कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सामाचकेवाको अर्को रंग

भरत जर्घामगर

(सिरहा) — तराई–मधेसमा हरेक वर्ष मनाइने लोकपर्व ‘सामा–चकेवा’ नौ दिनसम्म मनाएर चेलिबेटीहरूले बुधबार एकथलोमा भेला भई सम्पन्न गरेका छन् । महोत्सवकैं रूपमा विशेष गरी थारू महिलाहरूले लहानको पशुपति माविको प्राङगणमा  भेला भई सामा चकेवा सम्पन्न गरेका हुन् । 

धर्म, भाषा, वेशभूषा र संस्कृति जीवन्त रहेमात्र जातीय पहिचान कायम रहने भएकाले नयाँपुस्तामा सामा चकेवा लोकपर्वलाई जीवन्त राख्न पनि समापनको अवसरमा महोत्सव गरिएको आयोजक थारू महिला सभा सिरहाले जनाएको छ । थारू वेशभूषामा सजिएका महिलाले सामा चकेवाको प्रतिमा बोकेर लहान बजार क्षेत्रका विभिन्न भाग परिक्रमा गरी पशुपति माविको प्राङगणमा पुगेका थिए ।


त्यहाँ सामा चकेवा रंगीविरंगी प्रतिमालाई सजाइएको थियो । ‘सामा चकेवा’ लोकपर्वको सुरुवातसँगै सिरहाको ग्रामीण क्षेत्रमा चेलिबेटीहरूले रातो र सेतो माटोले घर लिपपोत गरी सिंगारेका थिए । नौ दिनसम्म सिरहाका गाउँघर सामा चकेवामय बन्यो । रातको समय सामा चकेवाका गीतले गुन्जयमान बने ।


महोत्सव स्थलमा भेला भई दिदी बहिनीहरूले परम्पराअनुसार गीत गाईसकेपछि सामा चकेवा र सात भाइलाई धर्तीमा भसाएर चुगला र वृदावनलाई पूर्णरूपमा जलाई खेतमा गाडी दाजु–भाइलाई मिठो परिकार खुवाई यो विधि सम्पन्न गरे । खासगरी तराई क्षेत्रका सम्पूर्ण भू–भागमा हर्षोल्लासका साथ धुमधामसँग मनाइने लोकपर्व ‘सामा–चकेवा’ लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वका रूपमा लिन्छन् । ‘सामा–चकेवा’ बहिनी र भाइको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो ।


हरेक वर्ष छठ पर्वको एक दिन पहिलेदेखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदी बहिनीहरूले आफ्ना दाजुभाइको लामो आयू, सु–स्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । महोत्सवमा सहभागी अनिता चौधरीले यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सदभाव साटासाट गर्नु हो । तिहारको भाइटीका जस्तै हाम्रो लागि यो महापर्व हो । उनका अनुसार तराई मधेसका गाउँमा ‘सामा–चकेवा पर्वमा चेलिबेटीहरू दाजुभाइको दीर्घायु कामना गर्दै दिदी बहिनी, आईमाई र केटाकेटी समूहमा हातमा डालो लिई परम्परागत गीत गाउँदै हिँडछन् ।


राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मित डालोमा सामा (बहिनी), चकेवा (भाइ), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाइको माटाको मूर्ति बनाएर त्यसमा दियो बाली समूहमा घरको आगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरूले सुरिलो स्वर घन्काउँछन्–


गंगा रे जमुनवा कि हो चिकन माटी,

आरे कोरी दिए सवके ।

भैया गंगा वैसि, माटी वनाए दिए सवके

मौजी, सामा जोर चकेवा हेर,

खेलल लागल सवको बहिनो ।


गीत गाइसकेर चेलीबेटीले दुबो र चामल लिएर डालोमा भएको सबै पात्र मुर्तिहरूमाथि छर्किदिन्छन् । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवा बीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै नौ दिनसम्म चुगला र वृदावनलाई गीत गाउँदै जलाइन्छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?