ऐलानी जग्गा कब्जा
वीरगन्ज — वीरगन्ज महानगरपालिका–३० लालपर्सास्थित २ बिघा ५ कट्ठा सार्वजनिक ऐलानी जग्गामा गत असोज अन्तिम साता माटो पुर्न थालिएपछि स्थानीय युवा झस्किए । उक्त ऐलानी जग्गामा ज्येष्ठ नागरिकका लागि पार्क निर्माण गर्न युवा तम्सिएका थिए ।
सुक्खा बन्दरगाह रोडबाट दक्षिणमा रहेको साविक लालपर्सा गाविस–२ को कित्ता नम्बर १५४ र १५९ को ऐलानी जग्गामा श्री युनाइटेड लोजेस्टिक नेपाल (विशाल ग्रुप) ले माटो पुरेको स्थानीयले बताए । उक्त सार्वजनिक ऐलानी जग्गा संरक्षणका लागि न्यु नमुना युवा क्लबले निजी खर्चमा पिलर गाडेको थियो ।
क्लबका सचिव मनोज यादवका अनुसार युनाइटेड लोजेस्टिकले आफ्नो जग्गामा माटो पुर्ने क्रममा ऐलानी जग्गा अतिक्रमण गरेको हो । ‘संरक्षणका लागि गाडिएको पिलर उखालेर फालेका छन्,’ यादवले भने, ‘ऐलानी जग्गामा पार्क निर्माण गर्ने योजना छ ।’ ऐलानी जग्गामा अतिक्रमण गरेको थाहा पाएपछि स्थानीयले गत सोमबार जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका थिए । युनाइटेड लोजेस्टिकले ऐलानी जग्गा प्रयोगका लागि सहमति माग्दा गाउँमा बसेको सर्वदलीय बैठकले अस्वीकार गरेको थियो । ऐलानी जग्गामा माटो पुर्न वडाध्यक्षले मौखिक सहमति दिएको आरोप लागेको छ ।
०७५ फागुन ५ मा गाउँमा बसेको सर्वदलीय बैठकले ऐलानी जग्गामा ज्येष्ठ नागरिक पार्क बनाउने निर्णय गरेको थियो । ‘वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्नो चुनावी घोषणापत्रमा प्रत्येक वडामा ज्येष्ठ नागरिकका लागि पार्क निर्माण गर्ने उल्लेख गरेका थिए,’ समाजवादी युव संघ प्रदेश २ सदस्यसमेत रहेका यादवले भने, ‘त्यसैको आधारमा हामीले गाउँलेको सहमतिमा पार्क निर्माणका लागि निवेदन दिएका थियौँ ।’ लालपर्सा निवासी ६३ वर्षीय देवलालप्रसाद साहले भूमाफिया र वडाध्यक्षको मिलेमतोमा ऐलानी जग्गा अतिक्रमण गर्ने चलखेल भएको आरोप लगाए ।
‘ऐलानी जग्गा संरक्षणका लागि युवाले पिलर गाडेका थिए,’ साह भन्छन्, ‘सर्वदलीय बैठकले अस्वीकार गरेको प्रस्ताव वडाध्यक्षको मिलेमतोमा पूरा भयो ।’ वडाध्यक्ष अमानत अन्सारी ३० फिट बाटो प्रयोग गर्न दिएको बताउँछन् ।
‘अतिक्रमण नगरी बाटोका लागि प्रयोग गर्न दिएका हौँ,’ उनले भने, ‘मौखिक रूपमा दिएको हुँ । लिखित सिफारिस दिएको छैन ।’ वडाध्यक्ष अन्सारीका अनुसार युनाइटेड लोजेस्टिकले ऐलानी जग्गा प्रयोग गर्न दिए गाउँको विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वडावासीलाई विकास चाहिएको छैन,’ उनले भने, ‘केहीले कमाइ खाने भाँडो बनाएका छन् ।’ वडा सदस्य रामबाबु प्रसादले सार्वजनिक जग्गा संरक्षण गर्ने व्यक्ति मौन बस्दा क्लबका युवाहरू अगाडि बढेको टिप्पणी गरे । सर्वदलीय बैठकमा ऐलानी जग्गा प्रयोग गर्न नदिने सहमति भए पनि वडाध्यक्षले एक्लौटी रूपमा उद्योगका लागि जग्गा दिएकोमा स्थानीय आक्रोशित बनेका छन् ।
गत सोमबार प्रशासनले उक्त स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भए/नभएको विषयमा प्राविधिक खटाई एकिन गर्न र त्यसरी एकिन नभएसम्मका लागि उक्त स्थानमा कुनै संरचना नबनाउन युनाइटेड लोजेस्टिकका नाममा पत्र काटेको छ ।
कुलो पुर्दा गाउँ डुबानमा
वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधीन सर्वोत्तम स्टिल्सले सार्वजनिक कुलो (पैनी) को जग्गा मिचेर भौतिक संरचना निर्माण गरेपछि गत वर्षातको पानी लालपर्सामा प्रवेश गरेको थियो ।
लालपर्साका श्रीराम प्रसादका अनुसार वर्षातको पानी निकास हुने कुलो मिचिएपछि गाउँ डुबानमा परेको हो । ‘केहीले माटो पुरेरै पैसा कमाए,’ उनले भने, ‘केहीले विरोध नगरेबापत पैसा कुम्ल्याए, तर डुबानको समस्या गाउँले भोग्नुपर्यो ।’
परम्परागत रूपमा सिँचाइ र वर्षातको पानी निकासका लागि प्रयोग हुँदै आएको कुलो मिचेर उद्योग निर्माण हुन थाल्दा स्थानीयले विरोध गरेका थिए । ‘स्थानीयले जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा समेत लिखित उजुरी दिँदा पनि कुनै सुनवाइ भएन,’ जगरनाथपुरका तेजबहादुर साह भन्छन्, ‘उल्टै विरोध गर्नेलाई प्रहरी प्रशासन लगाएर थुनाइयो ।’
०७५ मंसिर २१ मा सार्वजनिक कुलो संरक्षणका लागि महानगरपालिका कार्यालयमा स्थानीयले निवेदन दिएका थिए । जगरनाथपुरका ८० वर्षीय ब्रह्मदेव यादवका अनुसार उक्त कुलोबाट झन्डै सात सय क्षेत्रफलभन्दा बढी जमिन सिञ्चित हुने गरेको थियो । पछिल्लो समय बोरिङ, दमकलको प्रयोग हुन थालेपछि कुलो प्रयोगविहीन बनेको थियो । सिँचाइ नहुँदा बाढीको पानी त्यही कुलोबाट निकास पाउँथ्यो । स्थानीय मञ्जुर मियाँका अनुसार उद्योगले कुलो मिचेपछि बाढीको पानीको निकास रोकिएको हो । १२ फिट देखि २२ फिटसम्मको कुलोलाई गाउँलेले ‘बड्का पइन’ (ठूलो कुलो) भन्दै आएका थिए ।
उद्योगको अतिक्रमण हटाउन उदासीन
यसैगरी वीरगन्ज महानगरपालिका–३२ बेल्वास्थित कियासोत खोलाको दुबै किनारमा रहेका उद्योगले करिब १२ बिघा जग्गा अतिक्रमण गरेको छ । झन्डै २ वर्ष अगाडि स्थानीयले जिल्ला प्रशासन कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म अतिक्रमण हटाउनका लागि प्रमाणसहित ज्ञापनपत्र बुझएका थिए ।
तर हालसम्म अतिक्रमित जग्गा खाली भएको छैन । स्थानीय अगुवा प्रभु यादवका अनुसार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएपछि जिल्लाको नापी, मालपोत र भूमिसुधार कार्यालयले उद्योगले अतिक्रमण गरेको क्षेत्रको कागजात काठमाडौँ पठाएका थिए ।
‘प्रमाणित गरी पठाएको सरकारी कागजातहरू भूमिसुधार र मालपोत विभागमै छन्,’ यादवले भने, ‘कुनै निर्णय गरेका छैनन् । यता उद्योगहरूले खोलाको बगर पुरेर पक्की पर्खाल निर्माण गरिसकेका छन् ।’ दुई वर्ष अगाडिसम्म झन्डै ६० फिट चौडाइमा सलल बग्ने खोला अहिले मुस्किलले ५ फिटको नालामा खुम्चिएको छ ।
स्थानीयका अनुसार खोलाको पूर्वी किनारामा निर्माण भएको जगदम्बा कंक्रिट उद्योगले आफ्नो भोगचलन बाहेकको बगर र खोला पुरेर पर्खाल निर्माण गरी अतिक्रमणको सुरुवात गरेको हो । नयाँ निर्माण हुने उद्योगले पूर्वपट्टिको बगर अतिक्रमण गरी पर्खाल निर्माण गर्दा स्थानीय प्रशासनले कारबाही नगरेपछि झन्डै १३ वर्षदेखि खोलाको पश्चिमी किनारामा सञ्चालनमा रहेको श्री शिवशक्ति केमो प्लास्ट उद्योगले पनि डोजर नै लगाएर धमाधम खोलाको बगर पुरेको थियो । दुबै उद्योगले अतिक्रमण गरेको जग्गा नापी कार्यालयको नक्सा र फिल्ड बुक उतारमा ‘पर्ती/ऐलानी’ उल्लेख गरिएको छ ।
प्रकाशित : कार्तिक १०, २०७६ १०:१८