कर्मचारी खटनपटनमा मुख्यमन्त्रीका स्वकीयको ‘चलखेल’

सन्तोष सिंह

(धनुषा) — समायोजनका लागि संघीय सरकारले खटाएको कर्मचारीको खटनपटनमा प्रदेश २ का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव जातीय र आर्थिक चलखेलमा मुच्छिएका छन् । असन्तुष्ट कर्मचारीहरुले यादवको बद्मासीबारे मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण समेत गराएका छन् ।

कर्मचारी खटनपटनमा मुख्यमन्त्रीका स्वकीयको ‘चलखेल’

कर्मचारीको खटनपटन गर्दा स्वकीय सचिव यादवले आर्थिक लेनदेन गरेको र जातीय आधारमा पूर्वाग्रह राखेको भन्दै नेपाल निजामति कर्मचारी युनियनले मुख्यमन्त्री राउतसित गुनासो गरेका छन् । युनियनको डेलिगेशनसँग मुख्यमन्त्री राउतले कर्मचारी समायोजनामा कमी–कमजोरी भएको स्वीकार्दै त्यसलाई सच्याउने प्रतिवद्धता जनाए ।


मुख्यमन्त्रीका स्वकीय सचिव यादवले कर्मचारीको खटनपटको सबै अधिकार आफूसँग राखेको छ । नियम–कानुन मिच्दै कर्मचारी खटनपटनका सबै अधिकार यादवलाई दिएकोमा मुख्यमन्त्री राउतसित उनकै मन्त्रीहरु असन्तुष्ट छन् ।


‘सबै मन्त्रालयको कर्मचारीलाई स्वकीय सचिवले चलाउँछन् । कहीँ नभएको अधिकार यादवले यहाँ प्रयोग गरिरहेका छन्,’ प्रदेश २ सरकारका एक सचिवले भने, ‘कर्मचारीको खटनपटनमा आर्थिक चलखेल र जातीय पूर्वाग्रह राखिएको गुनासो आइरहेको छ ।’


मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवले प्रदेश प्रमुखको कार्यालय र मन्त्रीहरुले सिफारिस गरेका कर्मचारीको सरुवा र पदस्थापनामा पनि रकम असुल्ने गरेको स्रोतको दाबी छ । यसै साता, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राउत सरकारका मन्त्रीमण्डलसित गरेको परामर्शमा पनि मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवले कर्मचारी खटनपटनमा गरेको बद्मासीबारे मन्त्रीहरुले खुलेर गुनासो गरेका थिए ।


कर्मचारी खटनपटनमा भइरहेको बद्मासीबारे मुख्यमन्त्री राउत र प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदीसित गुनासो पोखेका नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव अशोक रौनियारले सरकारी मापदण्डअनुसार कर्मचारीको खटनपटन गर्न आग्रह गरे ।


उनीहरुको गुनासोपछि मुख्यमन्त्री राउतले स्वास्थ्यसँग सम्बन्धीत कर्मचारीको पदस्थापना समाजिक विकास मन्त्री नवलकिशोर साहसित समन्वय गरेर गरिने बताएका थिए ।


मुख्यमन्त्री राउतका स्वकिय सचिव यादवले कर्मचारी खटनपटनमा जातिय पूर्वाग्रह र आर्थिक लेनदेन नगरेको दाबी गर्छन् । ‘लामो समय एकै ठाउँमा बसेका कर्मचारीको सरुवा हुँदा यस्ता आरोप लगाएका होला,’ उनले कान्तिपुरसँग भने, ‘संघीय सरकारले एकैपटक कर्मचारी नपठाउँदा उनीहरुको खटनपटनको बिधि र प्रकृया बनाउन ढिलाइ भएकै हो ।’


समायोजन ऐनमा कर्मचारीको कार्यरत पदको जेष्ठता, कार्यरत पद भन्दा तल्लो श्रेणी वा तहको जेष्ठता, कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, स्थायी बसोबासको ठेगाना र उमेरको जेष्ठतालाई अधार बनाएर समायोजना गर्दा सम्भव भएसम्म पति–पत्नीलाई एकै जिल्लामा समायोजन गर्ने व्यवस्था छ । तर, राउत सरकारले समायोजन ऐन विपरित कर्मचारीलाई खटाएको छ ।


स्वास्थ्य क्षेत्रका मेडिकल रेकर्डर, रेडियोग्राफर, खोप सुपरभाइजरलगायतका कर्मचारीको सरुवा र पदस्थापनामा जातिय र आर्थिक चलखेल भएको असन्तुष्ट कर्मचारीहरुको आरोप छ ।


महोतरी घर भएका धनुषा स्वास्थ्य कार्यालयमा कार्यरत खोप सुपरभाइजर दिपेन्द्र राय समायोजनमा जनकपुर रोजेका थिए । तर, जुनियर राजदेव यादवलाई जनकपुर खटाएर रायलाई राउत सरकारले सप्तरी सरुवा गरिदिएको छ । जलेश्वरबाट रेडियोग्राफर दिनेशचन्द्र लाल जनकपुर आउन चाहेका थिए । तर, उनको ठाउँमा विजय यादवलाई खटाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा मेडिकल रेकर्डर राजकिशोर राउतको स्थानमा जुनियर सत्यनरायण यादवलाई मुख्यमन्त्री कार्यालयले खटाएको छ । राउतलाई रौतहट सरुवा गरिएको छ ।


स्वास्थ्यका कर्मचारी समायोजनमा जेष्ठता, उमेर र स्थायी ठेगनाको अधार छोडेर जातिय अधारमा कर्मचारी समायोजन भएको नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश २ का अध्यक्ष समेत रहेका राउतले बताए ।


संघीय सरकारबाट समायोज हुन आएको ३ हजार २ सय ८ जना कर्मचारीमध्ये २ सय ९७ जना स्वास्थ्यका कर्मचारी छन् । चौथो तहदेखि १० औ तहसम्मका कर्मचारीलाई मुख्यमन्त्री कार्यालयले समायोजन गरेको छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?