समायोजनमा ‘चलखेल’ रोक्न डेलिगेसन

सन्तोष सिंह

धनुषा — समायोजनका लागि संघीय सरकारले खटाएका कर्मचारीको खटनपटनमा प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवले ‘जातीय र आर्थिक चलखेल’ गरेको असन्तुष्ट कर्मचारीहरूले दाबी गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनसम्बद्ध कर्मचारीहरूले स्वकीय सचिव जितेन्द्र यादवमाथि चलखेलको आरोप लगाउने मुख्यमन्त्री लालबाबु राउतसमक्ष डेलिगेसनसहित ध्यानाकर्षणसमेत गराएको छ ।

मुख्यमन्त्रीले कर्मचारी समायोजनमा कमी–कमजोरी भएको स्वीकार्दै सच्याउने प्रतिबद्धता जनाए । यादवले कर्मचारीको खटनपटको सबै अधिकार आफूसंग राखेका छन् । नियम–कानुन मिच्दै कर्मचारी खटनपटनका सबै अधिकार यादवलाई दिएकोमा मुख्यमन्त्री राउतसित उनकै मन्त्रीहरू असन्तुष्ट रहेको स्रोतले बतायो ।

‘सबै मन्त्रालयको कर्मचारीलाई स्वकीय सचिवले चलाउँछन । कहीं नभएको अधिकार यादवले यहाँ प्रयोग गरिरहेका छन्,’ प्रदेश सरकारका एक सचिवले भने,‘कर्मचारीको खटनपटनमा आर्थिक चलखेल र जातिय पूर्वाग्रह राखिएको गुनासो आइरहेको छ ।’ स्वकीय सचिव यादवले प्रदेश प्रमुखको कार्यालय र मन्त्रीहरूले सिफारिस गरेका कर्मचारीको सरुवा र पदस्थापनामा पनि रकम असुल्ने गरेको स्रोतको दाबी छ । यसै साता, प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले राउत सरकारका मन्त्रीमण्डलसित गरेको परामर्शमा पनि यादवले कर्मचारी खटनपटनमा गरेको बद्मासीबारे मन्त्रीहरूले खुलेर गुनासो गरेका थिए ।

कर्मचारी खटनपटनमा भइरहेको बद्मासीबारे मुख्यमन्त्री राउत र प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदीसित गुनासो पोखेका कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव अशोक रौनियारले सरकारी मापदण्डअनुसार कर्मचारीको खटनपटन गर्न आग्रह गरे । उनीहरूको गुनासोपछि मुख्यमन्त्री राउतले स्वास्थ्यसंग सम्बन्धीत कर्मचारीको पदस्थापना समाजिक विकास मन्त्री नवलकिशोर साहसित समन्वय गरेर गरिने बताएका थिए । मुख्यमन्त्री राउतका स्वकिय सचिव यादवले कर्मचारी खटनपटनमा जातिय पूर्वाग्रह र आर्थिक लेनदेन नगरेको दाबी गर्छन । ‘लामो समय एकै ठाउँमा बसेका कर्मचारीको सरुवा हुँदा यस्ता आरोप लगाएका होला,’ उनले कान्तिपुरसंग भने,‘संघीय सरकारले एकैपटक कर्मचारी नपठाउँदा उनीहरूको खटनपटनको बिधि र प्रकृया बनाउन ढिलाइ भएकै हो ।’

समायोजन ऐनमा कर्मचारीको कार्यरत पदको जेष्ठता, कार्यरत पद भन्दा तल्लो श्रेणी वा तहको जेष्ठता, कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, स्थायी बसोबासको ठेगाना र उमेरको जेष्ठतालाई अधार बनाएर समायोजना गर्दा सम्भव भएसम्म पति–पत्नीलाई एकै जिल्लामा समायोजन गर्ने व्यवस्था छ । तर, राउत सरकारले समायोजन ऐन बिपरित कर्मचारीलाई खटाएको छ । स्वास्थ्य क्षेत्रका मेडिकल रेकर्डर, रेडियोग्राफर, खोप सुपरभाइजरलगायतका कर्मचारीको सरुवा र पदस्थापनामा चलखेल भएको असन्तुष्ट कर्मचारीहरूको आरोप छ ।

महोतरी घर भएका धनुषा स्वास्थ्य कार्यालयमा कार्यरत खोप सुपरभाइजर दिपेन्द्र राय समायोजनमा जनकपुर रोजेका थिए । तर, जुनियर राजदेव यादवलाई जनकपुर खटाएर रायलाई राउत सरकारले सप्तरी सरुवा गरिदिएको छ । जलेश्वरबाट रेडियोग्राफर दिनेशचन्द्र लाल जनकपुर आउन चाहेका थिए । तर, उनको ठाउँमा विजय यादवलाई खटाइयो । प्रादेशिक अस्पताल जनकपुरमा मेडिकल रेकर्डर राजकिशोर राउतको स्थानमा जुनियर सत्यनारायण यादवलाई मुख्यमन्त्री कार्यालयले खटाएको छ । राउतलाई रौतहट सरुवा गरिएको छ ।

स्वास्थ्यका कर्मचारी समायोजनमा जेष्ठता, उमेर र स्थायी ठेगनाको अधार छोडेर जातिय अधारमा कर्मचारी समायोजन भएको नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश २ का अध्यक्ष समेत रहेका राउतले बताए । संघिय सरकारबाट समायोज हुन आएको ३ हजार २ सय ८ जना कर्मचारीमध्ये २ सय ९७ जना स्वास्थ्यका कर्मचारी छन् । चौथो तहदेखि १० औ तहसम्मका कर्मचारीलाई मुख्यमन्त्री कार्यालयले समायोजन गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिले राजनीति, अहिले व्यापार 

सुनिता बराल

बर्दिबास — उज्यालो नहुँदै उनको मोबाइल बज्न थाल्छ । फोन उठाउँदै उनी घरबाट बाहिरिन्छन् । कैलालीबाट महोत्तरीको बर्दिबास आएर चिया व्यापार थालेका खेमराज देवकोटाको दैनिकी हो यो । 

थर्मसमा चिया बोकेर जसले जहाँ भन्छ त्यही अर्डरअनुसार पुर्‍याउन थालेपछि उनको व्यस्तता बढेको हो । ०६९ मा राजनीतिमा
सक्रिय देवकोटालाई परिवारको गुनारा चलाउन मुस्किल भएपछि चिया बेच्न थालेको बताउँछन् ।

बर्दिवासमा आएर व्यापार गर्न थालेको छोटो समयमै उनलाई विभिन्न संघ संस्था, घर र व्यक्तिहरूले समेत चिाया अर्डर गर्न फोन गर्न थालेको उनले सुनाए । विभिन्न नगरस्तरीय सभा सम्मेलनले समेत चिया खुवाउने निम्ता गर्न थालेका उनी बताउँछन् । भारतको पटनामा करिब १ वर्ष चिया बेचेर उनी ४ महिना अघि नेपाल फर्किएका थिए ।

अरुको देशमा गर्ने काम
आफ्नो देशमा आएर गर्दा छुट्टै सम्मान मिलेको अनुभव सँगै राम्रो आम्दानी पनि भएकोमा खुशी लागेको देवकोटा बताउछन् । ‘काम खोज्दै भारतको पटना पुगेको थिएँ,’ देवकोटाले भने, ‘त्यहाँ गएर चिया बेच्न थालियो, पेशा सानो–ठुलो नभनि काम गरे ज्यान पाल्न गाह्रो रहेनछ भन्ने लाग्यो ।’ चिया बेचेरै नेपालमै पनि राम्रो आम्दानी गर्न सकिने भए किन नगर्ने भनेर बर्दिवासमा आएर चिया बेच्न शुरु गरेपछिअहिले सोचेभन्दा राम्रो आम्दानी भइरहेको उनले बताए ।

अहिले बर्दिवासका विभिन्न घर, पसल, बजार, संघसंस्था, सभा सम्मेलनमा देवकोटाले दैनिक ३ सय कपसम्म चिया बेच्छन् ।

घरायसी जडिबुटिको समेत प्रयोग गरेर तयार पारेको मसलाको बास्ना र स्वादसहित उनले बेच्ने गरेको चिया स्वस्थकर पनि भएकाले देवकोटाले नै बनाउने चिया आफुले खाने गरेको बर्दिवास १ कि घर भएकी महिला स्वास्थ्य स्वयंसेविका सरिता रौनियारले बताइन् ।
जहाँबाट अर्डर आयो त्याहि हट थरमसमा तयारी चिया र कप लिएर देवकोटा घरघरमा समेत पुग्न थालेपछि बर्दिवासमा गृहणीहरू समेत चिया बनाईराख्नु पर्ने झन्जटबाट मुक्त भएको भन्दै खुशी हुन थालेका छन् ।

बोलाएपछि घरमै पनि सेवा पुर्‍याउने देवकोटाले गृहणी महिलालाई सहयोग गरेको बर्दिवास १४ कि शिक्षीका उमा पोखरेलले बताइन् ।

अहिले देवकोटाले कैलालीमा रहेको आफ्नो ६ सदस्सिय परिवार चियाको व्यापारबाट हुने आम्दानीले पालेको बताउछन् । ‘५०/६० हजार कमाउन विदेशै जान नपर्ने रहेछ,’ उनले भने, ‘नेपालमै कमाएको आम्दानीले पनि मैले २ छोरी र १ छोरा को पठनपाठन सगैँ ६ सदस्य परिवारलाई सजिलै धानेको छु ।’

कालो नुन, ल्वाङ, सुकुमेल, जाइफल, जायपत्री, तेजपत्ता, कालोमरिच, थनो, ठुलो सुपलगायतका सामाग्रिको मसला आफैँले तयार पारेर बनाएको फिक्का चिया शरीरका लागि फाइदाजन हुने भएकाले पनि बर्दिवासमा चिया खाने मानिस बढ्दै गएका देवकोटाले बताए ।

घरमै पुर्‍याउने सहज सेवा का कारणपनि देवकोटाको चिया व्यापार बर्दिवासमा फस्टाएको छ । विरामीले खाने चिया पनि देवकोटाले तयार पार्ने हुदा देवकोटालाई सुगर, प्रेसर लगायतका बिरामीले समेत खोज्ने गरेका छन् । प्रेसरको विरामी भएकाले चिनी विनाको मसलेदार चिया खान सधैं देवकोटालाई आफूले खोज्नेगरेको महोत्तरीका
भूमि अभियान कर्मी राजकुमार बस्नेतलले बताए ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT