१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठेक्का लाग्छन्, बन्दैनन् पुल

निर्माण अवधि समाप्त भएर समय थप भएका र नभएका गरी करिब १ दर्जन पुल निर्माण कम्पनीको लापरबाहीका कारण अधुरै
शिव पुरी

(रौतहट) — जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पुल समयमा नबन्दा स्थानीय सास्ती भोग्नु परेको छ । बागमतीको बडहर्वा, समनपुर, चन्द्रपुरको चाँदी र लालबकैयाको टिकुलिया घाटमा निर्माणका क्रममा रहेको पुलको सम्झौता अनुसार ठेकेदारले समयमा काम नसकेकाले स्थानीयलाई समस्या परेको हो । 

ठेक्का लाग्छन्, बन्दैनन् पुल

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का लगाएको चाँदी नदी पुलको सम्झौता तीन वर्षमा सक्ने थियो । विभिन्न बाहना बनाएर ठेकेदार कम्पनीले काम गरेन । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले यस पुलको ठेक्काको आधा हिस्सा पाएको छ । यो मात्र होइन जिल्लाभरिका झन्डै एक दर्जन पुलको सम्झौता गरेको समय सकिएर बसेका छन् ।


चन्द्रपुर बजार र गैडाटारको ३ नम्बर वडालाई जोड्ने पुलको २०७६ असार ३१ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ असार ३१ गते सक्नु पर्नेमा अहिले सम्म ४२ प्रतिशतमात्र काम भएको छ । स्थानीय शिवशंकर र पप्पु कन्स्ट्रक्सन जेभीले ठेक्का नम्बर ५३ को २५ करोड ३६ लाखमा २४ हजारमा सकार गरेको थियो । समयमा पुलको काम सकेको भए पारी गैडाटार गाउँका स्थानीयलाई आवत–जावतमा सुविधा हुन्थ्यो । वर्षाका बेला वारपार गर्न कठिन हुँदै आएका स्थानीयले अहिलेसम्म पुल देख्नै पाएका छैनन् । पुलको म्याद सकिएको ३ महिना बिते पनि थप भएको छैन । समय गुज्रिसक्दा पनि पुल निर्माणको कामले गति लिन सकेको छैन । ठेकेदार कम्पनीका सञ्चालक दयाराम साहले बजेट, वर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणको बाहना बनाई म्याथ थप्न निवेदन दिएका छन् । ‘भनेका बेला समान पाइँदैन,’ उनले भने, ‘विभिन्न आन्तरिक समस्याले पनि समयमा काम सक्न दिएन । वर्षाका बेला बाढीले फिटिक्कै काम हुँदैन ।’ १० वटा पिलरको ११ वटा स्पान राख्नु पर्ने कामको ठेकेदारले कामै सकेको छैन ।


गौर नगरपालिका ४ स्थित टिकुलिया घाटको पुलको अवस्था झन खराब छ । ठेकेदारले निर्माणको काम छाडेर हिँडेको चार वर्षको अवधिमा ६५ प्रतिशत पुलको सम्पन्न गरेको छ । पुल समयमा बन्न नसकेपछि यस क्षेत्रको लाइफलाइन अस्तव्यस्त छ । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्षभित्र निर्माण पूरा गर्ने लिखित रूपमा २०७१ असार २९ मा पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कात्तिक २९ गते शिलान्यास गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा निर्माणको काम सम्पन्न हुनुपर्थ्यो । ठेकेदारले निर्माणकै अवधिमा काम छाडेर गए पछि पुल अलपत्र पर्‍यो । त्यही बीच गत भदौ ९ गते घाँस काट्न, खेतमा काम गर्न गएका र पर्व मनाउन आएकाहरू चढेको डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गयो । २४ जनाले पौडिएर ज्यान जोगाए । पुलकै कारण स्थानीयले मानवीय क्षति ब्यहोरे । अहिले डुगांले वारपार गराउँदै आएको छ ।


घटनापछि निर्माणको काम थाल्न चोतर्फी दबाब खेपेको पप्पुले चाडै सक्ने मौखिक प्रतिबद्धता जनायो । अहिले उस्तै अवस्था रहेको वडा अध्यक्ष भूवनेश्वर शाहीले बताए । ‘सम्बन्धित निकायले ठेकेदारलाई कारबाही गर्न आनीकानी गरेको अवस्था हो यो,’ उनले भने, ‘सरकारले यस्तो निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्छ ।’ सडक डिभिजन चन्द्रनिगाहपुरले जिल्ला भित्र ठेक्का लगाएको एक दर्जनभन्दा बढी पुलको सम्झौताको समय सकिएको छ । ठेकेदारले समयमा पुल सम्पन्न नगर्दा समस्या हुने गरेको डिभिजन कार्यालयले जनायो । निर्माण सामग्री, वर्षा लगायत विभिन्न कारण देखाएर ठेकेदारले म्याद थपका लागि निवेदन दिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर मदनमोहनकुमार सिंहले बताए । ‘बजेटको अभाव लगायतका विभिन्न समस्या परेरै काम नसकेको होला,’ उनले भने, ‘जिल्ला भित्रका धेरै पुलहरू समयमा सम्पन्न हुन नसकेर म्याद थपको प्रक्रियामा छ ।’ सूचना अधिकारी सिंहका अनुसार जिल्लाको प्रतापुर पलटुवा, राजपुर तुल्सी, झाझनदि, पिपरिया र कोठियारमा निर्माण हुँदै गरेको पुलको सम्झौताको समय सकिएर बसेको छ । झन्डै १४ वटा पुल मध्ये १० भन्दा बढीको म्याद सकिएको हो ।


ठेकेदारले समयमा निर्माण सम्पन्न नगर्दा स्थानीयको आक्रोश बढ्दो छ । दुर्गा भगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सीमाक्षेत्रको बडहर्वा नजिक वागमती नदीमा निर्माणाधीन पुलको काम ५ वर्षदेखि बन्द छ । नदीले धार परिवर्तन गरेपछि निर्माणको काम बन्द भएको हो । सम्झौता भएको ८ वर्ष बिते पनि सम्पन्न हुन नसकेर अधुरो पुल अलपत्र अवस्थामा छ । हुलाकी राजमार्ग अन्तर्गतको तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजना अन्तर्गत नदीको पुल लामो समयदेखि अलपत्र अवस्थामा छ । समयमा निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई वर्षा याममा जोखिम मोलेर वारिपारि गर्न डुंगाको भर पर्नुपर्छ ।


पुलको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको हो । ठेक्का लुम्बिनीले सकारे पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो । ठेक्का सकार गर्ने बेला पप्पुको कम्पनी कालो सूचीमा परेको थियो । उसले लम्बिनीको नाममा ठेक्का सकारेर काम थालेको हो । पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक रौनियारले सडक विभागसँग २०६७ जेठ ३१ गते लिखित रूपमा हस्ताक्षर गर्दै २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेका थिए ।


निर्माण हुने पुलको लम्बाई ६३३ मिटर र चौडाई डबल लेन्थको छ । पुलमा १७ स्पान सहितको सम्झौता भएको थियो । अहिले १७ वटैको काम सकिएको छ । हुलाकी सडकका अनुसार अहिलेसम्म ६० प्रतिशतको हाराहारीमा काम सकिएको पुल महाशाखाले जनायो । यता गढिमाई नगरपालिका अन्तर्गत समनपुर घाटमा गढिमाई र सर्लाहीको बरहथवा नगरपालिका जोड्ने वागमती नदीको पुलको निर्माणको कामको सम्झौताको समय सकिएको छ । निर्माणकै क्रममा रहेको बेला बाढीले ३ र ४ नम्बर पिलर जोड्ने पुलको तीन वटा स्लेब बगाएर क्षति पुर्‍याएको थियो । पुल निर्माणको सूर्य एसबीएस एलाइट कम्पनीले ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका थिए । पुल निर्माण कम्पनीले तोकिएको समय अवधिमा निर्माण गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले दुई पटक म्याद थप गरिसकेको छ । अन्तिम पटक म्याद थप गर्दा असारमै निर्माण सम्पन्न गर्ने थियो तर सकेन ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?