कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बल्ल पाइयो पानी’

भूषण यादव

वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका ४ रामनगरी निवासी कन्तुरी देवीलाई एक महिना अगाडिसम्म खाने पानीको जोहो गर्न धौ धौ हुन्थ्यो  । सार्वजनिक चापाकल उनको घरभन्दा २० मिनेटको दूरीमा छ  ।

श्रीमान् मजदुरीमा जाँदा बच्चा बोकेरै पानी भर्न जानु पथ्र्यो । कन्तुरीका अनुसार भाँडा माझ्न र कपडा धुन समस्या थियो । कतार रेडक्रिसेन्ट सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्साले कन्तुरीको घर नजिकै चापाकल जडान गरिदिएको छ । ‘घर छेउमै चापाकल जडान भएपछि खुसी लागेको छ,’ कन्तुरीले भनिन्, ‘जीवनमा केही सुविधा भएको छ ।’ रामनगरीकै ३५ वर्षीय मीना देवीले छिमेकीबाट खाने पानी ल्याउने गर्थिन् । रेडक्रसले घर अगाडि चापाकल जडान गरिदिएपछि खानेपानी लिन अरूको घरमा जान नपरेको मीनाले बताइन् ।


कतार रेडक्रिसेन्टको ६८ लाख रुपैयाँको आर्थिक सहयोगमा नगरपालिकामा २ सय थान प्लेटफार्म सहितको सामुदायिक चापाकल जडान गरिएको रेडक्रस पर्साका सभापति वीरेन्द्रराज कँडेलले जनाए । ‘समुदाय भेला गरी ४/५ परिवारको आवश्यकताका आधारमा चापाकल जडान गरिएको हो,’ उनले भने, ‘अति विपन्न दलित परिवारलाई प्राथमिकतामा राखिएको छ ।’ वडा अध्यक्ष र रेडक्रसको रोहबरमा उपसमिति समेत गठन गरिएको हो । मर्मत सम्भारका लागि एक सेट चापाकल औजार किट समेत उपलब्ध गराइएको छ । ‘यस परियोजनाले ५ हजार ५ सय ५५ जनसंख्या लाभान्वित बनेका छन्,’ रेडक्रसका सभापति कँडेलले भने, ‘मर्मत सम्भार र सरसफाईमा ध्यान दिन जोड दिएका छौँ ।’ विद्यालयमा सुरक्षित खानेपानीको प्रयोगमा पहुँच पुर्‍याउन ५० वटा विद्यालयमा बेसिन निर्माण गरिएको परियोजना प्रमुख श्रुती चौधरीले बताए ।


चौधरीका अनुसार सर्वव्यापी पहुँचका लागि खानेपानी तथा स्वच्छता प्रवद्र्धन अन्तर्गत विद्यालय तथा समुदायमा सुरक्षित खानेपानीको प्रयोगमा पहुँच पुर्‍याई सरुवा रोगमा कमी ल्याउने उद्देश्य राखिएको जनाए । ‘सरसफाई तथा हातधुने बानीको विकास गर्नेका लागि हातधुने प्रयोगात्मक अभियान, सरसफाई अभियान, विद्यालय स्तरीय खानेपानी सञ्जाल तथा ५० वटा बेसिन निर्माण गरिएको हो,’ चौधरीले भने । अति विपन्न परिवारमा २५ वटा चर्पी समेत निर्माण गरिएको छ । नगरपालिकाको १० हजार र रेडक्रसको १० हजार रुपैयाँ गरी २० हजार रुपैयाँको लागतमा चर्पी निर्माण गरिएको चौधरीले जनाए । गत पुस १७ देखि सञ्चालनमा आएको परियोजनाको पहिलो चरणको काम ७ महिनामा सम्पन्न भएको रेडक्रसले जनाएको छ । यसबीच आर्थिक सहयोग गर्ने कतार रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिले ५ पटक स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?