३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खोला एकातिर, पुल अर्कातिर

भरत जर्घामगर

सिरहा — तराई–मधेस विकासको मेरुदण्ड हुलाकी सडकको सिरहा खण्ड बरियारपट्टीमा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुई वर्षअघि शिलान्यास गर्दा स्थानीय हर्षित भएका थिए  । तर ०७४ चैत ६ मा गरिएको शिलान्यासपछि काम अगाडि नबढ्ना स्थानीय निराश बनेका छन्  ।

खोला एकातिर, पुल अर्कातिर

त्यसो त विस १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी र जुद्धशमशेर, पद्मशमशेर हुँदै बिभिन्न कालखण्डमा पटक पटक शिलान्यास भए पनि अधुरो छाडिएको यो मार्ग बन्नेमा यस क्षेत्रका वृद्धवृद्धा र स्थानीय ढुक्क थिएनन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित नेकपाका अध्यक्ष दाहालबाट मार्गको शिलान्यास हुँदा हुलाकी मार्ग बन्नेमा स्थानीय भने ढुक्क थिए ।

शिलान्यास भएको दुई वर्ष भईसक्दा पनि मार्ग निर्माण भएको छैन । हाल शिलान्यास स्थलबाट ३ किलोमिटर पश्चिम हुलाकी सडकअन्तर्गत गागन खोला छिचोल्न सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । कारण १० वर्षभन्दा अघि निर्माण गरिएको पुलमुनि खोला बग्दैन । औरही र बरियारपट्टी सीमामा रहेको गागन खोलाले पुल निर्माण भएको केही वर्षमै धार परिवर्तन गरी पुलबाट ५ सय मिटर पूर्व बग्न थालेपछि बाह्रैमास सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो । धार फेरेको खोलामा बाह्रै महिना पानी बग्छ । झन् बाढीको समयमा दुई महिनासम्म स्थानीयलाई वारपार गर्नै गाह्रो हुन्छ ।

१० वर्षभन्दा अघि हुलाकी राजमार्गको सिरहा खण्डको औरही पूर्व गागन खोलामा सडक डिभिजनले पुल बनाएपछि त्यस भेगका स्थानीयवासीको खुसीको सीमा थिएन । सदरमुकाम सिरहा बजार आउजाउ गर्न हुलाकी राजमार्ग वरपरका स्थानीय १५ किमी उत्तरको पूर्व पश्चिम राजमार्ग छिचोल्दै धनगढी, गोलबजार, चोहर्वा हुँदै फेरो मारेर ५० किमी दूरी तय गर्न बाध्य थिए । सदरमुकाम पुग्न भरदिन लाग्थ्यो । तर गागन खोलामा पुल बनेपछि स्थानीयले त्यो दुःख सहजै बिर्से । तर, उनीहरूको त्यो खुसी धेरै वर्ष टिकेन । निर्माण सम्पन्न भएको केही वर्षपछि आएको ठूलो बाढीले पुलदेखि उत्तरको पूर्वी बाँध भत्काएपछि खोलाले ५ मिटर पूर्व धार परिवर्तन गर्‍यो ।

‘धार परिवर्तन गरेपछि हाम्रो दुःखको दिन फेरि सुरु भयो,’ औरहीका ७५ वर्षीय मोहम्मद नथुनीले भने, ‘खोला तर्न अहिले सास्ती व्यहोरिरहेका छौं ।’ उनका अनुसार वर्षायाममा दुई महिना सदरमुकाम सिरहा बजार र वरपरका गाउँसँग सम्पर्क विच्छेद नै हुन्छ ।
यस क्षेत्रबाट जितेर गएका सांसददेखि मन्त्रीसम्म बने पनि सबैले बेवास्ता गरेको स्थानीयको गुनासो छ । बरियारपट्टीका ८० वर्षीय लक्ष्मी यादव भन्छन्, ‘नेताहरूलाई पटक पटक त भत्किएको बाँध पुनर्निर्माण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्यौ,ं कसैले हाम्रो कुरा सुनेनन् ।’

स्थानीय नेताले त सुनेनन् नै दुई वर्षअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आएर सडक निर्माणको शिलान्यास गरिसक्दासमेत नबनेपछि हुलाकी राजमार्ग बन्ने आशा मरेको उनले सुनाए । सदरमुकाम सिरहा बजारमात्र होइन औरही गाउँपालिकाको १ देखि ५ वडाका बासिन्दालाई गाउँपालिका केन्द्र पुग्न पनि गागन खोला तर्नैपर्छ । खोलाबाट गाउँपालिका पुग्न सवा किलोमिटर दूरी मात्रै छ । वर्षामा एउटै गाउँपालिकाका बासिन्दालाई यतादेखि उता आउन जान धौधौ पर्छ । ‘वर्षामा स्थानीयले बनाएको बाँसको फाटकबाट तर्नुपर्दा १० रुपैयाँदेखि ५० रुपैयाँसम्म तिरेर खोला वारपार गर्नुपर्छ,’ कमलपुरका रामलखन ठाकुरले भने, ‘त्यो पनि बाढीको भेल ठूलो हुँदा तर्न सकिन्न ।’ उनले हुलाकी मार्ग बन्यो भने यस क्षेत्रको आर्थिकलगायत विकासले फड्को मार्ने र यो सडक भएर भारतको लदनिया, जयनगरबजार पुग्न सहज हुने बताए ।

‘यो सडक निर्माण भएमा जिल्लाको दक्षिणवर्ती भगवानपुर, ठाडी, इनरुवा, नवराजपुर, बरियारपट्टी, औरहीलगायत चार दर्जन बस्तीका बासिन्दालाई सदरमुकाम सिरहा बजार आवतजावतमा सहज हुन्छ,’ उनले भने । औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ दास यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलानालाको ठेक्कामा यो खोलामाथिको पुल पनि परेको जनाए ।

प्रकाशित : कार्तिक १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?