कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पार्टीको चुनाव गर्न स्वास्थ्य चौकी बन्द

अवधेशकुमार झा

(राजविराज) — पार्टीको आन्तरिक निर्वाचनका लागि स्वास्थ्यचौकी र वडा कार्यालय बन्द गरिएको छ । सप्तरीको महदेवा गाउँपालिका–२ स्थित वडा कार्यालय र स्वास्थ्यचौकी बन्द गरी सोमबार समाजवादी पार्टीको वडा नेतृत्व चयन गर्न निर्वाचन गरिएको हो । 

पार्टीको चुनाव गर्न स्वास्थ्य चौकी बन्द

जनप्रतिनिधिको निर्वाचनकै झल्को दिने गरी समाजवादी पार्टी महदेवा गाउँपालिका २ को संयोजक पदका लागि निर्वाचन भएको हो । निर्वाचनमा संयोजक पदका उम्मेदवारहरू १५ दिनयता भड्किलो प्रचारमा व्यस्त देखिएका थिए । कुल २ सय ८८ जना मतदाता रहेको उक्त पार्टीको वडा निर्वाचनका लागि स्वास्थ्यचौकी बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष दीपककुमार यादव आफैं उपस्थित रहेको उक्त निर्वाचनका बेला सोमबार बिहान १० बजे वडासचिव लक्ष्मी पैकरा कार्यालय आएका थिए । गाउँपालिका अध्यक्ष यादवले वडा कार्यालयमा समाजवादी पार्टीको वडा तहको निर्वाचन गर्ने भन्दै कार्यालय बाहिरैबाट काम गर्न निर्देशन दिएपछि वडासचिव पैकरा कार्यालयनजिकै धानखेतको डिलमा बसेर काम गरेका थिए । ‘गाउँपालिका अध्यक्षको निर्देशन छ, नमानी हुँदैन, तर वडा कार्यालय बाहिर खेतको डिलमा काम गर्नुपर्दा अप्ठ्यारो भयो,’ पैकराले भने ।


स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीलाई बिनाजानकारी कार्यालय कब्जा गरेर निर्वाचन थालिएपछि उनीहरू घर फर्किएका थिए ।


‘सोमबार बिहानसम्म हामीलाई कुनै जानकारी छैन । १० बजे कार्यालय खोल्न पुग्दा प्रहरीले कार्यालयमा प्रवेश गर्न दिइए,’ स्वास्थ्यचौकी प्रमुख चन्दनकुमार रजकले भने, ‘चुनाव भइरहेको छ, माथिको आदेशमा सुरक्षा दिएका छौं भन्दै प्रहरीले चौकीभित्र छिर्न पनि दिएन, कुर्सी र औषधि पनि बाहिर निकालेर सेवा गर्न दिएन । स्वास्थ्यजस्तो संवेदनशील संस्था बन्द गराएर एउटा पार्टीको चुनाव गराउनु कुनै पनि हिसाबले उचित होइन ।’


स्वास्थ्यचौकी र वडा कार्यालय बन्द गरेर भइरहेको निर्वाचनका लागि प्रहरीको कडा सुरक्षा रहेको थियो । तर निर्वाचन भइरहँदा निर्वाचनस्थलमा स्वास्थ्यचौकी बन्द छ भनेर प्रहरीले थाहा पाउनै सकेन ।


‘हामीले त निर्वाचन सुरक्षार्थ मात्र प्रहरी पठाएका हौं, स्वास्थ्यचौकी नै बन्द भयो भनेर थाहा पाएनौं,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले भने । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले स्वास्थ्यचौकी र वडा कार्यालय नै बन्द गरेर पार्टीको चुनाव गर्न नमिल्ने बताए । महदेवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगदीश मण्डलले वडा कार्यालय र स्वास्थ्यचौकीको काम प्रभावित गर्ने गरी पार्टीको चुनाव गर्नु उचित नभएको बताए । ‘स्वास्थ्यचौकी र वडा कार्यालयको कामै प्रभावित गर्ने गरी एउटा पार्टीको निर्वाचन गर्नु उचित होइन,’ वडाध्यक्ष मण्डलले भने, ‘तर के गर्ने गाउँपालिका अध्यक्ष आफैं उपस्थित भएर निर्देशन दिएपछि कर्मचारी बाहिरै बसेर वडा कार्यालयको काम गरे ।’


गाउँपालिका अध्यक्ष दीपककुमारले समाजवादी पार्टीको वडा तहको निर्वाचनका लागि महदेवा गाउँपालिका वडा नम्बर २ को कार्यालय र स्वास्थ्यचौकीको कामकाज प्रभावित भएको स्वीकारे । उनले भने, ‘वडा कार्यालयमा पो चुनाव भइरहेको छ, बाहिर चौरमा वडासचिवले त सेवा दिएकै छन् नि ।’


प्रकाशित : कार्तिक २०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?