कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कमला किनारमा भूत मेला

भरत जर्घामगर

(सिरहा) — पौराणिक परम्परालाई मान्नका लागि चाडपर्व मनाउने र मेला लाग्ने गर्छ । सर्वसाधारणको किनमेलको थलो मेलालाई मानिन्छ । सिरहा र धनुषाको कमला नदी किनारमा भने पृथक मेला लाग्दछ त्यो हो भूत मेला । जुन मेलामा तान्त्रिक विद्या सिद्ध गर्न धामीहरू आफ्नो रूप फिँजाएर काप्छन् । 

कमला किनारमा भूत मेला

विज्ञानले धामीझाँक्री विद्यालाई अन्धविश्वास मान्दछ । तर सिरहा र धनुषा सीमामा अवस्थित कमला नदी किनारमा धामी, झाँक्रीमार्फत कुल देउताबाट तान्त्रिक विद्या सिद्ध गर्न कमला स्नान गरी मंगलबार नयाँ र पुराना धामीको भीड लाग्यो । धामीले तान्त्रिक विद्या पूरा हुने विश्वास गरी हरेक वर्ष कात्तिक पूर्णिमाको दिन जमघट हुनुलाई भूत मेलाको नाम दिइन्छ ।


घटस्थापनादेखि सुरु हुने तान्त्रिक विद्याको तयारी कात्तिक पूर्णिमाका दिन स्नान गरी पूर्ण हुने जनविश्वास छ । स्नान गरेसँगै उदाउँदो सूर्यलाई साक्षी राखेर धामी र झाँक्रीमार्फत कुल देउताबाट सिद्धि प्राप्ति हुने विश्वास छ । तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ यस वर्ष भूत मेलामा नयाँ र पुराना धामीको घुइँचो लाग्यो । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको साथ देउता (भक्ता) खेल्दै भक्तालुहरूले कमला नदी किनारमा पुगी मंगलबार बिहान सूर्य उदाउनु अघि स्नान गरे । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध, भूतप्रेत कहिले नआउने विश्वास रहेको सिरहा पडरियाका धामी सुकदेव पासवानले बताए ।


तान्त्रिक विद्या प्राप्तिका लागि मुख्यत: ग्रामीण समुदायका मानिसहरू मेलामा आउने गरे तापनि मेला हेर्न अन्य समुदायबाट पनि आउने गर्छन् । मेला हेर्न कमला नदीमा सिरहालगायत, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र भारतको विहारका विभिन्न स्थानका श्रद्धालुहरू स्नान गर्न आएको मेला आयोजक समितिले जनाएको छ ।


कमलामा कार्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्दा वर्षभरिको पापबाट मुक्ति पाइने र कार्तिक शुक्ल पूर्णिमाको दिन धामीझाँक्रीले भूत र घरको कुल देवता खेल्दै स्नान गर्ने सदियौंदेखिको परम्परा रहेको मेलाका सहभागीले सुनाए । भूत मेलामा स्नानपछि घर फर्कने बेलामा श्रद्धालुहरूले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजान्छन् । पूजापाठ गर्दा कमलाको पानी छर्केर जमिन शुद्ध पार्ने गरिएको धामीझाँक्रीको भनाइ छ ।


‘गाडी पुरानो भएर फेरिने गरिए जस्तै देउताले आफ्नो सवारी फेर्दै नयाँ मान्छेको जीउमा आउने गर्छन्,’ सिरहा अर्नमाका धामी मधुराप्रसाद यादवले भने । घर परिवारका कुनै सदस्यलाई हानि नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत कुल देउताले दिने र रक्षासमेत गर्ने जनविश्वास रही आएको छ ।


वाग्मती र झिम नदीमा पनि


सर्लाही । कर्मैयास्थित वाग्मती र खैरास्थित झिम नदीमा भूत मेला लागेको छ । कात्तिक पूर्णिमाका दिन बिहान यी नदीहरूमा डुबुल्की लगाउन सोमबार रातीदेखि नै भूतप्रेतबाट पीडित र सिकारु धामीझाँक्रीको भीड बढेको थियो ।


उनीहरू नदी किनारमा रातभरी देउता खेलाउँदै कर्कश स्वरमा चिच्याइरहेका थिए । कात्तिक पूर्णिमाको सूर्योदयसँगै पवित्र जलमा डुबुल्की लगाई पहेंलो धोती र पहेंलै सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बेतको छडी घुमाउँदै थिए । यी दुई नदीमा मंगलबार बिहान सूर्योदयसँगै सयौं नव धामीझाँक्रीले पवित्र जलमा डुबुल्की लगाए । सयौंको संख्यामा महिला र पुरुष नदीको किनारमा देउता खेलाइरहेका थिए । उनीहरू समूह समूहमा ठूल्ठूलो स्वरले प्रश्नै प्रश्न गर्ने गीत गाइरहेका थिए । कतिपयले बिरामीसमेत बोकेर नदी किनारमा ल्याएका थिए ।


कात्तिक पूर्णिमाको बिहान पवित्र जलमा नुहाए रोग निको हुने विश्वास छ । रौतहटको गुजारा नगरपालिका–२ का अलोपी माझीले सुख शान्ति र सन्तान प्राप्तिका लागि सोमबार साँझ परिवारसहित वाग्मती नदीमा आएको बताए । उनी परिवारसहित सोमबार रातभरि जाग्राम बसेर आफ्नो कुलदेवतालाई पूजापाठ गर्दै मंगलबार बिहान नदीमा डुबुल्की लगाई फर्के । यसले वर्षभरि घरमा भूतप्रेत, बोक्साबोक्सी र धामीझाँक्रीको प्रभाव नपर्ने र सन्तान प्राप्तिको इच्छा पूरा हुने उनले सुनाए ।


वाग्मती किनारमा हरिपुर नगरपालिका–९ पिडारीका राम दास पनि भेटिए । उनी यस वर्षको सिकारु धामी हुन् । कात्तिक पूर्णिमाका दिन पवित्र नदीमा नुहाए तन्त्रशक्ति चल्ने विश्वासका साथ वाग्मती आएको उनले बताए । तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका दिन पवित्र नदीमा नुहाएर पूजापाठ गर्नुपर्ने मान्यता छ ।



प्रकाशित : कार्तिक २७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?