कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुल्दैनन् ‘हत्या’ को रहस्य

प्रहरी भन्छन् : सहयोग पाइएन, कपीपेष्ट जबाफ मात्रै दिन्छन् 
भूषण यादव

(वीरगंज) — पर्साको पोखरिया नगरपालिका ५ सतवरियाका १४ वर्षीय अब्दुल्लाह अन्सारी गत असोज १९ मा दिउसो हाटबजारमा तरकारी खरिद गर्न घरबाट निस्केका थिए । राति करिब १० बजेसम्म घर नफर्किएपछि परिवारले खोजबिन थाल्यो । 

बुबा गनी अन्सारीका अनुसार बजार, साथीभाइ, आफन्तकहाँ नभेटिएपछि राति नै प्रहरीलाई जानकारी गराइयो । ‘भोलिपल्ट पनि बिहानैदेखि खोजी जारी गर्‍यौं । तर छोरा फेला परेन,’ गनीले भने, ‘साँझ करिब साढे ५ बजेको समयमा घर पछाडिको माछा पोखरीमा शव भेटिएको सुनेपछि हेर्दा छोरा मृतावस्थामा थियो ।’


अन्सारीको निवासबाट करिब ५ सय मिटरपछाडि रहेको पोखरीमा अब्दुल्लाहको शव बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । उनको हत्या भएको परिवारले दाबी गरेको छ । सतवरिया निम्नमाध्यमिक विद्यालयका शिक्षकसमेत रहेका गनीले उच्चस्तरीय छानबिन गरी घटनाको वास्तविकता आउनुपर्ने बताए । ‘अनुसन्धानमा प्रहरीलाई सहयोग गरेका छौँ,’ उनले भने, ‘प्रहरीले वास्तविकता बाहिर ल्याइदिनुपर्‍यो ।’ अब्दुल्लाह जिल्ला उच्चाङ्गल मावि पोखरियामा कक्षा ९ मा अध्ययनरत थिए । पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहका अनुसार शंकास्पदलाई बोलाएर अनुसन्धान जारी राखिएको छ ।


पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले अनुसन्धानमा अब्दुल्लाहका साथीहरूले सहयोग नगरेको खुलाए । ‘अब्दुल्लाहसँग खेल्ने बच्चाहरूमध्ये केहीले कोअपरेट (सहयोग) गरेका छैनन्,’ उनले भने, ‘कपी पेस्ट जवाफ दिने गरेका छन् ।’ नारायणी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टसमेत हालसम्म प्राप्त नभएको उनले दुखेसो पोखे । ‘यहाँको नारायणी अस्पतालमा पोस्टमार्टम नगर्न मैले सुझाव दिएको थिएँ,’ एसपी राठौरले भने, ‘उहाँहरू मान्नुभएन । नारायणीको पोस्टमार्टम रिपोर्टमा धेरै पटक विवाद आएको छ ।’ परिवारजनका अनुसार आइतबार तरकारी खरिद गर्न जाँदा टि–सर्ट र हाप–प्यान्ट लगाई निस्केका अब्दुल्लाहको शव भित्री वस्त्रमा फेला परेको थियो ।


‘शरीरमा नीलडाम, दाहिने आँखामुनि चोट देखिएको थियो,’ स्थानीय अनुप तिवारीले भने । अब्दुल्लाहका बुबा पोखरियाका नगरपालिकाका मेयर मन्टु रौनियारको पूर्वनिजी सचिवसमेत रहेका थिए । शिक्षक अन्सारीका छोराको हत्या हुनुमा व्यक्तिगत रिसइवी तथा राजनीतिक कारणसमेत हुन सक्ने मेयर रौनियारले बताउँदै आएका छन् । दशहरामा भएको घटनाका कारण गाउँ नै शोकमग्न भएको तिवारीले बताए ।


अनुसन्धान फितलो

गत साउन १२ मा शंकास्पद मृत्यु भएको वीरगन्जकी २३ वर्षीया युवती रेश्मा ठाकुरको हत्या प्रकरण अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको परिवारजनले आरोप लगाएका छन् ।

वीरगन्जको माइस्थानस्थित एक मोमो पसलबाट साथीहरूसँग नास्ता खाएर निस्किएको एक घण्टापछि ठाकुर वीरगन्जको घण्टाघर चोक नजिकै भुइँमा लडेको अवस्थामा भेटिएकी थिइन् । नारायणी अस्पताल पुर्‍याएको केही बेरमा उनको मृत्यु भएको थियो । घटना भएको साढे दुई महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको रेश्माका भिनाजु राम साहको गुनासो छ ।


वीरगन्ज महानगरपालिका–३ प्रगतिनगर निवासी रेश्मा एक निजी विद्यालयकी लेखापालको रूपमा कार्यरत थिइन् । ‘बिरामी बुबाको उनी एक्लो सहारा थिइन्,’ साह भन्छन्, ‘उनी आत्महत्या गर्ने केटी नै थिइनन् । मृत्युको कारण अनुसन्धान गरी बाहिर ल्याइदिन प्रहरीलाई आग्रह गर्दै आएका छौँ । तर, साढे २ महिना बितिसक्दा पनि अनुसन्धान अगाडि बढेको छैन् ।’ एसपी सोमेन्द्रसिंह राठौरले रेश्माको हालसम्म ‘भिसेरा’ रिपोर्ट नआइसकेकाले अनुसन्धान अगाडि नबढेको बताउँछन् ।


साउन १२ मा दिउसो करिब साढे २ बजेको समयमा रेश्मा घरबाट ५० रुपैयाँ रिक्सा भाडा लिएर निस्केकी थिइन् । आफन्तले रेश्मालाई साँझ करिब ५ बजेको समयमा माइस्थानको एक मोमो पसलमा प्रवेश गरेको र साढे सात बजेतिर निस्केको देखेका थिए । दुई केटी र एक जना केटा साथीसँग रेश्मा बाहिरिएकी थिइन् । साथीहरूसंगै निस्केको करिब आधा घण्टामा घण्टाघर नजिकै रेश्मा लडेको अवस्थामा फेला परिन् । दुई केटी साथीमध्ये एकले रेश्मालाई अस्पताल पुर्‍याएकी थिइन् । ‘नास्ता गरेको होटलबाट रेश्माको घर पश्चिममा पर्छ,’ रामले भने, ‘उनी उत्तरतर्फ रहेको घण्टाघरतर्फ किन गइन्, यो अनुसन्धानको विषय छ ।’


मोमो पसलका सञ्चालिकाले रेश्माका साथीहरूले बाहिरबाट भेज मोमो ल्याएको जनाएकी छन् । सञ्चालिका सञ्जु नेवाका अनुसार उनीहरूले होटलमा बियर र कोक खाएका थिए । मृतकका दिदी पूजा शाहका अनुसार रेश्मालाई एक केटा साथीले बारम्बर ‘टर्चर’ दिँदै आएका थिए । ‘रेश्माले फोन नउठाउँदा अर्को बहिनीको मोबाइलमा फोन गरी उसको बारेमा खोजबिन गर्थ्यो,’ उनले भनिन्, ‘घटनाको दिनदेखि ती केटा पनि घर वरिपरि देखापरेका छैनन्, नत्र उनी आइराख्थे ।’


रेश्माको फोनबाट फेसबुक, वाट्सऐपलगायतका डाटाहरू डिलिट गरिएको उनले बताइन् । रेश्माले घरबाट लगाएर गएको लुगा चेन्ज गरिएको पारिवारजनले दाबी गरेका छन् । रेश्माका भिनाजुका अनुसार नास्ता खाएर आ–आफ्नो घर गएका साथीहरूमध्ये एक जना रेश्मा लडिरहेको ठाउँमा कसरी पुगिन् ? उनले भने, ‘प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरेकै छैन । भिसरा रिपोर्ट नआए पनि रेश्माका साथीहरू र उसको मोबाइलको म्यासेजको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाउन सक्थ्यो ।’


वीरगन्ज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको २ वर्ष बितिसक्दा पनि पर्सा प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । रेश्मा ठाकुरको शंकास्पद मृत्युबारे सुरक्षाकर्मी मौन छ । ०७३ असोज १९ मा ग्रेस स्कुलमा कक्षा ३ मा पढ्दै गरेका राजनको हत्याको रहस्य अझै खुल्न सकेको छैन ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?