१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गढीमाई मेलाको विवाद सल्टियो

कान्तिपुर संवाददाता

सिमरा — सर्वाधिक बलि चढाइने बाराको बरियारपुरमा अवस्थित गढीमाई पञ्चवर्षीय मेला लगाउन लामो समयदेखिको विवाद सल्टिएको छ । मेलाको व्यवस्थापन कसले गर्ने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच विवाद थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनाललगायतको पहलमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारीबीच छलफल भएको थियो ।

छलफलको क्रममा नगरपालिका र विकास समितिले विभिन्न ७ बुँदे सहमति गरेपछि उत्पन्न विवाद समाधान भएको हो । विवाद समाधान भएपछि गढीमाई मन्दिर परिसरमा सोमबार महागढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गरी मेलालाई सभ्य र भव्य तरिकाले मेला लगाउन नगरपालिका र विकास समितिले आह्वान गरेको छ ।


पत्रकार सम्मेलनमा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले मेलालाई थप व्यवस्थित गर्न सबै जिल्लावासीलाई सहयोग गर्न आग्राह गरे । ‘हामीबीच अहिले कुनै विवाद छैन,’ उनले भने, ‘सबै विवाद समाधान भइसक्यो ।’ अब हाम्रो एउटै लक्ष्य हो मेलालाई भव्य रूपले सफल बनाउने । हामीले मेलालाई राम्ररी सञ्चालन गर्न एक ढिक्का भएका छौं । मेलामा अब कुनै विवाद नरहेको उनले स्पष्ट पारे । महागढीमाई नगरपालिकाका प्रमुख (मेयर) उपेन्द्रप्रसाद यादवले विवाद समाधान गर्न समन्वयकारी भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारीलाई धन्यवादसमेत दिए ।


मेलालाई भाँड्न बाहिरी तत्त्वले राजनीतिक खेल खेलेको कारण विकास समिती र नगरपालिकाबीच मतभेद उत्पन्न भएको बताए । नगरवासीले बाहिरी प्रभाव र राजनीतिक चलखेललाई अस्वीकार गरेकै कारण विवाद समाधान भएको उनले जिकिर गरे । ‘गढीमाई मेलाको विषयमा हामी नगरवासी एक ढिक्का भएका छौं,’ उनले भने, ‘हामीबीच अब कसैले फुट गराउन सक्दैन ।’ मेलाको विवाद समाधान भएकाले मेलामा आर्थिक कारोबार गर्न आउने व्यापारी, श्रद्धालु भक्तजन सबैलाई निर्धक्क भएर मेलामा आउन उनले आग्रह गरे ।


पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी रामबाबुप्रसाद यादवले सहमतिपत्र पढेर सुनाउँदै नगरपालिकाले गठन गरेको मेला सञ्चालन समितिलाई निरन्तरता दिन सहमति भएको जानकारी दिए । महागढीमाई नगरपालिका वडा नं. १ का अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामै रहेको समितिमा विकास समितिले तोकेको व्यक्तिलाई थप्ने सहमति भएको उनले जनाए ।


सहमतिअनुसार नगरपालिकाले मनोनयन गरेको मेला समितिमा २ जना उपाध्यक्ष थप गर्ने र मनोनयन भएका ज्येष्ठ उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्ने सहमति भएको उनले बताए । समितिका अन्य पदाधीकारीमा एक/एक जना थप मनोनयन गर्ने सहमति पनि भएको छ । मेलाबाट उठेको रकम व्यवस्थापन गर्न कोष खडा गर्ने जसमा नगरपालिकाको तर्फबाट २ र समितिबाट २ सदस्य रहने र मनोनीत ४ जनाकै नामबाट अनिवार्य दस्तखत रहने गरी कोष खाता सञ्चालन गर्ने, गढीमाई मेला सञ्चालनबाट उठेको रकम गढीमाई क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने र उक्त रकम खर्च गर्दा कोष खाता सञ्चालकको सिफारिसअनुसार योजनाअनुरूप गर्ने सहमति भएको जनाइएको छ ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?