कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चाडबाडमा घर फर्कनेको लर्को

ओमप्रकाश ठाकुर

सर्लाही — भारत तथा मुलुकका विभिन्न सहरमा मजदुरीका लागि गएकाहरू तिहार र छठ पर्व मनाउन धमाधम घर फर्किन थालेका छन्  । यसले गाउँ र घरपरिवारको माहोल रमाइलो बन्नुका साथै चहलपहल बढेको छ  ।

चाडपर्व मान्नका लागि घर फर्कन थालेपछि सवारीसाधन खचाखच भरिएर आउन थालेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश पुरुषहरू रोजगारीका लागि भारत तथा मुलुकका विभिन्न सहरमा जाने गर्छन् । महिनौं काम गरेपछि उनीहरू लक्ष्मीपूजा तथा छठमा घर फर्किन्छन् । लक्ष्मीपूजा र छठ पर्व मान्न गाउँका साथीभाइसँगै पञ्जाबबाट फर्किएको फूलपरासीका दिनेश रायले बताए । उनीसहित सात जनाको समूह शनिबार घर फर्किए ।

छठ पर्व सकिएपछि पाकेको धान काटेर फेरि पञ्जाब फर्किने उनले योजना सुनाए । उनले यो समय गाउँका साथीभाइसँग दुःखसुख साट्ने अवसर पनि रहेको बताए । ‘गाउँमा जमघट हुने मुख्य समय यही हो, छठ पर्वमा गाउँका अधिकांश फर्किन्छन्, यो बेला दुःखसुखका कुरा हुन्छ,’ उनले भने, ‘वर्षभरिको दुःख बिर्संदै छठ मानेर पाकेको धान काटेर फेरि रोजगारीका लगि फर्किन्छु ।’

६ महिनाअघि भारतको कोलकाता गएका ब्रह्मपुरीका सोनेलाल साह काम छाडेर भए पनि लक्ष्मीपूजा र छठ मान्न घर आइपुगेका छन् । उनले तत्काल फेरि फर्कने योजना नरहेको सुनाए । छ महिना निरन्तर काम गरेका उनलाई लक्ष्मीपूजा तथा छठमा साहूले बिदा दिन नमानेकाले उनले जागिर छाडेर भए पनि घर फर्केको बताए । ‘काम गरेको ठाउँबाट घर आउँदा जाँदाको सास्ती हुन्छ, त्यही भएर छ महिनामा फर्किनँ,’ उनले भने, ‘मुख्य चाडमा साहूले बिदा नदिएकाले म जागिर नै छाडेर गाउँ फर्कें ।’ उनले गाउँ फर्किएका अन्य साथीभाइको सहयोगमा नयाँ सहर गएर अर्को जागिर खोज्ने योजना रहेको बताए ।

असारको सुरुमै चितवनमा मजदुरीका लागि गएका हरिपुरका सञ्जय सिंह पनि तिहार र छठ पर्व मान्न घर फर्केका छन् । मजदुरी जीवनबाट समय निकालेर तिहार तथा छठमा घर आउँदा खुसी लाग्ने गरेको उनले बताए । ‘तिहार र छठमा घर नआई मन नै मान्दैन, घर आएपछि साथीभाइ, इष्टमित्रसँग भेट हुन्छ, रमाइलो हुन्छ,’ उनले भने ।’

सिंहलाई मुख्य चाडपर्वका बेला बजार भाउ महँगो हुँदा चिन्ता लागेको छ । ‘मजदुरी गरेर ल्याएको पैसामध्ये केही पैसा साहूलाई तिरें, बाँकी रहेको पैसाले किनमेल गर्न गाह्रो छ, तिहार र छठका लागि चाहिने सामानको मूल्य छोइनसक्नु छ,’ उनले भने, ‘जे भए पनि सुख दुःख भएर पनि तिहार र छठ मनाउने योजना बनाएको छु ।’ उनले गरिबीले चाड मान्न निकै सकस हुने गरेको बताए ।
अशिक्षा, गरिबी र बेरोजगारी समस्याका कारण स्थानीयलाई मजदुरी गर्न बाहिर जानुपर्ने बाध्यता छ ।

प्रकाशित : कार्तिक १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?