छठले रङ्गियो मधेस

पहाडी समुदायमा पनि सूर्य उपासनाको मौलिक लोकपर्वप्रति आस्था बढ्दो छ । वैदिक मन्त्र उच्चारण नगरिने छठमा जातीय सदभावको अनुपम नमुना पाइन्छ ।
प्रदेश ब्युरो

(जनकपुर) — छठ पर्वका लागि गाउँ गाउँका जलाशय सजाउने काम तीव्र छ । गाउँ ठाउँमा रहेका नदी, पोखरीलाई सरसफाइ गर्दै पण्डाल बनाउने काममा स्थानीय जुटेका छन् । षष्ठीको बेलुकादेखि जलाशयमा सजाइएका घाटमा विभिन्न किसिमका पकवान राखेर छठी माताको पूजा गरिन्छ । 

छठले रङ्गियो मधेस

कतिपय घाटमा छठी माताको प्रतिमा पनि बनाउने काम भइरहेको छ । कतै स्थानीय तहले नै यो पर्वका लागि पण्डाल र मूर्ति बनाउन खटाएका छन् भने अधिकांश गाउँका स्थानीय घरघरबाट पैसा संकलन गरेर पूजाका लागि पण्डाल बनाउने काममा जुटेका छन् ।


पर्वमा थप उत्साह थप्नका लागि कतै सामूहिक रूपमा रकम जम्मा गरी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय नदी तथा पोखरी लगायतका जलाशयमा षष्ठीको बेलुकादेखि सप्तमीको बिहानसम्म पूजा गर्ने व्यवस्था मिलाइएको छ । कविलासी नगरपालिका–१ पिपरियाका महन्थ रायले भने, ‘रातभरिको पूजासँगै धार्मिक र साँस्कृतिक कार्यक्रम गरी छठलाई रोमाञ्चक बनाउने तयारीमा छौं ।’ तराईका दक्षिणी क्षेत्रमा मात्रै मान्ने परम्परा रहेको यो पर्व पछिल्लो समय उत्तरी क्षेत्रका पहाडी समुदायले समेत निष्ठा पूर्वक मान्न थालेका छन् । छठी माताप्रतिको आस्थाका कारण वर्षौंदखि यो पर्व मान्ने गरेको हरिवनका स्थानीय अच्युतकुमार सापकोटाले बताए । उनले भने, ‘हाम्रो गाउँतिर पनि छठ पर्व मान्नेको संख्या दिनप्रतिदिन बढ्दै छ ।’ छठ घाटको पण्डाल बनाउने कामसँगै गाउँ गाउँमा चहल पहल पनि बढेको छ ।


छठ घाटमा भएका साँस्कृतिक कार्यक्रम र सजाइएका छठी माताका मूर्तिले रौनकता थपेको छ । सबै जातजातिका मानिसहरू एकै ठाउँमा अटाउने यो पर्व सामाजिक सदभावको नमुना बन्ने गरेको छ । अन्य दिन पानी नचल्नेसँग पनि स्थानीय एकै ठाउँमा पुजाआजा गर्छन् । ‘चेतनाको कमीले अहिले पनि ग्रामीण क्षेत्रका अन्य पूजामा स्थानीय छुवाछूत मान्छन्, तर यो पर्व यस्तो हो जो परा पूर्वकालदेखि हरेक जातजाति र समुदायका मानिस एक ठाउँमा अटाउँछन्,’ स्थनीय अरुणकुमार झाले भने ।


छठ पुजाका दिन जलाशयमा गाउँभरिका स्थानीय जम्मा हुन्छन् । यस दिन व्रतालु महिलाले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभरि पूजापाठमा व्यस्त हुन्छन् । बिहानको उदाउँदो सूर्यलाइ अर्घ्य दिएपछि छठ पर्व समापन हुने गर्छ । यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले यहाँका युवालाई अनुशासनमा बाँध्न सहयोग पुगाएको छ । बिहीबारदेखि छठ पर्व सुरु भएसँगै यहाँका गाउँ ठाउँका बजारमा मदिरा र मासुमा रोक लगाइएको छ ।


धुमधाम खरना

बिहीबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुले शुक्रबार ‘खरना’ विधि मनाए । ‘रस्याउ रोटी’ नामले समेत चर्चित यो विधिमा व्रतालुले शुक्रबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।


रस्याउ रोटीलाई प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खान बोलाइन्छ । यसका लागि अग्रिम निम्तो दिने चलन छ । रस्याउ रोटीका निम्तालुले यस दिन मासुमाछा जस्ता तामसिक भोजन गर्दैनन् । यस वर्ष समेत गरी चौथो वर्ष निरन्तर छठ व्रत लिइरहेकी छतवा बरैनियाकी सुगान्धी कुशवाहाका अनुसार शुक्रबार साँझ रस्याउ रोटी खाएका व्रतालुले यसैको भरमा शनिबार दिनभरि निर्जल/निराहार व्रत बस्ने छन् । शनिबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरू घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशयमा निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् ।


नयाँनयाँ वस्त्र लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पुजा सामग्रीहरू राखिएका बाँसका छैंठी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । छठ घाटमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पूजा सामग्रीको अर्घ्य दिने छन् । त्यसपछि उनीहरू घण्टौं घाटमा बसेर पूजा अर्चनामा लीन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजा गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालु भने रातभरि भजनकिर्तन गर्छन् । व्रतालुले आइतबार बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ्य दिएर व्रत विधिवत सम्पन्न गर्नेछन् ।


व्रतालुका घरघरमा शुक्रबार दिनभरि तथा साँझमा समेत यो पर्वमा चढाइने विशेष किसिमको पिठोको ठेकुवा पकाइँदै छ । यस काममा व्रतालु तथा तिनका परिवारका सदस्य व्यस्त रहनेछन् । यसरी प्रसाद पकाउँदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ ।


छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली आदिका घाट बेहुली झैं सिंगारिएका छन् । जिल्लाको ग्रामीण भेकका पनि सबै जसो गाउँमा छठ घाट तयार पारिएका छन् । वीरगन्ज त्यसमा पनि घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले बर्सेनि राष्ट्रव्यापी चर्चा पाउने गरेको छ ।


वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले सदरमुकाम वीरगन्ज र आसपासका गाउँका विभिन्न छठ घाटको स्थलगत निरीक्षण गरेर त्यहाँको व्यवस्थापन तथा सुरक्षा आदि विषयमा जानकारी समेत लिइरहेका छन् । वीरगन्ज बजार तथा जिल्लाका अन्य ग्रामीण हाटहरूमा पनि छठ पर्वको सामग्री किनमेल गर्नेको बाक्लो भीड लागेको छ । कपडा पसलहरूमा पनि नयाँ कपडा किनमेल गर्नेको भीड बढेको छ ।


‘उगह हे सुरुजदेव...’

‘उगह हे सुरुजदेव अर्घ्यक बेर...’ पूर्वी आकाश रताम्मै भए पनि सूर्यको दर्शन सम्भव भइरहेको हुँदैन । त्यहीबेला दुई दिनदेखि निराहार व्रत बसेकी ब्रतालु मधुरो स्वरमा यो गीत गुनगुनाउँछिन् । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गर्नुअघि व्रतालुले यो चर्चित गीत गाउँछिन् ।


सूर्यको प्रतीक्षाको यो समय निकै कौतुहलतापूर्ण हुन्छ । महिलाहरू ठट्टा गर्दै सूर्यसँग जिस्किन्छन् । ‘ससुराली गएका सुरुज भगवान्लाई आउँन ढिला भइहाल्छ नि ।’ ससुराली गएको कारण छठ पूजाको दिन सूर्य ढिलो उदाउँने गरेको किंवदन्ती छ । यस गीतमा यस्तै भाव अभिव्यक्त छ ।


छठ पूजाको अवसरमा जनकपुरको गंगासागर, धनुषसागर, महाराजसर, रुकमिनीसर, लगाययत पवित्र जलासयमा उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गर्ने वेला यो र यस्तै गीत गाइन्छ ।


व्रतालुहरू गीत संगीतको सुरमा भोक–प्यास बिर्सिने प्रयास गरिरहेका हुन्छन् । अर्कोतर्फ श्रद्धालुहरू पूजा सामग्रीमाथि दूध अर्पण गरिरहेका हुन्छन् । चार दिनसम्म मनाइने छठपर्वको क्रममा कात्तिक शुक्ल षष्ठी र सप्तमीको तिथि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । षष्ठीको दिन अस्ताउँदो र सप्तमीको दिन उदाउँदो सूर्यको पूजा गरिन्छ ।


संसारभरि उदाउँदो सूर्यलाई मात्र पूजा गर्ने परम्परा रहे पनि छठमा भने अस्ताउँदो सूर्यलाई समेत धूमधामका साथ पूजा गर्ने चलन छ । संस्कृतिविद परमेश्वर कापडी यस परम्परालाई मिथिलाको मौलिक परम्परा मान्छन् । ‘आफ्ना आमा–बूबा तथा पुर्खालाई स्मरण गर्ने मनोविज्ञान यस परम्परामा निहित हुन्छ,’ कापडीले भने ।


व्रती महिला पुरुष छठी मैयालाई ठकुवा, भुसवा, नरिवल, केला, पान, सुपारीसहितका परिकार अर्पण गरिरहँदा घाटमा उभिएका सर्वसाधारण रमाइलो मान्छन् । गंगासागर र धनुषसागरमा पक्की घाट निर्माण गरिएकाले पूजा स्थल फराकिलो बनेको छ । तर, बढ्दो सहरीकरणका तथा तेलहा, मरहा, देवान र जनक सरोवरलगायतका महत्त्वपूर्ण पोखरीहरू अतिक्रमण हुँदा पूजा घाटको आभाव छ ।


जनकपुरधाम १ का व्रती राजेन्द्र भगतले भने, ‘गंगासागरमा पक्की घाट निर्माण तथा पानी सफाई अभियान सराहनीय हो । तर, अतिक्रमणमा परेका पोखरीहरूलाई अतिक्रमण मुक्त गर्न सके श्रद्धालुहरूलाई अझ सुविधा हुने थियो ।’ राजनीतिक दलका नेताहरू पोखरीको घाटमा पुगेर सदभाव साटासाट गर्छन् ।


छठ पर्वको पहिलो दिन व्रती महिला पुरुष पवित्र जलासयमा स्नान गरी चोखो खानेकुरा मात्र खान्छन् । जसलाई नहायखाय भनिन्छ । दोस्रो दिन दिनभरि उपवास बसी साँझ गुलियो रोटी र खिर खान्छन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरेर मात्र व्रत समापन गर्छन् ।


पति सुख, सम्वृद्धि, सन्तान प्राप्ति तथा कुष्टजस्ता रोगबाट मुक्ति हुने विश्वासका साथ छठ पर्व मनाइने गरेको पण्डित व्रजनन्दन झाले बताए । झाका अनुसार अज्ञात बासको सफलताका लागि महाभारतकालमा द्रोपदीले सूर्य पूजा गरेकी थिइन् ।


मिथिलाञ्चलमा प्रचलित पर्व त्योहारमध्ये छठ, जितिया, सामाचकेवा लोक पर्व हुन् । जसमा वैदिक मन्त्र उच्चारण गर्नुपर्दैन । यी पर्व– त्योहारको मुख्य मन्त्र भने लोकगीत नै हुन्छ । छठ पर्वको तयारी सुरु भएदेखि नै गीत गाउने चलन छ ।


‘केरा जे फरल घउद स, ओहिपर सुगा मडराय ।

मारबौ रे सुगवा धनुष स, सुगा गिरे मुरझाय ।।’


पूजा प्रयोजनका लागि बारीमा फलेको केरा जोगाउन श्रद्धालुहरू गाउँने गर्छन् । खानेकुरा बनाउन पिठो बनाउनेदेखि पकवान पकाउने बेला पनि गीत गाइरहन्छन् । पूजा सामग्री घाटसम्म पुर्‍याउने बेला पनि गीत गाउने चलन छ ।

तर, पछिल्लोसमय पूजा घाटमा छठ गीत अलि कम सुनिन थालिएको छ । मौलिक गीतको स्थानमा रेकडिङ गीत सुनिन थालेको छ । मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष सुनिल मल्लिक मौलिक गीत गायन परम्परामा ह्रास आउनुलाई ‘सांस्कृतिक संकट’को संज्ञा दिन्छन् ।



प्रकाशित : कार्तिक १६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?