कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फेरि प्रदूषित हुँदै सिर्सिया खोला

कान्तिपुर संवाददाता

पर्सा — छठ पर्वमा प्रदूषण मुक्त भएको सिर्सिया खोलामा पुन: फोहोर बढ्न थालेको छ । सङ्लिएको खोलाको पानी फेरि धमिलिँदै छ । केही दिन ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगीले खोलामा फोहोर फाल्न थालेका छन् । 

फेरि प्रदूषित हुँदै सिर्सिया खोला

प्रहरीले खोला प्रदूषणमा जिम्मेवार रहेको आरोपमा दुई साताअघि पर्सा बारा औद्योगिक करिडोरको हिमालयन लेदर उद्योगका व्यवस्थापक लिउता छुवाङ र म्यानेजर तिनजुङ गुरुङ पक्राउ गरेको थियो । ती दुईमध्ये छुवाङ चिनियाँ नागरिक हुन् भने गुरुङ भरतीय । उनीहरू यसै साता न्यूनतम धरौटीमा मुक्त भइसकेका छन् ।


उनीहरूलाई नियन्त्रणमा लिएपछि करिडोरका अन्य उद्योगले पनि खोलामा प्रदूषित पानी फाल्न बन्द गरेका थिए । यतिबेला प्रहरी प्रशासनले अनुगमन कम गरेपछि उद्योगीहरूको मनोबल बढेको हो ।


सिर्सिया खोला बचाउ अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मी प्रहरी प्रशासनले प्रदूषणमा जिम्मेवार उद्योगीलाई कारबाही गर्ने बताए पनि व्यवहारमा उतार्न नसकेको आरोप लगाउँछन् । आफूहरूले पटकपटक दबाब दिँदा पनि खोलाको अवस्था जस्ताको त्यस्तै रहेकाले अब दलका जिल्ला नेताहरूको सर्वपक्षीय भेला गर्ने उनले बताए । ‘हामीले जुलुस धर्ना दिन सक्छौं, नैतिक दबाब दिन सक्छौं,’ कुर्मीले भने, ‘तर लाठी लिएर उद्योग बन्द गराउन सक्दैनौं, न्यायका लागि न्यायपालिका गुहार्नेदेखि नैतिक दबाब दिने काम पनि सँगै गर्ने छौं ।’


प्रजिअ नारायण भट्टराईले बिहीबार आफूले वीरगन्ज उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीसँग छलफल गरी खोलाको प्रदूषणमा जिम्मेवार उद्योगीलाई उद्योगबाट निस्किएको प्रदूषित पानी तथा अन्य अवशेष नफाल्न र अविलम्ब वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न निर्देशन दिएको बताए । ‘जसको उद्योगमा ट्रिटमेन्ट प्लान्ट छैन उसले प्लान्ट जडान गर्नुपर्छ, प्लान्ट भए पनि प्रयोग नगरी राखेका उद्योगीलाई प्रयोगमा ल्याउन कडा निर्देशन दिएको छुँ,’ उनले भने, ‘वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षले ५ दिनको समय माग्नु भयो, मैले ५ दिनमात्र नभई १० देखि १५ दिननै लिन भनेको छु, तर त्यति समयमा पनि उद्योगले गल्ती नसुधारे हामी अब कडा रूपमा प्रस्तुत हुने छौं ।’ केही दिनपछि खोलाको पुन: अनुगमन गरिने दोषी उद्योगीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनले बताए ।


बाराको सिमरादेखि वीरगन्जस्थित नेपाल भारत सीमासम्म करिब २५ किमि लामो यात्रा तय गर्ने सिर्सिया खोलाको पानी उदगमस्थलबाट २ किमिपछि क्रमश: दुर्गन्धित बन्दै जान्छ । यस क्षेत्रमा बनेको औद्योगिक करिडोरसँगै खोलामा फोहोर फाल्ने क्रम बढेको हो ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?