बढ्यो तिहारको चहलपहल

ओमप्रकाश ठाकुर

(सर्लाही) — तिहार नजिकिएसँगै सर्लाहीमा चहलपहल बढेको छ । प्रमुख बजारमा तिहारका सरसामानले भरिभराउ हुन थालेका छन् । स्थानीय यतिबेला तिहारको किनमेलसँगै गाउँ घर सरसफाइमा जुटेका छन् । 

बढ्यो तिहारको चहलपहल

धनकी देवी लक्ष्मीको पूजा हुने तिहारका लागि लक्ष्मी, गणेशको तस्बिर, घर सजाउनका लागि झिलिमिली बत्ती, माटोको दियो, भाइटीकाको मसलालगायतका सरसामान किन्नेको भिड बढेको छ । बजारमा घर सजाउन राखिएका सामग्रीले भरिभराउ छ । ठाउँ ठाउँमा अस्थायी पसल थापेर तिहारका सामग्री बिक्री भइरहेका छन् । यस्ता पसलले पनि तिहारको झझल्को दिएको स्थानीयको भनाइ छ । ‘अहिलेको बजार पुरै रंगीचंगी बनेको छ, अस्थायी पसलमा राखिएको रङ, अबिर र मसला माला र लक्ष्मी, गणेशको तस्बिरले तिहारको रौनक बढाएको छ,’ हरिवनका अच्युतकुमार सापकोटाले भने, ‘तिहारको किनमेल पनि सुरु भएको छ ।’


पूजा सामग्रीसहित माटोको दियो र घर सजावटका सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा खरिद गर्नेको पनि भिड बढेको छ । तिहार लक्षित गरी सामान राखिएका पसलमा लाग्ने भिड सम्हाल्न व्यापारीलाई हम्मे पर्न थालेको हो । तिहार आगमनसँगै व्यापार बढेको व्यवसायी बताउँछन् । ‘तिहारलाई लक्षित गरी राखिएका पूजासहित अन्य सामानको बिक्री बढेको छ, यतिबेला खरिद गर्नेको भिड सम्हाल्न हामीलाई भ्याइनभ्याई छ,’ स्थानीय व्यापारी रामबाबु साहले भने, तिहार आगमनसँगै व्यापार बढेको छ, व्यापार बढ्दा हामी खुसी छौं ।’


स्थानीय यतिवेला घर लिपपोतदेखि रङरोगनको काममा व्यस्त छन् । घर सिंगार्न महिलालाई चटारो छ । ग्रामीण क्षेत्रमा घर लिपपोत तथा सहरी क्षेत्रमा रङरोगनले गाउँ तथा सहर सफा सुग्घर देखिएका छन् । लक्ष्मी पूजाका बेला घर सिंगारे घरमा लक्ष्मीको बास हुने बरहथवा नगरपालिका–१० सीतापुरकी लखपतिया देवीले बताइन् । ‘लक्ष्मी पूजाका बेला घरमा लक्ष्मीले बास गरुन् भनेर घर लिपपोत गरेर सरसफाइमा जुटेकी छु,’ उनले भनिन्, ‘लक्ष्मीपूजाको अवसर मानेर हामी प्रत्येक वर्ष सरसफाइमा जुट्ने गर्छौं ।’ घरका सरसामान धुन स्थानीयले नजिकको पोखरी, नदी तथा नहरमा घुइँचो लाग्न थालेको छ ।


तिहारलगत्तै मनाइने छठ पर्वको गीत पनि गुञ्जिन थालेको छ । यसले थप उत्साह बढाएको छ । स्थानीय गीतमा रम्दै सरसफाइमा जुटेका छन् । तिहार सँगसँगै छठका सामग्रीको जोहो पनि गर्न पनि थालेको स्थानीय बताउँछन् ।

प्रकाशित : कार्तिक ७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?