२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जमुनी ब्यारेजमा विद्युतीय गेट बन्ने

शंकर आचार्य

(पर्सा) — निर्माणको अन्तिम चरणमा रहेको जमुनी सिंचाइ ब्यारेजमा विद्युतीय गेट जडान गरिने भएको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकारी सुरेश साहले विद्युतीय ढोका हाल्ने निर्णय भएको बताए । 

जमुनी ब्यारेजमा विद्युतीय गेट बन्ने

उनका अनुसार, ब्यारेजको संरचना र सञ्चालनमा भविष्यमा हुन सक्ने कठिनाइलाई मध्यनजर गरी परम्परागत शैलीको ढोकाको साटो विद्युतीय हाल्ने थालिएको हो । ‘योजनाअन्तर्गत जमुनी ब्यारेजको १३ र त्यहाँबाट निस्किने नहरको २ ढोकामा विद्युतीय गेट प्रणाली जडान गर्न लागिएको हो,’ उनले भने, ‘ढोकाको डिजाइन तयार भइसकेको छ, सिंचाइ विभागले छिट्टै यसका लागि टेन्डर आह्वान गर्दैछ ।’ त्यस लगत्तै ठेक्का लागेर ढोका जडान गर्ने काम सुरु हुने उनले बताए ।


नेपाल सरकारको अनुदान तथा विश्व बैंकको ऋणमा बाराको आदर्श कोतवाल नगरपालिका– ८ मा निर्माणाधीन योजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।


बर्सेनि बाढीको समयमा खोलामा बढी पानी प्रवाह भएर ब्यारेजका ढोका खोल्नु पर्ने हुन्छ । त्यति बेला परम्परागत ढंगले ढोका खोल्नका लागि एउटा ढोका खोल्न ३ देखि ४ जना चाहिन्छ । विद्युतीय ढोका भए स्विच अन गरेलगत्तै ब्यारेजका ढोका खुल्नेछन् । जसले गर्दा ब्यारेजमै मानवीय तथा भौतिक जोखिम पनि कम हुन जान्छ । ‘यसबाहेक बाढी आएका बेला समयमा ढोका खोल्न नसके खोलाले अन्त बाटो मोडेर जान सक्ने प्रबल सम्भावना पनि हुन्छ,’ साहले भने, ‘यसो हुँदा ब्यारेज उपयोगविहीन हुने मात्र नभई आसपासका गाउँहरूमा जनधनको पनि क्षति हुन सक्छ ।’ विद्युतीय गेट प्रणालीमा लागत ११ देखि १२ करोड रुपैयाँ पर्न जाने अनुमान गरिएको छ ।


नेपालमा कोसी, वाग्मती, सिक्टालगायतका ठूला सिंचाइ आयोजनमा पनि यस्ता विद्युतीय गेट प्रणाली सञ्चालनमा छन् । जमुनी ब्यारेजमा कुल १३ वटा ढोका छन् ।


जमुनी खोलाबाट निकालिने नहरको पानी ड्यामबाट करिब ५ सय मिटर दक्षिणमा रहेको गण्डक नहरमा झार्ने योजना छ । जसबाट बाराको १ हजार २ सय र रौतहटको ८ हजार ३ सय हेक्टर जग्गामा सिंचाइ सुविधा उपलब्ध हुने छ । त्यसपछि ३ वटा ब्लकमा बाह्रै महिना पानी उपलब्ध हुने छ । यसरी बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसान लाभान्वित हुनेछन् । ब्यारेज निर्माणका लागि २०७२ माघ १४ मा ठेकेदार कुमार/आशिष/अमर जेभी कालीमाटीसँग सम्झौता भएको थियो ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?