन, पैसा हाम्रै खातामा हाल्नुस् भन्नुहुन्छ तर, विश्व बैंकको पैसा विद्युत्को खातामा हाल्न मिल्दैन,’ उनले भने, ‘प्राधिकरणले सहजीकरण गरिदिए ठेकेदारलाई हामी नै भुक्तानी दिन्छौं, तर उहाँहरूले सहयोग गरिदिनु भएको छैन जसका कारण पोल नहटाई कालोपत्रे गर्नुपरेको छ ।’


यता विद्युत् प्राधिकरणले पोल सार्नका लागि निवेदन दिएर इस्टिमेट भएपछि रकम जम्मा गर्नुपर्ने प्रवधान रहेको जानकारी दिए । ‘पोल त्यतिकै कसैले सार्न मिल्दैन, यो एकदम प्राविधिक कुरा हो, पहिला निवेदन दिनुपर्छ, त्यसपछि इस्टिमेट भएर पैसा जम्मा गर्नुपर्छ,’ नेपाल विद्युत् प्राधिकरण लालबन्दी शाखाका प्रमुख सुधीर यादवले भने, ‘प्रकृया नपुर्‍याई काम गर्न सकिन्न ।’


पप्पुले कालोपत्रे गरिरहेको सडकको गुणस्तर पनि एकदम कमजोर छ । ठेकेदारले गरेको कामको नियमन प्रभावकारी नहुँदा कालोपत्रे झारा टार्ने मात्र भएको छ । जम्मा नालासहित २९ फिट चौडाइ रहेको सडकमा १८ फिट पनि कालोपत्रेको काम गरिएको छैन । कतिपय स्थानमा नालाभन्दा तीन फिट परै कालोपत्रे भएको छ । भने कतिपय ठाउँमा भत्केको नाला निर्माणमा पनि ठेकेदार र नियमनकारीको ध्यान नपुगेको हरिपुर नगरपालिका–९ पीडारीका सुबोध रायले बताए । रायले ठेकेदारले मनमौजी गरेको र यसलाई नियमन गर्ने कार्यालयले सघाइरहेको आरोप लगाए ।


पिडारी बजारमा सडक छोडेर ऐलानी जग्गामा कालोपत्रेको काम सुरु गर्न थालेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरूले सडकका लागि पर्याप्त ठाउँ हुँदाहुँदै ऐलानी जग्गामा कालोपत्रे गर्न खोजेको गुनासो पोखे ।


यो सडकमा एकतिर कालोपत्रेको काम गर्दैगर्दा अर्कोतिर उप्किन थालेकाले गुणस्तरमा पनि प्रश्न चिह्न खडा भएको छ । ३० किमिको सडकमा कालोपत्रेको काम पूरा हुन नपाउँदै भएको कालोपत्रे भत्किन सुरु भएको छ ।


हरिवन–कौडेना सडक कालोपत्रे गर्न पप्पुले २०७५ जेठ ६ मा काम सक्ने गरी ०७३ वैशाख २२ मा निर्माण सुरु गरेको थियो । त्यसयता म्याद थप्दै काम सुस्त गतिमा गर्दै आएको छ । यो सडकमा ८० प्रतिशत काम पूरा भएको ठेकेदारले जनाएको छ । काम सम्पन्न नहुँदै भएको कालोपत्रे पनि भत्किन सुरु भइसकेको छ । कालोपत्रे गरेर हस्तान्तरण समेत नभएको सडक भत्किँदा गुणस्तरमा ठूलो प्रश्न चिह्न खडा भएको छ ।


पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने यो सडक सबभन्दा छोटो छ । कालोपत्रे हुनथालेपछि खुसी भएका स्थानीय कालोपत्रे नसकिँदै भत्किन थाल्दा निराश छन् । ‘यो सडक कालोपत्रे हुनथालेपछि हामी निकै खुसी भएका थियौं, छोटो समयमा उत्तरी राजमार्ग र दक्षिणी हुलाकी सडकमा पुग्न सजिलो बनेको सडकको गुणस्तर एकदम कमजोर छ,’ स्थानीय रामेश्वर साहले भने, ‘गुणस्तर नै नरहेको सडकमा लगानीकर्ताले किन लगानी गरेका छन् बुझ्नै गाह्रो भयो, यो सडकमा भएको कालोपत्रे तीन महिना पनि टिक्दैन ।’ यद्दपि पूर्वाधार विकास कार्यालयले ओटासिल प्रविधिमा सडकमा कालोपत्रेको काम भइरहेको जनाएको छ । हरिवन–कौडेना सडक विश्व बैंकको सहयोगमा बनिरहेको छ ।


सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाखमा ठेक्का सकारेको थियो । पप्पुले ठेक्का लिएको काम समयमा सम्पन्न गर्न त परै जाओस् गुणस्तर पनि निकै कमजोर छ । समयमा काम सम्पन्न हुन नसक्दा सर्वसाधारण हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् । भने कालोपत्रे भत्केको ठाउँमा सवारी दुर्घटनाको सम्भावना उच्च छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?