कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाली चलचित्रलाई तराईसँग जोड्दै महोत्सव

शंकर आचार्य

(पर्सा) — अधिकांश नेपाली चलचित्र निर्माण हुँदा ५० को दशकमा भोजपुरी गीत समावेश हुन्थे । कतिपय नेपाली चलचित्रको छायांकन तराईका समथर भूमिका हरियालीलाई पृष्ठभूमिमा पारेर कैद गरिन्थे । आफ्नो गाउँठाउँको दृश्य छायांकन भएको थाहा पाएरै मात्रै भोजपुरी तथा मैथिली भाषी दर्शक नेपाली चलचित्र हेर्न हलमा ओइरिन्थे । परिणाम नेपाली चलचित्रले तराई मधेसबाट राम्रो कमाई गर्थे । 

नेपाली चलचित्रलाई तराईसँग जोड्दै महोत्सव

द्वन्द्वकाल र मधेस आन्दोलनपछि दृश्य बदलियो । नेपाली चलचित्रको छायांकन यहाँ दुर्लभ बन्न पुग्यो । यस अवधिमा हिन्दी मात्र नभई भारतमा निर्माण हुने भोजपुरी चलचित्रले पनि आफ्नो दरिलो उपस्थिति यहाँका सिनेमा हलमा बनाउन थाले । परिणामस्वरूप कुनै पनि खाले अपनत्व नपाउँदा यहाँका दर्शक नेपाली चलचित्र हेर्न हलसम्म जानै छाडे । राजधानीमा सुपरहिट भएका नेपाली चलचित्र यहाँका हलमा मुस्किलले एक–दुई दिन पनि टिक्न छाडे । शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धरलाई चिन्ने मधेसका दर्शकले अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह (वीरगन्ज/मधेसकै भए पनि), पल शाह, प्रदीप खडका आदिलाई चिन्न छाडे ।


भोजपुरी भाषा र संस्कृतिको गढ वीरगन्जमा बिहीबारदेखि सुरु भएको स्वर्णीम नेपाली चलचित्र महोत्सवले एकपटक फेरि नेपाली चलचित्र जगत्लाई तराई मधेससँग जोड्ने सेतुको काम गरेको छ । बिहीबार बिहानै महानगरको सडकमा निकालिएको प्रभात फेरीदेखि महोत्सवस्थलमा देखिएका नेपाली चलचित्र जगतका पुराना र नयाँ पुस्ताका कलाकार र प्राविधिकलाई यहाँका भोजपुरी भाषी दर्शकहरूले घेरे । भुवन चन्द, वसुन्धरा भुषाल, निर शाह, हरिवंश आचार्य, भुवन केसी, सुनिल थापा, निरुता सिंह, विराज भट्ट, दीपकराज गिरी, दीपाश्री निरौलादेखि शुभेच्छा खडका, रेजिना उप्रेती, वर्षा शिवाकोटी जस्ता पुराना र नयाँ पुस्ताका कलाकार यहाँका युवा पुस्ताको सेल्फीमा कैद भएर सामाजिक सन्जालमा छाइरहेका छन् । महोत्सवले चारैतिर नेपाली चलचित्र जगत्कै चर्चा बढाएको छ । वीरगन्जका युवा मुन्ना सर्राफ वीरगन्जमा यो महोत्सव आयोजन हुँदा नेपाली चलचित्र जगत् र मधेसबीच केही वर्षयता बढेको दूरी घटेको बताउँछन् । ‘महोत्सवले दूरी त घटायो तर यसलाई निरन्तर टिकाउन नेपाली चलचित्र जगतले अझै सशक्त भूमिका खेल्नु पर्नेछ,’ उनले भने, ‘मधेसका कथावस्तु र छायांकनस्थललाई समेट्ने मात्र नभई यहाँका कलाकारहरूलाई उचित स्थान दिनसके नेपाली चलचित्र आफ्नै देशमा अतिथि जस्तो बन्ने अवस्थाको अन्त्य हुनेछ ।’


महोत्सव आयोजक चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी महोत्सवको मुख्य उद्देश्य नै तराई मधेसमा पछिल्लो केही वर्षयता नेपाली चलचित्र जगतले गुमाएको स्थानलाई पुन:स्थापित गर्ने रहेको बताउँछन् । ‘नेपाली चलचित्र किन तराई मधेसमा प्रदर्शन हुन सकिरहेको छैन, त्यसको गम्भीर विश्लेषण गरेर हामी तराई र तराईबासीको नेपाली चलचित्रमा सक्दो सहभागिता बढाउन चाहन्छौं,’ उनले भने, ‘यसमै तराई मधेस र नेपाली चलचित्र जगत दुवैको हित पनि छ ।’


संघका उपाध्यक्ष तथा वीरगन्ज पुर्ख्यौली घर भएका चलचित्र निर्माता माधव वाग्ले पनि महोत्सवकै कारण आफू लामो समयपछि धेरै दिनका लागि वीरगन्ज बस्न आएको बताए । यस क्रममा आफूले पनि स्थानीय कलाकारसँग अन्तरक्रिया गरी आफूले निर्माण तथा निर्देशन गर्न लागेको आगामी चलचित्र ‘पारस’ मा केही वीरगन्जेली प्रतिभाको खोजी र पहिचानको अवसर पनि पाएको बताए ।


बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सवमा नेपाली चलचित्र जगतका नायक नायिकादेखि बलिउडका सुपरस्टार गोविन्दाको पनि प्रस्तुति रह्यो । शुक्रबार बिहान बलिउडका चर्चित सिनेम्याटोग्राफर सिके मुरलिधरणले क्यामेरा सञ्चालनसम्बन्धी कक्षा लिएका थिए । बलिउडका ‘लगे रहो मुन्ना भाइ’, ‘जोनी गद्दार’, ‘थ्रि इडियटस’, ‘एजेन्ट विनोद’, ‘पिके’, ‘मोहन जोडारो’ जस्ता चर्चित तथा ‘पानीपत’ जस्ता चलचित्रको छायांकन कक्षामा कलिउडका क्यामेरापर्सनदेखि यस क्षेत्रमा रुचि भएका नयाँ पुस्ता समेत सहभागी भए ।


शुक्रबार चलचित्र ‘भोर’ को प्रदर्शन गरिनुका साथै वीरगन्जबाट राजधानी गएर नेपाली चलचित्र जगत तथा कलाको अन्य विधामा स्थापित भएका वीरगन्जेली कलाकर्मीलाई सम्मानित समेत गरिएको छ । यस अवसरमा स्थानीय तथा नेपाली चलचित्र जगतका कलाकारको टोलीले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेको छ ।


शनिबार अन्तिम दिन बिहान ८ बजेदेखि नै ‘शत्रु गते’ लगायत तीनवटा नेपाली चलचित्र प्रदर्शनका साथै राष्ट्रिय कलाकारको दिनभरि प्रस्तुति रहनेछ । महोत्सवको समापन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम छ ।


गोविन्दाको २० मिनेट ...


बलिउड सुपरस्टार गोविन्दा वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नृत्य गर्दै ।


बलिउड सुपरस्टार गोविन्दाको प्रतीक्षा यहाँ जारी नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा व्यग्रताका साथ गरिँदैं थियो । करिब साढे ७ बजे महोत्सवस्थलमा प्रवेश गरेका गोविन्दा ७ बजेर ५५ मिनेटमा मात्र मञ्च उक्ले । पत्नी सुनिताका साथमा ।


कालो सुट र रातो टाइमा सजिएका गोविन्दा औपचारिक पहिरनमा देखिँदा उनले नृत्य गर्ने छैनन् भनी धेरै दर्शकले अडकलबाजी पनि गरे । सुनिताले सुरुमै वीरगन्जबासीले आफूहरू प्रति दर्शाएकोमा माया र सम्मानबाट आफूहरू आभारी भएको बताइन् ।


माइक समातेका गोविन्दाले सलमान खानसँग नृत्य रहेको आफ्नो चर्चित गीत ‘डु यु वान्ना पार्टनर...’ गुनगुनाएर दर्शकसँग नजिकिने प्रयास गरे । उनले नेपालमा आफूले पाएको माया शब्दमा वर्णन गर्न नसक्ने बताए ।

वीरगन्जसँगै भारतको बिहार राज्य जोडिएको र आफ्नी आमा निर्मला देवी पनि बिहारकै भएकाले आफूले वीरगन्जमा दोहोरो अपनत्व अनुभव गरेको उनले बताए । नेपाल र नेपालीसँगको माया प्रेम आफूले सावित गर्न नपर्ने बताउँदै उनले पत्नी सुनितालाई देखाउँदै ठट्टा गर्न भ्याए । नेपालमा आफूलाई ‘ज्वाँइ’ साब र ‘भिनाजु’ भनि सम्बोधन गरिँदा खुसी र आफ्नोपनको अनुभुति हुने गरेको बताउँदै उनले भने, ‘मलाई धेरै देशमा नेपाली फ्यानले भिनाजु कस्तो छ भनी सोध्छन् ।’ अनि आफूले पनि नेपालीमा ‘राम्रो छ’ भनी जवाफ फर्काउने गरेको बताए ।


नाँच्ने मुड नभए पनि दर्शकको मायाले आफूलाई नाँच्न गाउन बाध्य बनाएको भन्दै उनले आफ्नो चर्चित गीत ‘अँगना मे बाबा दुवारे पे मा...’ गुनगुनाए । दर्शकले साथ दिन थालेपछि हौसिएर ‘सरकाइलो खटिया जाडा लगे..’ पनि गुनगुनाए । उनले मञ्चमा ६ वटा गीगतमा नाच्न भ्याए ।

प्रकाशित : कार्तिक २३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?