समयमा खुल्दैनन् विद्यालय

अवधेशकुमार झा

सप्तरी — सप्तरीको विष्णुपुर गाउँपालिका ७ स्थित जनता आधारभूत विद्यालय अगाडि आइतबार बिहान साढे ९ बजे विद्यार्थी आएका थिए  । तर, विद्यालयको मूलगेटमै ताल्चा लागेको थियो  ।

उनीहरू विद्यालयको छेवेमा निर्माणाधीन विद्यालय भवनका अगाडि किताब राख्दै बसे । केही बेरसम्म बस्दा पनि उनीहरूको विद्यालय खुलेन ।


१० बज्नै लाग्दा एकजना बालक आएर कक्षा ७ की छात्रा प्रियंकाकुमारी मण्डलका हातमा साँचोको झुत्तो दिए । प्रियंकाले विद्यालयको मूलगेटको ताल्चा खोलिन् । विस्तारै विद्यार्थी कक्षा कोठा तर्फ लागे । विष्णुपुर गाउँपालिकाको कार्यालयसित टाँसिएकै विद्यालयको अवस्था हो यो ।


विद्यार्थी आफैं ताल्चा खोलेर विद्यालय प्रवेश गरेपछि तस्बिर लिन लाग्दा नजिकै रहेका गाउँपालिकाका एकजना कर्मचारीले प्रधानाध्यापक नन्दलाल यादवलाई फोन गरी विद्यालयमा पत्रकार आएको सुनाए । लगतै प्रअ यादव विद्यालय पुगे ।


विद्यालय त विद्यार्थीले खोले नि ? भन्ने प्रश्नमा प्रअ यादव केही बेर अक्मकिए । उनले अरू सबै दिन आफू नै विद्यालय खोल्ने गरेको बताउँदै आज (आइतबार) बाटोमा आफूलाई काम परेकाले विद्यार्थीलाई नै साँचो जिम्मा लगाएको बताए । उक्त विद्यालयमा कार्यालय सहयोगी छैनन् । प्रअ यादवबाहेक अन्य ६ जना शिक्षक विद्यालयमा कार्यरत छन् । एकजना क्रियाबिदाबाहेक अन्य शिक्षक पनि समयमा आएनन् ।


सात कक्षासम्म अध्ययापन हुने उक्त विद्यालयमा गत शुक्रबार १६ जना विद्यार्थी रहेको कक्षा ७ मा ६ जना, ३३ जना विद्यार्थी रहेको कक्षा ६ मा ११ जना, २९ जना विद्यार्थी रहेको कक्षा ५ मा ९ जना, २५ जना विद्यार्थी रहेको कक्षा ४ मा ७ जना र २९ जना विद्यार्थी रहेको कक्षा ३ मा ९ जना विद्यार्थी मात्र उपस्थित रहेको हाजिरी रजिष्टरको तथ्यांकमा देखियो । कक्षा १, २ र बालविकासको त दैनिक हाजिरी समेत गरेको देखिएन ।

प्रधानाध्यापक यादवले शुक्रबार शिक्षकहरूको हडतालका कारण केही कक्षाको हाजिरी गर्न नभ्याएको प्रष्टीकरण दिए । उनले चाडपर्वका कारण विद्यार्थी कम भएको बताए । ‘हामी दैनिक समयमै विद्यालय आउछौं तर आज अलि ढिलो भयो,’ प्रअ यादवले भने । विद्यालयमा कक्षा सञ्चालन भइरहँदा पनि केही शिक्षक कक्षा बाहिरै घुमिरहेका थिए । गाउँपालिका अध्यक्ष लीलाम्बर यादवले विद्यालयका समस्याबारे आफू गम्भीर रहेको र सुधारको प्रयास गर्ने बताए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘बल्ल पाइयो पानी’

भूषण यादव

वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका ४ रामनगरी निवासी कन्तुरी देवीलाई एक महिना अगाडिसम्म खाने पानीको जोहो गर्न धौ धौ हुन्थ्यो  । सार्वजनिक चापाकल उनको घरभन्दा २० मिनेटको दूरीमा छ  ।

श्रीमान् मजदुरीमा जाँदा बच्चा बोकेरै पानी भर्न जानु पथ्र्यो । कन्तुरीका अनुसार भाँडा माझ्न र कपडा धुन समस्या थियो । कतार रेडक्रिसेन्ट सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्साले कन्तुरीको घर नजिकै चापाकल जडान गरिदिएको छ । ‘घर छेउमै चापाकल जडान भएपछि खुसी लागेको छ,’ कन्तुरीले भनिन्, ‘जीवनमा केही सुविधा भएको छ ।’ रामनगरीकै ३५ वर्षीय मीना देवीले छिमेकीबाट खाने पानी ल्याउने गर्थिन् । रेडक्रसले घर अगाडि चापाकल जडान गरिदिएपछि खानेपानी लिन अरूको घरमा जान नपरेको मीनाले बताइन् ।


कतार रेडक्रिसेन्टको ६८ लाख रुपैयाँको आर्थिक सहयोगमा नगरपालिकामा २ सय थान प्लेटफार्म सहितको सामुदायिक चापाकल जडान गरिएको रेडक्रस पर्साका सभापति वीरेन्द्रराज कँडेलले जनाए । ‘समुदाय भेला गरी ४/५ परिवारको आवश्यकताका आधारमा चापाकल जडान गरिएको हो,’ उनले भने, ‘अति विपन्न दलित परिवारलाई प्राथमिकतामा राखिएको छ ।’ वडा अध्यक्ष र रेडक्रसको रोहबरमा उपसमिति समेत गठन गरिएको हो । मर्मत सम्भारका लागि एक सेट चापाकल औजार किट समेत उपलब्ध गराइएको छ । ‘यस परियोजनाले ५ हजार ५ सय ५५ जनसंख्या लाभान्वित बनेका छन्,’ रेडक्रसका सभापति कँडेलले भने, ‘मर्मत सम्भार र सरसफाईमा ध्यान दिन जोड दिएका छौँ ।’ विद्यालयमा सुरक्षित खानेपानीको प्रयोगमा पहुँच पुर्‍याउन ५० वटा विद्यालयमा बेसिन निर्माण गरिएको परियोजना प्रमुख श्रुती चौधरीले बताए ।


चौधरीका अनुसार सर्वव्यापी पहुँचका लागि खानेपानी तथा स्वच्छता प्रवद्र्धन अन्तर्गत विद्यालय तथा समुदायमा सुरक्षित खानेपानीको प्रयोगमा पहुँच पुर्‍याई सरुवा रोगमा कमी ल्याउने उद्देश्य राखिएको जनाए । ‘सरसफाई तथा हातधुने बानीको विकास गर्नेका लागि हातधुने प्रयोगात्मक अभियान, सरसफाई अभियान, विद्यालय स्तरीय खानेपानी सञ्जाल तथा ५० वटा बेसिन निर्माण गरिएको हो,’ चौधरीले भने । अति विपन्न परिवारमा २५ वटा चर्पी समेत निर्माण गरिएको छ । नगरपालिकाको १० हजार र रेडक्रसको १० हजार रुपैयाँ गरी २० हजार रुपैयाँको लागतमा चर्पी निर्माण गरिएको चौधरीले जनाए । गत पुस १७ देखि सञ्चालनमा आएको परियोजनाको पहिलो चरणको काम ७ महिनामा सम्पन्न भएको रेडक्रसले जनाएको छ । यसबीच आर्थिक सहयोग गर्ने कतार रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिले ५ पटक स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT