मुसहर बस्तीमा ज्वरो प्रकोप

सिंगो बस्तीमा दुई सातायता फैलिएको ज्वरोबाट काखे बालकदेखि ज्येष्ठ नागरिकसम्म थलिएका छन्
भरत जर्घामगर

लहान — सिरहाको लहान नगरपालिका १५ लग्राहास्थित सिंगो दलित मुसहर बस्तीमा ज्वरोको प्रकोप फैलिएको छ । सिंगो बस्तीमा दुई सातादेखि फैलिएको ज्वरोको प्रकोपबाट काखे बच्चादेखि बृद्धबृद्धासम्म थलिएका छन् । ज्वरोबाट एकै घरका ६ जनासम्म थलिएका छन् ।

मुसहर बस्तीमा ज्वरो प्रकोप

लग्राहामा ३७ घरधुरी दलित मुसहर समुदायको बसोवास छ । ऐलानी जग्गामा बस्दै आएका बस्तीका उनीहरू दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँछन् । दुई सातादेखि ज्वरोले थलिएपनि रकम अभावमा बस्तीका उनीहरूले उपचार गराउन सकेका छैनन् ।


बस्तीका राजकुमार सदाय मुसहरका पत्नी अरहुलिया, चार छोरा अजय, विजय, संजय, मनोज, छोरी बविता, दुई वर्षीया नातिनी एलिसासहित ६ जना ज्वरोले थलिएका छन् । ‘आफूबाहेक परिवारका सबै सदस्य दुई सातादेखि ज्वरोले थलिएपनि पैसा अभावमा उपचारका लागि अस्पताल पुर्‍याउन सकेको छुइन,’ जनमजदुरी गरेर गुजारा चलाउने राजकुमारले सुनाए,‘गाउँकै औषधी पसलबाट सिटामोल ल्याएर ख्वाएको छु । दुईसाता भइसक्यो ज्वरो घटेको छैन ।’


सुरुमा हातगोडा कटकटखाने जिउ, टाउको, पेट दुख्ने, झाडापखाला लागेपछि ज्वरो आउने गरेको राजकुमारले बताए । बस्तीका जितन सदायसहित उनका काखे छोरी रेणु सात दिनदेखि ज्वरोले बिरामी परेका छन् । जितनका अनुसार बस्तीका घरपिच्छै बिरामी परेका छन् । ‘कतिपयलाई ज्वरो निको हुँदै केही दिनपछि फेरि दोहोरिएर आएको छ’ उनले भने ‘ज्वरो दोहोरिदा गाउँका बालबच्चादेखि वृद्धबृद्धा थलिएका छन् ।’


बस्तीका अधिकांश बालबच्चादेखि बृद्धबृद्धासम्म ज्वरोले थलिएपछि पानी ल्याएर दिने मान्छेसमेत नभएको ६० वर्षीय ननुवा सदाय मुसहरले सुनाए । ननुवा समेत ज्वरोले थलिएका छन् । अझ उनकी पत्नी मूर्तीदेवीलाई तीन महिनादेखि ज्वरो आउने र छुटने क्रम भइरहेको ननुवाले सुनाए ।


लहान अस्पताल पुग्न नौ किलोमिटर टाढा रहेकाले बस्तीमा अस्पताल पुर्‍याउने मान्छे समेत नभएको उनीहरूले दु:खेसो पोखे । ‘अस्पताल पुग्न रिक्शा चढ्ने भाडा रकम छैन, आज के खाउ, भोली के खाउ भन्ने अवस्था छ’ ननुवाले भने ‘छिमेकी गाउँमा सापटी गरेपनि अस्पताल पुर्‍याईदिने मान्छे छैनन् ।’


सिंगो बस्तीका अधिकांश ज्वरोले थलिएपछि डेंगु भयो कि भन्ने पिरलो लग्राहा मुसहर बस्तीमा परेको छ । ‘ज्वरोको उपचार गर्न सकेका छैनौं,’ नौ दिनदेखि ज्वरोले थलिएका २३ वर्षीय देव सदायले भने ‘डेंगु ज्वरो लाग्यो भने हामी उपचार गर्न नसकेर ज्वरोले मर्छौ होला ।’ देवुका चार वर्षीय छोरा संजय र छोरी बेचनी ज्वरोले थलिएका छन् ।


बस्ती पुगेका जोकोहीलाई उनीहरू उपचार गराई दिन आग्रह गर्छन । लग्राहा दलित मुसहर बस्तीमा दुई सातादेखि ज्वरोको प्रकोप फैलिएपछि वडा कार्यालयले स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ । बस्तीमा ज्वरोको प्रकोप फैलिएको जानकारी पाउना साथ स्वास्थ्यकर्मी टोली परिचालन गरेका लहान नगरपालिका १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । ज्वरो प्रभावित बस्तीमा बिहीबार स्वास्थयकर्मी टोली पुगेर उपचार गरिरहेको र आफू समेत प्रभावित क्षेत्रमा रहेको उनले जानकारी दिए ।


औषधी सहित उपचारको लागि बस्ती पुगेका स्वस्थ्थकर्मीले यो मैसमी भाईरल ज्वरोको प्रकोप भएकोले नियन्त्रणमा आउन कम्तिमा सातदेखि १० दिन सम्म समय लाग्न सक्ने जानकारी दिए ।


लग्रहासँगै मेनहरवास्थित दलित मुसहर बस्तीमा समेत ज्वरोको प्रकोप फैलिएको छ । स्थानीय रामे सदाय मुसहरका अनुसार केही दिनदेखि बस्तीका धेरैजसोमा ज्वरो बिरामी देखापरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?