कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छोरी बिमामा कर्मचारी अभाव

सन्तोष सिंह

(धनुषा) — प्रदेश २ सरकारले लागु गरेको छोरीबिमा कार्यक्रम कर्मचारी अभावमा प्रभावित बनेको छ । मुख्यमन्त्री कार्यालयमा छोरी बिमाका लागि शिशु लिएर दिनहुँ पुग्ने अभिभावकले कर्मचारी अभावमा सेवा पाउन सकेका छैनन् । 

छोरी बिमामा कर्मचारी अभाव

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ,’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा मुद्दती बचत खाता खाल्न अभिभावकहरू शिशु बोकेर एक सातासम्म राजधानी जनकपुर धाइरहेका छन् ।


स्थानीय तहले बिमाका लागि मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयले बिमा गर्न स्थानीय तहमै सेवाग्राहीलाई फर्काउँदा अन्योल बढेको छ । चालु वर्षको ४ महिना बितिसक्दा बिमाका लागि कर्मचारी भर्ना गरिएको छैन । छोरी बिमाका लागि महोत्तरी गौशाला नगरपालिका कार्यालयले मुख्यमन्त्री कार्यालय पठाएकी गौशाला–१० निगौलकी रामजोती साह ३ पटक नातिनी र बुहारी लिएर मुख्यमन्त्री कार्यालयबाट फिर्ता भइन् । नातिनीको बिमा हुन सकेन ।

मुख्यमन्त्री कार्यालयमा यसअघि आउँदा बुधबार उनलाई बोलाइएको थियो । तर, मुख्यमन्त्री कार्यालयले सूचना निकालेर कर्मचारी भर्ना नभएसम्म बिमा गर्न नसक्ने भन्दै बिमा गर्न आएका अभिभावकलाई फर्काइदिए । महोत्तरी, सम्सी–२ पर्साका इसराइल शेष डेढ महिने नातिनी, बुहारी र छिमेकी छोरी, बुहारीलाई लिएर बिमाका लागि मुख्यमन्त्री कार्यालय आउँदा वास्ता नभएको बताए ।


मुख्यमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयले प्रदेशको १ सय ३६ स्थानीय तहका लागि कर्मचारी भर्नाका लागि विज्ञापन भएको र कर्मचारी भर्ना भएपछि स्थानीय तहमा नै छोरी शिक्षाबिमा मुद्दती बचत खातासम्बन्धी काम हुने सूचना निकालेर पुस मसान्तसम्म बिमाको काम रोकिएको जनाएको छ ।


मुख्यमन्त्री कार्यालय ०७५ माघ १ गतेदेखि प्रदेश २ मा जन्मेका छोरीको बिमा अभियान थालेको हो । अभियानमा भएको प्राविधिक त्रुटिकै कारण जन्मेको १ सय ८० दिनभित्र छोरीको बिमा गराउनु पर्ने प्रावधान संशोधन गरी जुनसुकै बेला पनि बिमा गराउन सक्ने व्यवस्था गरिएको छ ।


०७५ माघ १ गते देखि ०७६ असारसम्म ४ हजार ३ सय ७२ जना बालिकाको शिक्षाबिमा मुद्दती बचत खाता खोलेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकी संयोजक प्रियंका यादवले बताइन् । चालु वर्षको ४ महिनामा ५ हजारभन्दा बढी बिमाको फारम तयार गरेको यादवले बताइन् । ‘जनशक्ति अभावमा काम गर्न समस्य भएपछि कर्मचारी भर्ना प्रक्रिया थालिएको छ,’ संयोजक यादवले भने, ‘मुख्यमन्त्री कार्यालयमा शिशु लिएर आमा, बुवा र साक्षी आउँदा झन्झट हुन्छ । सेवाग्राहीको सहजतका लागि स्थानीय तहमा नै कर्मचारी भर्ना हुनेछ ।’


अमेरिकाले सहयोग गर्ने

अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सहयोग गर्ने उत्सुकता देखाएका छन् । अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गर्दै सहयोग गर्ने बताएको उनले जानकारी दिए ।


प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएका अमेरिकी राजदूत बेरीले बुधबार प्रदेश सरकारका प्रतिनिधि, बेटी पढाऊ, बेटी बचाऊ तथा लक्षित वर्गलाई भेटेपछि कार्यक्रममा सहयोग गर्ने बताएका हुन् । तीन दिनदेखि जनकपुरमा रहेका राजदूत बेरी सहितको टोलीले बेटी पढाऊ, बेटी बचाऊको टोलीसँग छलफलसमेत गरेको छ । राजदूत बेरीले सहयोग गर्ने उत्सुकता देखाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमकी संयोजक यादवले बताइन् ।


प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एकसय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, ९ हजार नवजात छोरीहरूको बिमा र महिलाहरूका लागि लोकसेवा तयारी कक्षा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?