कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भवन आकर्षक, उपचारमा समस्या

कान्तिपुर संवाददाता

(पर्सा) — अस्पतालको मुख्य भवन भव्य र आकर्षक छ । छेउमा पुराना र नयाँ गरी थप ३ वटा भवन छन् । तर, पनि अस्पतालको बेहाल छ । 

भव्य र सुविधा सम्पन्न भवनको स्याहार–सम्भार त परै जाओस् उचित सरसफाई समेत हुन सकेको छैन । अस्पतालका उपकरणदेखि वार्ड तथा बेडहरू सबै अस्तव्यस्त छन् । दैनिक करिब २ सय बिरामी आउने अस्पताल आफैं बिरामी झैं देखिन्छ । कहिल्यै विशेषज्ञ चिकित्सक नपाउने यो अस्पताल सबै एमबीबीएस चिकित्सकको भरमा चलेको छ ।


तिनै चिकित्सक पनि समयमा नआउने र आफूहरूले सामान्य रोगको उपचार पाउन पनि ठूलै सास्ती बेहोर्नु पर्ने गुनासो बिरामी र तिनका आफन्तले गर्छन् । पकाहामैनपुर गाउँपालिका २ की ७० वर्षीया मैनादेवीले उपचार पाउन मुस्किल रहेको बताइन् ।


कम्मर मर्किएको पीडा बोकेर आफू अस्पताल आएको तर चिकित्सक फेला नपारेको उनले गुनासो गरिन् । ‘घर नजिकको अस्पताल भनेर म यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘१० बजिसक्दा पनि चिकित्सक आएका छैनन् भनेर मलाई पुर्जी काटेर दिइएन ।’


दमले गर्दा श्वास प्रश्वासमा समस्या भएकी पत्नी पानमतिलाई उपचार गराउन आएका पोखरिया ४ का रामचन्द्र महतोले पनि आफूले पनि चिकित्सक नभेटेको गुनासो गरे । ‘घर नजिककै अस्पताल हो, जाउ न त भनेर सिकिस्त भएकी पत्नीलाई लिएर म आएको हुँ, यहाँ आउँदा त डाक्टर साब नै आउनु भएको छैन भन्छन्,’ उनले भने, ‘अस्पतालमा डाक्टर नबस्ने भए हामी कहिलेसम्म उपचार गराउन सदरमुकाम वीरगन्ज धाई राख्ने, यहाँ नेता र जनप्रतिनिधिहरू पोखरियालाई जिल्लाको दोस्रो सदरमुकाम भनेर गर्व साथ दाबी गर्छन्, के यस्तै पारा हुन्छ दोस्रो सदरमुकामको अस्पतालको, भएको एउटा अस्पताल वर्षौंदेखि लथालिङ्ग छ । अस्पताल सुधार्ने काम र नैतिक जिम्मेवारी यहाँका नेता र जनप्रतिनिधिको होइन ।’


अस्पतालमा हाल अनिल यादव, दीपेन्द्रकुमार मण्डल, विनय यादव र आलोककुमार यादव गरी ४ एमबीबीएस चिकित्सकको दरबन्दी छ । निमित्त मेसु अनिल यादव एमडीको परीक्षामा सहभागी हुन बिदामा राजधानी गएका छन् । अस्पताल अहिले ३ वटा चिकित्सकले धानेका छन् ।


अस्पतालका प्रशासन प्रमुख सन्जु दास अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताउँछन् । दैनिक करिब २ सय बिरामी आउने अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा धेरै बिरामीलाईं अन्यत्र रिफर गर्नुपरेको उनले बताए । यस बाहेक अन्य विभागमा पनि जनशक्तिको अभाव रहेको उनले बताए । अप्रेशन थिएटरमा जनशक्ति अभाव रहेकाले अस्पतालमा यो सेवा नै सञ्चालन हुन नसकेको उनले बताए ।


अस्पतालमा विकास समिति र सरकारी तर्फका गरी २ खालका कर्मचारी कार्यरत छन् । विकास समिति तर्फका ४ फार्मेसी कर्मचारी, २ खरिदार, ३ अहेव, २ पाले, ७ स्विपर, १ ल्याब टेक्निसियन, २ चालक, २ कार्यालय सहयोगी, १ धोबी, १ माली समेत गरी २६ कर्मचारी छन् ।


सरकारी तर्फ २५ दरबन्दी छ । तर, १० वटा दरबन्दी खाली छ । नवौं र दसौं तहको चिकित्सकको एक/एक दरबन्दी छ तर आजसम्म अस्पतालमा यी तहका चिकित्सक आएका छैनन् आठौं तहका २ वटा चिकित्सकको दरबन्दी खाली छ । स्टाफ नर्स र अनमीको पनि १/१ दरबन्दी खाली छ । अहेव र डार्क रूप असिस्टेन्टको पनि १/१ दरबन्दी खाली छ । केही अन्य दरबन्दी पनि खाली छन् ।


सरकारी तर्फका दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या भइरहेको दास बताउँछन् । ‘हामीले पटक–पटक केन्द्रसँग नपुग जनशक्ति मागी रहेकै छौं,’ उनले भने, ‘तर आश्वासन मात्र पाएका छौं ।’

प्रकाशित : कार्तिक २९, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?