२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

साँघुरो भयो सुक्खा बन्दरगाह

‘अहिले कोलकाताबाट २४ घण्टा र विशाखापटनमबाट ७२ घण्टामै रेल वीरगन्ज आइरहेको छ, भारतीय रेल्वेले यस रुटका लागि ३२ देखि ३४ वटासम्म र्‍याक छुट्याएको छ, यो हालसम्मकै सर्वाधिक संख्या हो ।’
शंकर आचार्य

(पर्सा) — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको यार्ड कन्टेनर र अन्य मालवस्तुले भरिभराउ छ । मालबाहक सवारीको आवागमनमा समेत यसले समस्या भएको छ । 

साँघुरो भयो सुक्खा बन्दरगाह

आयातकर्ताले समयमा कन्टेनर नलग्ने र भारतबाट पनि कन्टेनरबाहक रेल्वे र्‍याक आउने क्रम बढेपछि बन्दरगाहको यार्ड भरिएको हो । बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार साउन महिनामा ६०, भदौमा ५२ र असोजमा ५९ कन्टेनर बाहक रेल्वे र्‍याक भारतका विभिन्न बन्दरगाहबाट यहाँ आइपुगेका छन् । गत आवको यिनै तीन महिनामा क्रमश: ३९, ४० र ४५ रेल्वे र्‍याक यो बन्दरगाहमा आइपुगेका थिए । औसतमा गत आवको यसै अवधिको तुलनामा चालु आवमा कन्टेनरबाहक रेल्वे र्‍याक ३३ प्रतिशत बढी आयात भएका छन् ।


टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीका अनुसार पछिल्लो समय भारतीय रेल्वको आवागमन नियमित भएकाले बन्दरगाहमा मालवस्तु बढी ल्याइएका हुन् । ‘अहिले कोलकाताबाट २४ घण्टा र विशाखापटनमबाट ७२ घण्टामै रेल वीरगन्ज आइरहेको छ,’ उनले भने, ‘भारतीय रेल्वेले पनि यो रुटका लागि ३२ देखि ३४ वटा सम्म र्‍याक छुट्याएको छ, यो हालसम्म कै सर्वाधिक संख्या हो ।’


यसरी बन्दरगाहको काम बढेको तर त्यसअनुसार पूर्वाधार विस्तार नहुँदा आफूहरूलाई बन्दरगाह सहजरूपमा सञ्चालन गर्न नै समस्या भइरहेको उनले बताए । ‘नेपालकै कुल कन्टेनरमध्ये ५५ प्रतिशत कन्टेनरको ह्यान्डलिङ यो बन्दरगाहबाट भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा बन्दरगाहको क्षमता विस्तार अत्यावश्यक छ, सरोकारवाला निकायहरू समयमै यसतर्फ गम्भीर हुनु जरुरी छ ।’


उनले हाल बन्दरगाहको पश्चिमतर्फ क्षेत्र विस्तारसँगै थप चारवटा रेल्वे लिक निर्माण गर्नु जरुरी रहेको बताए । कम्तीमा कन्टेनरका लागि २, बीसीएन र बिआरएन कार्गोका लागि थप १/१ गरी ४ रेल्वे लिक विस्तार गर्न जरुरी रहेको उनले बताए ।


हाल सुख्खा बन्दरगाह र आईसीपी बीचको ६२ बिघा जग्गा सरकारले अधिग्रहण गर्ने प्रकृया पनि अघि बढाएको छ । तर, त्यो सुस्त गतिमा छ । मुलुककै यी दुई ठूला आयोजनाको बीचमा रहेको खल्वाटोला गाउँ र स्थानीयको खेत समेत सरकारले अधिग्रहण गर्न लागेको हो । नेपाल सरकारको २०७३ को पुस १७ निर्णयले यो अधिग्रहण प्रकृया अघि बढेको हो ।


सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा खल्वाटोला गाउँ र स्थानीयको खेत पर्छ । यी दुई ठूला संरचनाबीच रहेको यो टोललाई अधिग्रहण गरेमा दुवै संरचना एक अर्कासँग जोडिनेछन् । हाल सिर्सिया सुख्खा बन्दरगाह नै साँघुरो अनुभव गरिँदै छ । आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि त्यहाँ तत्कालै दैनिक १ हजारभन्दा बढी मालबाहक सवारीको आवागमन हुनेछ । यसरी दुवै संरचना हाल र भविष्यमा साँघुरो भएर पूर्ण उपयोगमा ल्याउन समस्या हुने भएकाले सरकारले दुवै परियोजनाको वीचमा रहेको खाली जग्गालाई अधिग्रहण गर्ने योजना बनाएको हो ।


सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ आफूले सुक्खा बन्दरगाह अत्यन्त साँघुरो भएको महसुस गरेको बताउँछन् । बन्दरगाह र आईसीपी बीचको जग्गा अधिग्रहणको काम द्रुत गतिमा हुनसके त्यसले धेरै राहत हुने उनले बताए ।


वीरगन्ज/आईसीपी भन्सार कार्यालय प्रमुख गोपाल खत्री पनि तत्काललाई आईसीपी केही फराकिलो देखिए पनि भविष्यमा यो पनि साँघुरो महसुस हुने बताउँछन् । ‘सुक्खा बन्दरगाह त साँघुरो महसुस भइनै सक्यो,’ उनले भने, ‘बन्दरगाह र आईसीपी बीचको जग्गा नजोडिने हो भने ५ वर्षपछि आईसीपी पनि साँघुरो लाग्छ ।’


प्रकाशित : कार्तिक २४, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?