हुलाकी सडकमा ठेकेदारको टालटुले काम

निर्माणमा कमसल सामग्री प्रयोग गर्दा निर्माणको काम अगाडि बढ्दै जाँदा पछाडि भत्कँदै गएको छ
लक्ष्मी साह

(बारा) — मधेसको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग अगाडि कालोपत्रे बन्दै पछाडि भत्कँदै गएको छ । जिल्लाको बरियारदेखिको पटेर्वासम्मको निर्माणाधीन १७ किमि कालोपत्रे सडक नबन्दै जीर्ण हुन थालेको हो । 

निर्माणमा कमसल सामग्री प्रयोग र कमजोर ‘डिजाइन तथा इस्टिमेट’ ले कालोपत्रे फुट्ने र चर्किने समस्या हुन थालेको आदर्शकोतवाल गाउँपालिकाका एक प्राविधिकले बताए ।


जीर्ण अवस्था देखिएपछि हुलाकी मार्ग आयोजनाको कार्यालय वीरगन्जले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिएको छ । स्थानीयहरूको गुनासो बढेपछि कार्यालयले मर्मत गर्न लगाएका हुन् । कार्यालयको निर्देशनमा निर्माण कम्पनीले अगाडी बनाउँदै र पछाडिबाट कालोपत्रे टालटुल गर्न थालेको पाइएको छ । रमण र लोकवीर निर्माण कम्पनीले तीन वर्षभित्र कालोपत्रे सक्ने गरी २०७२ माघमा ठेक्का सम्झौता गरेका थिए ।


सम्झौताभन्दा आठ महिना बढी भइसक्दा समेत निर्माण कम्पनीले काम सकेका छैनन् । भुक्तानी भने कुल ठेक्काको ८० प्रतिशतभन्दा बढी रकम लिइसकेको हुलाकी मार्ग ओजना कार्यालयका अधिकारीले बताए ।


कालोपत्रे भए पनि थुप्रै ठाउँमा निर्माणको क्रममा त्रुटि देखिएकाले निर्माण कम्पनीले मर्मत गर्न थालेको हुलाकी मार्ग आयोजना कार्यालय वीरगन्जका साइड इन्जिनियर सुनिलकुमार गुप्ताले बताए ।


निर्माणमा भएको त्रुटिले नै निर्माण कम्पनीले सडक हस्तान्तरण गर्न खोज्दा हुलाकी मार्ग आयोजनाले लिन मानेको छैन । झन्डै १८ करोडको लागतमा उक्त कम्पनीले सडक निर्माण गर्न ठेक्का साकार गरेको थियो । राणाकालीन पूर्व–पश्चिम यस हुलाकी मार्गमा कालोपत्रे भए पनि वर्षामा पानी जम्ने गरेको पाइएको छ ।


थुप्रै ठाउँमा निर्माण नसक्दै भत्किरहेकाले स्थानीयले सम्बन्धित कार्यालयमा गुनासो गर्दै आएका छन् । थलही पुल नजिक पुलको वारि र पारि गरी पुलको ‘एपरोच’ सम्म कालोपत्रे चर्किनुका साथै भासिएको छ । निर्माण कम्पनीले कतिपय ठाउँमा ३ सयदेखि ४ सय मिटरससम्म कालोपत्रे गरेकै छैन । ‘सब बेस’ ओछ्याएर त्यतिकै छाडेको पाइएको छ । बरियार र हरनहिया चोकमा कालोपत्रे नगरेको हो । त्यस ठाउँमा वर्षायाममा सडक हिलाम्मे हुने गरेको छ ।


कालोपत्रे गर्दा प्रयोग भएको मसिनो गिट्टी सडकको पेटीमा जताततै छाडेको देखिन्छ । त्यसलाई सफाइ नगर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ । ‘बाटो काट्दा दुर्घटना हुने गरेको छ,’ आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वाका मनोज जयसवालले भने, ‘बहुउपयोगी र बहुप्रतिक्षित यो मार्ग कालापत्रे बने पनि व्यवस्थापन अभावमा अहिले आहोरदोहोर कठिन छ ।’


कालोपत्रे बनाइएको सडकको कतिपय ठाउँमा सडकको दुवै छेउमा अझै पनि मर्मतको नाममा माटो थुपारेर छाडेकाले आहोर–दाहोर गर्न र बाटो काट्न झन् कठिनाइ भएको उनको भनाइ छ । ‘माटो थुपारेकाले सडकभरि पानी जमेर यात्रुलाई सास्ती हुने गरेको छ,’ उनले भने । ठेकेदारको हेलचक्रयाईंलाई सम्बन्धित हुलाकी मार्ग आयोजनाले अनुगमन नगरेकाले समस्या भएको उनले आरोप लगाए । सम्झौताअनुसार दुई लेनका लागि सात मिटर चौडाइ कालोपत्रे गर्नुपर्नेछ ।


सडकको बीच भागबाट १५/१५ मिटर दायाँबायाँ विस्तार गर्नुपर्नेछ । तर, थुप्रै ठाउँमा त्यति क्षेत्र नलिइएको पाइएको छ । कार्यालयका साइड इन्जिनियर गुप्ताले स्थानीय बासिन्दाले जग्गाको मुआब्जामा चित्त नबुझाएपछि कतिपय ठाउँमा कालापत्रे गर्न समस्या आएको छ । नापीअनसार सडक विस्तार गर्न नसकिएको उनी बताउँछन् ।


प्रकाशित : कार्तिक ५, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?