कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चुरेमा अभावै अभाव

ओमप्रकाश ठाकुर

(सर्लाही) — सर्लाहीको चुरे क्षेत्रका सबै बस्ती नगरपालिकामा पर्छन् । तर, यहाँका स्थानीयले नगरको सुविधा पाउन सकेका छैनन् । तराईको सुगम जिल्ला भए पनि चुरे बस्तीका स्थानीय वर्षौंदेखि अभाव र कष्टपूर्ण जीवन जिउन बाध्य छन् । विकास निर्माणमा पछाडि परेका यी बस्तीहरू नगरपालिका घोषणा भए पनि यहाँका स्थानीयको दैनिकीमा परिवर्तन भने आउन सकेको छैन । 

सर्लाही, महोत्तरी र सिन्धुलीको सीमामा रहेका बिलन्दी, कौवाडाँडा, ढिमले, पतराई, नारायणखोला, गुइडुङ लगायत दर्जनौं चुरे बस्तीका हजारौं घर परिवार अभाव र कष्टपूर्ण जीवन जिउन बाध्य बनेका छन् ।


वर्षौंदेखि विकास निर्माणमा पछाडि परेका चुरेका यी बस्ती विकासका लागि नगरको प्राथमिकतामा परेका छैनन् । यस क्षेत्रका स्थानीय बाटोको नाममा खोलाको बगर, बिरामी पर्दा अस्पताल लैजान डोको वा झोलुंगेको भर पर्नुपर्ने, खोलाको दुसित पानी खानुपर्ने लगायतका अभाव र कष्टपूर्ण जीवन जिउन बाध्य छन् । बागमती, हरिवन, लालबन्दी र इश्वरपुर नगरपालिका पर्ने चुरेका दर्जनौं बस्तीका स्थानीय यस्ता समस्या खेप्दै आइरहेका छन् ।


विकट हिमाली जिल्लाका जस्तै कष्टकर जीवन बिताउँदै आएका याहाँका स्थानीय उज्यालोका लागि टुकी र सोलारको भर परिरहेका छन् । यी बस्तीमा पुग्न खोला र पहाडको उकालो ओरालोमा कष्टपूर्ण यात्रा गर्नुपर्छ । यी बस्तीहरू हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । सडक नभएकै कारण यहाँका स्थानीय खोलाको बगर र पहाडको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।


जिल्लाको पूर्वी क्षेत्रमा पर्ने चुरेका स्थानीय सडकमा पुग्न करिब १५ किमि स्थानीय लखन्देही र बाँके खोलाको बगर भएर यात्रा तय गर्नुपर्छ । भने पश्चिम क्षेत्रका चुरेका स्थानीय पहाडको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गबाट चुरेका केही बस्तीमा हिउँदमा जोखिम मोलेर यातायातका साधन चले पनि वर्षाका बेला बाटो नै बन्द हुने गरेको छ । हिउँदका बेला जीवनयापन अलि सजिलो भए पनि वर्षाका बेला निकै समस्या हुने गरेको स्थानीयले बताए ।


‘हाम्रो बस्तीमा आउन सडक छैन, सडक नभएर खोलाको बगर भएर हिंडनुपर्ने बाध्यता छ,’ ईश्वरपुर नगरपालिका–१२ छोडकेका धनबहादुर वाइवाले भने, ‘विद्युत र खानेपानीको समस्यै छ, वर्षाका बेला भगवान् भरोसे हाम्रो जीवन चल्छ ।’ वर्षाका बेला बिरामीलाई अस्पताल पुर्‍याउनै मुस्किल पर्ने भएकाले यहाँका स्थानीय बिरामी निको पार्न धामीझाक्रीकोमा लाने गर्छन् । यो समयमा खोलामा बाढी आउँदा स्थानीय छिमेकी गाउँ र बजारसम्म समेत आउजाउ गर्न पाउँदैनन् ।

वर्षाका बेला गम्भीर बिरामी परियो भने बाँच्ने सम्भावना कम हुने गरेको स्थानीय विदुर दमाईले बताए । ‘वर्षा लागेपछि बजार आउन जान निकै गाह्रो हुन्छ, बिरामी वा गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्दा आपतै पर्छ,’ उनले भने, ‘सामान्य मौसममा बिरामी पर्दा ज्यान बचाउन सकिन्छ तर वर्षाका बेला बिरामी पर्दा बाँच्ने आशा मरेर जान्छ ।’


यस क्षेत्रका स्थानीय ज्यान दाउमा राखेर गुजारा गर्नुपरिरहेको गुनासो गर्दै आएका छन् । ‘गाउँमा स्वास्थ्य संस्था छ तर विकट भन्दै चिकित्सक बस्न मान्दैनन्, महिनाको एक दुई दिन आएर हाजिर गरेर फर्कन्छन्,’ स्थानीय औतारसिंह बम्जनले भने, ‘स्वास्थ्य संस्था प्राय: बन्द रहने गरेकाले बिरामी परेका बेलामा सिटामोल समेत हामी पाउँदैनौं ।’


सर्लाही, महोत्तरी र सिन्धुलीको सीमामा पर्ने यी बस्तीहरू पूर्व–पश्चिम राजमार्गबाट करिब २५ किमि दुरीमा पर्छन् । जिल्लाका अन्य स्थानीय तहभन्दा विकासले गति लिएको उत्तरी क्षेत्रका नगरपालिकाका यी बस्तीका स्थानीयले भने दु:ख र कष्ट पहिलेकै जस्तो रहेकाले नगरवासी भएको अनुभुति गर्न पाएका छैनन् ।


ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनले वडा र नगरपालिकाको बजेटबाट मात्रै यस क्षेत्रमा सडक पुर्‍याउन सक्ने अवस्था नरहेको बताए । यस क्षेत्रमा सडकको ट्रयाक खोल्न अर्बौं रुपैयाँ लाग्ने भएकाले स्थानीय तहले चाहँदैमा सडक पुर्‍याउन नसकिने उनको भनाइ छ ।


यता केही स्थानीय तहले वर्षौंदेखि खोलाको दूषित पानी खाँदै आएका नागरिकलाई लक्षित गरी बल्ल शुद्ध पिउने पानीको व्यवस्थामा जोड दिन थालेका छन् । विकास निर्माणमा पछाडि परेका यी बस्तीका स्थानीयका लागि शुद्ध पिउने पानीको व्यवस्था गर्दै अन्य विकास निर्माणको काम अघि बढाइरहेको उत्तरी क्षेत्रका नगरपालिकाहरूले जनाएका छन् । तर, भौगोलिक विकटताका कारण चुरे क्षेत्रमा काम गर्न निकै कठिन भइरहेको र स्थानीय तहको बजेटले यस क्षेत्रको विकास सम्भव नहुने उनीहरूको जोड छ ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?