१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आलुको बोरामा चाँदी तस्करी

कान्तिपुर संवाददाता

पर्सा — सशस्त्र प्रहरीले जाँचका क्रममा वीरगन्ज र सिम्रौनगढबाट करिब २८ किलो चाँदी तथा त्यसबाट बनेका गरगहना बरामद गरेको छ । 

शुक्रबार वीरगन्जको रजतजयन्ती चोकमा सशस्त्र प्रहरी राजस्व गस्ती गुल्मबाट खटिएको टोलीले भारतबाट ल्याइएको आलुको बोराबाट ८ किलो ८ सय ८० ग्राम चाँदी जस्तै देखिने मिश्रित चाँदीका गहना लगायतका सामान बरामद गरेको हो ।


सप्तरी जिल्ला नेगरा ३ घर भई हाल चितवन जिल्ला खैरवनी नपा ८ बस्ने ४५ वर्षीय अंगद साहले ती सामग्री आलुको बोरामा लुकाई छिपाई ल्याउँदै गरेका थिए । शुक्रबारै बाराको सिम्रौनगढबाट पनि १९ किलो १ सय ग्राम चाँदी बरामद भएको छ । सिम्रौनगढ नपा ६ सतुअही नाकास्थित सशस्त्र प्रहरी बल बीओपी गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमान्डमा खटिएको टोलीले उक्त चाँदी बरामद गरेको हो ।


भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली पैठारी गरी आलुको बोराभित्र लुकाई मोटरसाइकलमा ल्याउँदै गरेको मिश्रित चाँदी बरामद भएको हो । बारा जिल्ला बारागढी गाउँपालिका ६ भवानीपुरका ३२ वर्षीय मुख्ती साह आलुको बोरासहित पक्राउ परेका हुन् । चाँदी तस्करी गर्दा पक्राउ परेका दुवैलाई बरामद भएका तस्करीका चाँदीसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी राजस्व गस्ती गुल्मका गुल्मपति डीएसपी अमरबहादुर खत्रीले जानकारी दिए ।


एकै दिन पर्सा र बाराका दुई भिन्न नाकाबाट आलुकै बोराबाट चाँदीका सामग्री बरामद हुनुले तस्करीका लागि पछिल्लो समय आलुको बोरा प्रयोग गरिरहेको खुलासा भएको छ । नेपालभन्दा भारतमा चाँदी सस्तो हुने भएकाले विगतदेखि नै भारतबाट नेपालतर्फ चाँदी तस्करी हुँदै आएको छ ।


प्रकाशित : कार्तिक ३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?