कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मिथिलानगरीमा साहित्य चर्चा

कान्तिपुर संवाददाता

जनकपुर — सांस्कृतिक तथा अध्यात्मिक राजधानी जनकपुरधाम साहित्यमय बनेको छ । शुक्रबार सुरु भएको तीनदिने नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करणमा लेखक/साहित्यकार एवं चिन्तक जमघट भएका छन् । 

मिथिलानगरीमा साहित्य चर्चा

जानकी मन्दिरको खुला आकाशमुनि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव चन्दनको बिरुवा रोपेर महोत्सवको शुभारम्भ गरे । यद्यपि यस अघि जनकपुरमा साहित्य उत्सव नभएको होइन, मैथिली विकास कोष दुईपटक यस्तो उत्सवको आयोजन गरिसकेको छ ।


पूर्वीय दर्शन, मिमांशा तथा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने जनकपुरमा आयोजित यस उत्सवले प्राज्ञिक पुनर्जागरण आउने विश्वास सहभागीहरूको छ । राजनीतिक तथा सामाजिक विश्लेषक चन्द्रकिशोर यस आयोजनलाई ‘सृजनात्मक साझेदारी’ को संज्ञा दिनुहुन्छ, ‘यो देश जोड्ने उपक्रम हो । मुलुक भित्रका भूगोल, हावापानी, भाषा, साहित्य, कला, संस्कृतिसँगै विचार मन्थन गर्ने थलो हो ।’ साहित्यकार तथा पत्रकार नारायण वाग्ले साहित्य उत्सवलाई ‘प्राज्ञिक सत्संग’ को संज्ञा दिए ।


राजनीतिक तथा प्राज्ञिक रूपमा छुट्टै स्थान बनाएको जनकपुरमा पुन: वैचारिक मन्थनको शृंखला सुरु गर्न साहित्य उत्सवको जनकपुर संस्करण आयोजन गरिएको आयोजक बूक वर्म फाउन्डेसनका अजित बरालको कथन थियो । तीन दिवसीय जनकपुर साहित्य उत्सवको पहिलो दिन शुक्रबार उद्घाटन पूर्व राष्ट्रपति यादवसँगै साहित्यकार हरि शर्मा, रामभरोस कापडी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र तथा नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ का संयोजक मनीष झालगायतले सम्बोधन गरेका थिए । सन्ध्या रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो । मैथिली गीत, संगीत सुनेर सहभागी दंग परेका थिए ।


उत्सवको दोस्रो दिन शनिबार विभिन्न सात शीर्षकमा विमर्श हुने कार्यक्रम छ । राम जानकी विवाह मण्डपमा ‘चुरेको चिन्ता’ शीर्षकमा आयोजित हुने विमर्शमा पूर्वराष्ट्रपति डा. यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग चन्द्रकिशोर हुने छन् भने ‘मधेसको हिमाल’ शीर्षकमा कनकमणि दीक्षित, विराजभक्त श्रेष्ठ र डा. रामदयाल राकेशसँग धीरेन्द्र प्रेमर्षि हुने छन् । विवाह मण्डपमै आयोजित प्रदेश वा परदेश शीर्षकको सेसनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा तथा मधेसको भोजन विषयक सेशनमा केदार शर्मा, इम्तियाज वफा र गायत्री शर्मासँग गणि अन्सारी हुने छन् ।


शनिबारै जनकपुर रेल्वे स्टेसनमा आयोजित हुने अध्यात्मको राजधानी शीर्षकमा चारु चढ्ढा, प्रदेश सभा सदसय रामाशीष यादव र जानकी मन्दिरका महन्त रामरोशन दाससँग नित्यानन्द मण्डल हुनेछन् । रेल्वे स्टेशनमै आयोजित कस्तो साहित्य कसको साहित्य शीर्षकको विमर्शमा राम भरोस कापडी, अन्तिका गिरी र मनु मञ्जिलसँग ब्रजेश खनाल हुने छन् भने स्वाभिमान, सम्मान र अभिमान विषयक विमर्शमा प्रदेश सभा सदस्य रानी शर्मा, नारायण वाग्ले र प्रदेश २ का मुख्यन्याधिवक्त दीपेन्द्र झासँग कांग्रेस सांसद गगन थापा हुने छन ।


उत्सवको तेस्रो दिन साहित्य र राजनीतिक विश्लेषक तथा सांसद प्रदीप गिरी जानकी मन्थन गर्ने छन् भने पर्ख राक्षस तथा केटा र हवेल विषयक विमर्शमा लिण्डे फास र मार्क यायेशनसँग राजीवघर जोशी ,साहित्यमा मधेसीपात्र शीर्षकको विमर्शमा सीमा आभास र नयनराज पाण्डेसँग चर्तुभुज केवरत, साहित्य सम्झना शीर्षकमा उमाशंकर, गोपाल अश्क तथा रोशन जनकपुरीसँग श्याम शशि रहनेछन् भने पूर्वीय दर्शन र जनकपुर विषयमा पूर्वमन्त्री रामचन्द्र झा र प्राध्यापक वाहुदेवलाल दाससँग प्राध्यापक डा.सुरेन्द्र लाभ तथा अन्तिम सत्रमा बहुभाषिक कविगोष्ठीको आयोजन गरिने स्थानीय आयोजक मनीष झाले जानकारी दिए ।


प्रकाशित : कार्तिक २३, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?