कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अग्नि नियन्त्रकको हत्यामा भारतीय सुटर

कान्तिपुर संवाददाता

(पर्सा) — हत्या भएको ११ दिन बितिसक्दा पनि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको कार्यालयका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्यारा सार्वजनिक गरेको छैन । ४० बर्षिय चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगन्ज महानगरपालिका १६ स्थित नगवा पोखरीको डिलमा कात्तिक ८ फेला परेको थियो । हत्या त्यसको अघिल्लो दिन गरिएको थियो । 

प्रहरीले मृतकको पारिवारिक पक्षले दिएको सूचना आधारमा शुक्रबार वीरगन्ज गहवाका व्यवसायी दीपककिशोर अग्रवाल र उनकी पत्नी निधि अग्रवाललाई पक्राउ गरी सकेको छ । घटनामा संलग्न अन्यको खोजतलासका लागि प्रहरीले यत्तिको समय लगाई रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।


सीसीटीभी फुटेजको आधारमा अग्रवालको घरबाट चौरसियाको शव बोकेर निस्केका ४ जनाको खोजतलासको क्रममा प्रहरीले यत्ति समय लगाएको हो । अग्रवालको घर अघिल्तिरको मासु पसलमा रहेको सीसीटीभी क्यामेराको मद्दतले चौरसियाको शव गाडीका राखेर अन्यत्र लगिएको देखिएपछि प्रहरीले अग्रवाल दम्पतीलाई पक्राउ गरेको थियो । ‘भारतीय सार्प सुटर प्रयोग गरेर हत्या गरिएको अनुमान गरिएको छ, बाक्लो बस्तीको बीचमा रहेको घरमा गोली चल्दा पनि छिमेकीले समेत गोलीको आवाज नसुन्नुले हत्यामा पेसेवर सार्प सुटरको प्रयोग गरिएको अनुमान गरिएको हो,’ स्रोतले भन्यो, ‘फुटेजमा देखिएका चारै जना सुटर समूहका हुन् वा अन्य हुन् भनी खुल्न सकिरहेको छैन ।’


भारतीय प्रहरीसँग पनि यस हत्या काण्डबारे समन्वय गरी सुटर समूहको खोजी भइरहेको स्रोतले बतायो ।


चौरसिया हत्याकाण्डबारे प्रहरीले लामो समय मुख नखोल्दा यस काण्डबारे विभिन्नखाले चर्चा परिचर्चा तथा अड्कलबाजी चली रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम थापाले अझै पनि घटनाबारे सूक्ष्म अनुसन्धान भई नै रहेकाले धेरे कुरो बताइहाल्ने अवस्था नरहेको बताए । उनले पोस्टमार्टम रिपोर्ट आइसकेको र त्यसमा चौरसियालाई २ गोली लागेको उल्लेख छ ।


फेरि युवतीको हत्या

वीरगन्ज महानगरपालिकाको कार्यालयका अग्निनियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको डेढ साता नबित्दै जिल्लामा एक युवतीको हत्या भएको छ । हत्या गरिएकी युवती भारत बिहार बेतिया जिल्लाअन्तर्गत भंगाहा १० पञ्चायत घर भई पर्सा जिराभवानी गाउँपालिका ३ परसवा बस्दै आएकी १९ वर्षीया निबुकुमारी हजरा हुन् ।


उनको शव आइतबार साँझ करिब साढे ४ बजे जिराभवानी गाउँपालिका ५ ठूलो बाघमोर्चाको उत्तर पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा फेला परेको हो । बाख्रा गोठाला गएका स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए ।


जिल्ला प्रहरी कार्यालयका डएिसपी गौतम थापाले मृतकको घाँटीमा घाउको दाग पाइएको बताएका छन् । शव परीक्षणका लागि सोमबार नारायणी अस्पताल वीरगन्ज पठाइएको छ । परीक्षण रिपोर्ट आएपछि धेरै कुरो खुल्ने उनले बताए । मृतकका पति रामबाबु पासवानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए । मृतकबारे धेरै जानकारी पतिबाटै आउने भएकाले उनलाई सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए । तत्कालै हत्यामा उनको संलग्नता रहे नरहेको बारे भनिहाल्न नसकिने थापाले बताए । रामबाबुसँग सोधपुछसँगै घटनाबारे अनुसन्धान पनि भइरहेको उनले बताए ।


स्थानीयले भने मृतक निबु र उनका पति आइतबार बिहान मोटरसाइकल चढेर डेराबाट निस्केको र त्यसपछि निबु बेपत्ता भएको बताएका छन् । पछि रामबाबुले पत्नी हराएको भनी उनका माइती पक्षलाई बोलाएका थिए । रामबाबु र निबुका माइती पक्षसमेत भई आसपासका गाउँहरूमा निबुको खोजी गर्दा पनि उनी कतै फेला परेकी थिइनन् । अग्नी नियन्त्रकको हत्यारा प्रहरीले अझै सार्वजनिक गर्न नसकिरहेको अवस्थामा जिल्लामा थप एउटा हत्याको घटना भएपछि जिल्लावासीमा त्रासको माहोल छ ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?