छठपछि कार्यक्षेत्र फर्किने हतारो

ओमप्रकाश ठाकुर

(सर्लाही) — तिहार र छठ पर्व मान्न घर आएकाहरू धमाधम कार्यक्षेत्र फर्किदै छन् । तिहार र छठ पर्वमा निकै चहलपहल देखिएको सर्लाहीको गाउँ बस्तीका स्थानीय कार्यक्षेत्र फर्किन थालेपछि गाउँ सुनसान बन्न थालेका छन् । गाउँबाट सहरतर्फ जानेको भीडभाड बढेपछि यातायातका साधनहरू पनि भरिभराउ हुन थालेको छ ।

जिल्लाका धेरैजसो गाउँ बस्तीका युवा तथा विद्यार्थीहरू पठनपाठन र रोजगारीको क्रममा सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाएका छन् । त्यसैले छठपछि गाउँबाट सहरतर्फ फर्कनेको लर्को लागेको स्थानीय रामपुकार साहले बताए । ‘यहाँ छठ पर्व विशेष महत्त्व र आस्थाका साथ मनाइन्छ, त्यसैले गाउँबाहिर रहेकाहरू जसरी पनि पर्व मान्न घर आइपुग्छन्,’ उनले भने, ‘छठमा भरिभराउ देखिएको गाउँका स्थानीय कार्यक्षेत्र फर्किनथालेपछि सुनसानजस्तै बन्न थालेको छ ।’

विभिन्न ठाउँमा पेसा व्यवसाय गरेकाहरूलाई छठ सकिएलगत्तै कार्यक्षेत्र फर्किन हतारो छ । वैदेशिक रोजगारीदेखि सरकारी जागिर भएकाहरू पनि धमाधम कार्यक्षेत्र फर्कंदै छन् । पहाडमा कर्मक्षेत्र बनाएका पिपरियाका नागेश्वर साह पनि परिवारसहित कर्मथलो फर्किने तयारीमा छन् । ‘वर्षमा एकचोटि मनाउने यो पर्व गाउँमै आएर मनाउँछु,’ साहले भने, ‘यो पर्वमा परिवारका अन्य सदस्यसहित इष्टमित्र पनि फर्किने हुनाले सबैसँग भेटघाट हुन्छ रमाइलो हुन्छ ।’ छठ पर्व मात्र नभएर भेटघाट हुने माध्यम पनि रहेको उनको बुझाइ छ । उनले गाउँ र परिवारका अन्य सदस्यसँगको भेटपछि आफूलाई तरोताजगी महसुस भएको बताए ।

यता छठको दुई दिन ठप्पजस्तै बनेको सदरमुकाम मलंगवासहित मुख्य बजार क्षेत्रको चहलपहल भने बढेको छ । व्यवसायी, विद्यार्थीलगायतकाहरू छठपछि मुख्य सहर फिरेका छन् । गाउँमा रमाइलो भए पनि पसल चलाउनकै लागि कर्मक्षेत्र फर्केको हरिवन बजारमा कपाल काट्ने सैलुन चलाउँदै आएका नागेश्वर ठाकुरले बताए ।

‘जन्मथलोमा छठ मनाएर कर्मथलोमा फर्किसके, छठ पर्वमा निकै रमाइलो भयो, सवैसंग भेटघाट पनि भयो,’ ठाकुरले भने, ‘केटाकेटीको पढाइसँगै आनो व्यापार पनि हेर्नुपर्ने भएकाले कार्मथलोमा फर्किसकेँ ।’ छठ सकिएपछि छठको प्रसाद सन्देश लिएर आफन्तकोमा जान पनि स्थानीयलाई भ्याइनभ्याई छ । यहाँका स्थानीय अहिले सन्देश लिएर आनो आफन्तकोमा पुगिरहेका छन् । छठको प्रसाद प्रत्येक वर्ष आफन्तको घरमा लिएर जाने गरेको हरिपुर नगरपालिका–३ का रामनरेश महतोले बताए । उनले छठ समाप्तिको सातासम्म आफन्तकोमा सन्देश लिएर जान भ्याइनभ्याई हुने गरेको बताए । ‘आफन्तले छठ पर्व मानुन्/नमानुन् प्रसाद लिएर जाने नैगर्छु,’ महतोले भने, ‘यो प्रसादले आफन्तसँग भेटघाट र अपनत्व बढाउँछ ।’

प्रकाशित : कार्तिक २०, २०७६ १०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अग्नि नियन्त्रकको हत्यामा भारतीय सुटर

कान्तिपुर संवाददाता

(पर्सा) — हत्या भएको ११ दिन बितिसक्दा पनि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको कार्यालयका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्यारा सार्वजनिक गरेको छैन । ४० बर्षिय चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगन्ज महानगरपालिका १६ स्थित नगवा पोखरीको डिलमा कात्तिक ८ फेला परेको थियो । हत्या त्यसको अघिल्लो दिन गरिएको थियो । 

प्रहरीले मृतकको पारिवारिक पक्षले दिएको सूचना आधारमा शुक्रबार वीरगन्ज गहवाका व्यवसायी दीपककिशोर अग्रवाल र उनकी पत्नी निधि अग्रवाललाई पक्राउ गरी सकेको छ । घटनामा संलग्न अन्यको खोजतलासका लागि प्रहरीले यत्तिको समय लगाई रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।

सीसीटीभी फुटेजको आधारमा अग्रवालको घरबाट चौरसियाको शव बोकेर निस्केका ४ जनाको खोजतलासको क्रममा प्रहरीले यत्ति समय लगाएको हो । अग्रवालको घर अघिल्तिरको मासु पसलमा रहेको सीसीटीभी क्यामेराको मद्दतले चौरसियाको शव गाडीका राखेर अन्यत्र लगिएको देखिएपछि प्रहरीले अग्रवाल दम्पतीलाई पक्राउ गरेको थियो । ‘भारतीय सार्प सुटर प्रयोग गरेर हत्या गरिएको अनुमान गरिएको छ, बाक्लो बस्तीको बीचमा रहेको घरमा गोली चल्दा पनि छिमेकीले समेत गोलीको आवाज नसुन्नुले हत्यामा पेसेवर सार्प सुटरको प्रयोग गरिएको अनुमान गरिएको हो,’ स्रोतले भन्यो, ‘फुटेजमा देखिएका चारै जना सुटर समूहका हुन् वा अन्य हुन् भनी खुल्न सकिरहेको छैन ।’

भारतीय प्रहरीसँग पनि यस हत्या काण्डबारे समन्वय गरी सुटर समूहको खोजी भइरहेको स्रोतले बतायो ।

चौरसिया हत्याकाण्डबारे प्रहरीले लामो समय मुख नखोल्दा यस काण्डबारे विभिन्नखाले चर्चा परिचर्चा तथा अड्कलबाजी चली रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम थापाले अझै पनि घटनाबारे सूक्ष्म अनुसन्धान भई नै रहेकाले धेरे कुरो बताइहाल्ने अवस्था नरहेको बताए । उनले पोस्टमार्टम रिपोर्ट आइसकेको र त्यसमा चौरसियालाई २ गोली लागेको उल्लेख छ ।

फेरि युवतीको हत्या
वीरगन्ज महानगरपालिकाको कार्यालयका अग्निनियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको डेढ साता नबित्दै जिल्लामा एक युवतीको हत्या भएको छ । हत्या गरिएकी युवती भारत बिहार बेतिया जिल्लाअन्तर्गत भंगाहा १० पञ्चायत घर भई पर्सा जिराभवानी गाउँपालिका ३ परसवा बस्दै आएकी १९ वर्षीया निबुकुमारी हजरा हुन् ।

उनको शव आइतबार साँझ करिब साढे ४ बजे जिराभवानी गाउँपालिका ५ ठूलो बाघमोर्चाको उत्तर पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा फेला परेको हो । बाख्रा गोठाला गएका स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डएिसपी गौतम थापाले मृतकको घाँटीमा घाउको दाग पाइएको बताएका छन् । शव परीक्षणका लागि सोमबार नारायणी अस्पताल वीरगन्ज पठाइएको छ । परीक्षण रिपोर्ट आएपछि धेरै कुरो खुल्ने उनले बताए । मृतकका पति रामबाबु पासवानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए । मृतकबारे धेरै जानकारी पतिबाटै आउने भएकाले उनलाई सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए । तत्कालै हत्यामा उनको संलग्नता रहे नरहेको बारे भनिहाल्न नसकिने थापाले बताए । रामबाबुसँग सोधपुछसँगै घटनाबारे अनुसन्धान पनि भइरहेको उनले बताए ।

स्थानीयले भने मृतक निबु र उनका पति आइतबार बिहान मोटरसाइकल चढेर डेराबाट निस्केको र त्यसपछि निबु बेपत्ता भएको बताएका छन् । पछि रामबाबुले पत्नी हराएको भनी उनका माइती पक्षलाई बोलाएका थिए । रामबाबु र निबुका माइती पक्षसमेत भई आसपासका गाउँहरूमा निबुको खोजी गर्दा पनि उनी कतै फेला परेकी थिइनन् । अग्नी नियन्त्रकको हत्यारा प्रहरीले अझै सार्वजनिक गर्न नसकिरहेको अवस्थामा जिल्लामा थप एउटा हत्याको घटना भएपछि जिल्लावासीमा त्रासको माहोल छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT