कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नहरको डिल मासेर खेती

शंकर आचार्य

(पर्सा) — गण्डक नहरको डिल मासेर खेत बनाएका किसानलाई कारबाही गर्न नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जले प्रकृया अगाडि बढाएको छ । 

कार्यालयका निमित्त प्रमुख इन्जिनियर सुरेश साहका अनुसार आदर्शकोतवाल गाउँपालिका वडा नं ७ का किसान सफिक मिया अन्सारी उपर जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिइएको हो । यी कार्यालयबाट इलाका प्रहरी कार्यालय आदर्श कोतवालमा पत्राचार भई मियालाई पक्राउको आदेश समेत भइसकेको छ । मिया फरार रहेको र उनको खोजी भइरहेको इन्जिनियर साहले बताए ।


मियाले आदर्शकोतवाल गाउँपालिकामै गण्डक नहरको देब्रे किनारबाट करिब १० मिटर चौडाइ र २५ मिटर लम्बाई नहरको डिल यसै साता काटेर आफ्नो खेतमा मिसाएका हुन् । यसो गर्दा नहरमा पानी प्रवाह भएका बेला नहर त्यहाँबाट फुटेर पानी गाउँमा पस्ने र सर्वसाधारणको बालीनाली नष्ट हुन सक्ने प्रबल सम्भावना रहन्छ ।


यसरी व्यक्ति विशेषले नहरको संरचना भत्काएर आफ्नो बनाउनेलाई कारबाहीको दायरामा नल्याइए अरूले पनि त्यसो गर्न सक्ने र सार्वजनिक सम्पत्ति नष्ट हुँदै जाने सम्भावना भएकाले मिया उपर कडा कारबाहीको माग गरिएको हो ।


बारा जिल्लाकै मटिअर्वास्थित कार्यालयकै संरचना सिँचाइ क्याम्प भवन र त्यसको जग्गा समेत स्थानीयले बिक्री गर्न लागेको घटना करिब डेढ महिना अघि सार्वजनिक भएको थियो । स्थानीयले कार्यालयको करिब ४ कठ्ठा जग्गा सहितको भवन आफ्नो दाबी गरी बिक्री गर्न लागेको थाहा पाएपछि उक्त काम रोक्का गरी ती स्थानीयलाई पनि कारबाहीको प्रकृया अघि बढाइएको साहले बताए । २०४६ सालमा निर्मित उक्त भवन लामो समय इलाका प्रहरी कार्यालयका रूपमा प्रयोग भएको थियो । हाल इप्रका आफ्नै भवनमा सरेपछि भू माफियाको आँखा उक्त सरकारी जग्गामा परेको हो ।


कार्यालयको पर्सा र बारा जिल्लास्थित कतिपय ससाना सिँचाइ भवन हालसम्म सुरक्षा निकायकै प्रयोगमा रहेका छन् । बढी जसो संरचना सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ ।


नहरको पूर्वाधार र संरचना मास्ने र मिच्ने काम केही वर्ष यता तीब्र रूपमा हुँदै आएको छ । नहरको ब्लक नम्बर ७ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं १४ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय नजिककै नहर अतिक्रमण गरी वीरगन्ज महानगरपालिकाको कार्यालयले गत वर्ष पक्की सडक निर्माण गरिसकेको छ ।


त्यस भेगका किसानको खेतमा सिँचाइ प्रयोजनमा नियमित रूपमा प्रयोग हुँदै आएको एमएससी १ नहरको २ किमि खण्ड अतिक्रमण गरी त्यहाँबाट गण्डकदेखि राधेमाई जोड्ने करिब २ किमि कालोपत्रे सडक मनपाको कार्यालयले बनाएको हो । ‘नहर नमासेर त्यसको मुनिको सडकलाई प्रयोग गरेर मात्रै पनि कालोपत्रे सडक बनाउन सकिन्थ्यो,’ साह भन्छन्, ‘तर त्यसो गरिएन हामीले मनपाको कार्यालयलाई यसो नगरौं भनी आग्रह गर्दा गर्दे कालोपत्रे सडकनै बनाइयो, यस वर्ष थुप्रै किसानले नहरको पानी प्रयोग गर्न पाएनन् ।’


नहरका कतिपय साना कुला किसान आफैंले मासेर खेतमा मिसाएका छन् । यसले किसानलाई सहज रूपमा नहरको पानी पाउन समस्या भइरहेको छ । कार्यालयले ब्लक नम्बर २ र ८ मा यसरी मासिएका केही साना कुला पुनर्निर्माण समेत गरिसकेको साह दाबी गर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?