उत्सव बन्यो सामा–चकेवा

कान्तिपुर संवाददाता

(जनकपुर) — भाइ–बहिनीबीचको स्नेहको पर्व सामा–चकेवालाई जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले महोत्सवको रूप दिएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वलाई परिषद्ले महोत्सवका रूपमा मनाउन थालेको हो । 

उत्सव बन्यो सामा–चकेवा

महोत्सवमा सामा–चकेवा लोकनृत्यमा प्रयोग हुने विभिन्न पात्रहरूको प्रदर्शनी गरिएको थियो । जनकपुरको रामचोकस्थित मिनाप कार्यालयअगाडि यस लोकनृत्यमा प्रयोग हुने सामा, चकेवा, श्याम्ब, चूगला, वृन्दावन, झाझुर कुकुर, सतभैया लगायतका पात्रको माटो निर्मित प्रतिमा प्रदर्शन गरिएको थियो । माटो निर्मित प्रतिमाहरू चित्रकार विजय दत्त मणिले निर्माण गरेका छन् । यस लोकनृत्यको खलपात्र भनिने चुगलाको जुंगामा आगो लगाएर महोत्सवको उद्घाटन गरिएको थियो ।


समाचकेवा लोकनृत्यमा वर्णित कथाअनुसार चूडक (चुकला) ले सामा–चकेवाबीचको प्रेम प्रशंगलाई बढाइ–चढाइ सामाका पिता (कृष्ण) लाई सूचना दिएका थिए । यसबाट क्रोधित बनेका कृष्णले आफ्नी छोरीलाई चरी बन्न श्राप दिए । आफ्नो बहिनी सामालाई पुन: मनुष्य योनीमा ल्याउन भाइ शाम्बले तपस्या गरेको थियो । निश्चल प्रेमलाई बदनाम गरेको भन्दै यस नृत्यमा चुकलालाई सरोसराप दिने अनि उसको जुंगामा आगो लगाउने चलन छ ।


मिनापका अध्यक्ष परमेश झाले मिथिलाञ्चलका लोपोन्मुख लोकनृत्यको जगेर्ना अभियानअन्तर्गत सामा चकेवा महोत्सव आयोजन गरिएको बताए । ‘हामीले सुरुमा झिझिया महोत्सव आयोजन गर्‍यौं । यस वर्षदेखि सामाचकेवा महोत्सव सुरु गरेका हौं,’ उनले भने । जनकपुर उपमहानगरपालिकाका मेयर साहले सामाचकेवा, जटजटिन, झिझियाजस्ता लोप हुन लागेका लोक नृत्यको संरक्षण संवर्धनमा सबैले योगदान गर्नुपर्ने बताए । साहित्यकार रामभरोस कापडिले मिथिलाञ्चलका पर्व–त्योहारहरूको मौलिकतामाथि प्रहार हुन लागेको बताए ।


प्रकाशित : कार्तिक २६, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?