कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छठपछि कार्यक्षेत्र फर्किने हतारो

ओमप्रकाश ठाकुर

(सर्लाही) — तिहार र छठ पर्व मान्न घर आएकाहरू धमाधम कार्यक्षेत्र फर्किदै छन् । तिहार र छठ पर्वमा निकै चहलपहल देखिएको सर्लाहीको गाउँ बस्तीका स्थानीय कार्यक्षेत्र फर्किन थालेपछि गाउँ सुनसान बन्न थालेका छन् । गाउँबाट सहरतर्फ जानेको भीडभाड बढेपछि यातायातका साधनहरू पनि भरिभराउ हुन थालेको छ ।

जिल्लाका धेरैजसो गाउँ बस्तीका युवा तथा विद्यार्थीहरू पठनपाठन र रोजगारीको क्रममा सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाएका छन् । त्यसैले छठपछि गाउँबाट सहरतर्फ फर्कनेको लर्को लागेको स्थानीय रामपुकार साहले बताए । ‘यहाँ छठ पर्व विशेष महत्त्व र आस्थाका साथ मनाइन्छ, त्यसैले गाउँबाहिर रहेकाहरू जसरी पनि पर्व मान्न घर आइपुग्छन्,’ उनले भने, ‘छठमा भरिभराउ देखिएको गाउँका स्थानीय कार्यक्षेत्र फर्किनथालेपछि सुनसानजस्तै बन्न थालेको छ ।’


विभिन्न ठाउँमा पेसा व्यवसाय गरेकाहरूलाई छठ सकिएलगत्तै कार्यक्षेत्र फर्किन हतारो छ । वैदेशिक रोजगारीदेखि सरकारी जागिर भएकाहरू पनि धमाधम कार्यक्षेत्र फर्कंदै छन् । पहाडमा कर्मक्षेत्र बनाएका पिपरियाका नागेश्वर साह पनि परिवारसहित कर्मथलो फर्किने तयारीमा छन् । ‘वर्षमा एकचोटि मनाउने यो पर्व गाउँमै आएर मनाउँछु,’ साहले भने, ‘यो पर्वमा परिवारका अन्य सदस्यसहित इष्टमित्र पनि फर्किने हुनाले सबैसँग भेटघाट हुन्छ रमाइलो हुन्छ ।’ छठ पर्व मात्र नभएर भेटघाट हुने माध्यम पनि रहेको उनको बुझाइ छ । उनले गाउँ र परिवारका अन्य सदस्यसँगको भेटपछि आफूलाई तरोताजगी महसुस भएको बताए ।


यता छठको दुई दिन ठप्पजस्तै बनेको सदरमुकाम मलंगवासहित मुख्य बजार क्षेत्रको चहलपहल भने बढेको छ । व्यवसायी, विद्यार्थीलगायतकाहरू छठपछि मुख्य सहर फिरेका छन् । गाउँमा रमाइलो भए पनि पसल चलाउनकै लागि कर्मक्षेत्र फर्केको हरिवन बजारमा कपाल काट्ने सैलुन चलाउँदै आएका नागेश्वर ठाकुरले बताए ।


‘जन्मथलोमा छठ मनाएर कर्मथलोमा फर्किसके, छठ पर्वमा निकै रमाइलो भयो, सवैसंग भेटघाट पनि भयो,’ ठाकुरले भने, ‘केटाकेटीको पढाइसँगै आनो व्यापार पनि हेर्नुपर्ने भएकाले कार्मथलोमा फर्किसकेँ ।’ छठ सकिएपछि छठको प्रसाद सन्देश लिएर आफन्तकोमा जान पनि स्थानीयलाई भ्याइनभ्याई छ । यहाँका स्थानीय अहिले सन्देश लिएर आनो आफन्तकोमा पुगिरहेका छन् । छठको प्रसाद प्रत्येक वर्ष आफन्तको घरमा लिएर जाने गरेको हरिपुर नगरपालिका–३ का रामनरेश महतोले बताए । उनले छठ समाप्तिको सातासम्म आफन्तकोमा सन्देश लिएर जान भ्याइनभ्याई हुने गरेको बताए । ‘आफन्तले छठ पर्व मानुन्/नमानुन् प्रसाद लिएर जाने नै गर्छु,’ महतोले भने, ‘यो प्रसादले आफन्तसँग भेटघाट र अपनत्व बढाउँछ ।’


प्रकाशित : कार्तिक २०, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?