कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मालपोतमा सेवाग्राहीलाई सास्ती

सुनिता बराल

(बर्दिवास) — मालपोत कार्यालय बर्दिवासमा कर्मचारी अभाव हुँदा विभिन्न काम लिएर कार्यालय पुग्ने सेवाग्राही मारमा परेका छन् । मुद्दा फाँट र तामेली फाँटमा कर्मचारी अभाव भएपछि सेवाग्राहीलाई एउटै कामका लागि २/३ दिन धाउनुपर्ने बाध्यता छ । 

मालपोतमा सेवाग्राहीलाई सास्ती

साविकका बर्दिवास, गौरीवास, हाथीलेट, किसाननगर, बिजलपुरा, खयरमारा, पशुपतिनगर (हाल बर्दिवास नगरपालिका) र भंगहा गाविस (हाल भंगहा नगरपालिकाका ३, ४ र ५) बाट सेवा लिन आउने सेवाग्राही मर्कामा परेका हुन् । जनतालाई सजिलै सेवा दिने उद्देश्यले २०७२ सालमा स्थापना भएको मालपोत कार्यालय बर्दिवासबाट कर्मचारी नहुँदा काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको छ ।


५ धुर जग्गा पास गर्न कार्यालय पुगेकी सिन्धुली भिमानकी पुजादेवी साहले भनिन्, ‘कित्ताकाट गरेर जग्गा पास गराउन ३ दिनदेखि धाइरहेको छु । ३ हजार रुपैयाँ कागज तयार पारिदिनेले लिए । काम अझै भएको छैन ।’ काम गराउने ठाउँमा कर्मचारी नै नभएपछि अरुकै हातमा कागजपत्र र मागेजति पैसा दिएर काम लगाएको उनले बताइन् ।


कर्मचारीको अभावमा काम ढिला हुने भएपछि सेवाग्राही विचौलियाबाट पनि ठगिने गरेका छन् । एक दिनमै काम नहुँदा बारम्बार कार्यालय धाउनको झन्झटले काम गराइदिन्छु भन्ने व्यक्तिलाई सेवाग्राहीले मागेजति पैसा दिएर काम गराउने गरेका स्थानीय सरिता साहले बताइन् । हाल कार्यालयमा एक उपसचिव, दुई अधिकृत, सात नायबसुब्बा (नासु), तीन खरिदार, एक सहलेखापाल, दुई कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगीसहित २० जनाको दरबन्दी भए पनि १० जनामात्र छन् । यिनमा पनि स्थायी कर्मचारी ५ जनामात्र रहेको कार्यालयले जनाएको छ ।


गत भदौ ३० गतेबाट मालपोत कार्यालय बर्दिवासले ‘अनलाइन’ बाट काम सुरु गरेको छ । अनलाइन सेवा सुरु भएपछि कार्यालयबाट काम लिन अझै ढिलासुस्ति हुने गरेको सेवाग्राही बताउँछन् ।


कार्यालयमा विभिन्न फाँटमा कर्मचारी नहुँदा र भएका कर्मचारी पनि अनलाइन सेवाका लागि दक्ष नभएकाले सेवाग्राहीले झन् दु:ख पाएका लेखापढी व्यवसाय सञ्चालन गरेर बसेका शान्तप्रसाद चौलगाईंले बताए । कार्यालयबाट सेवा प्रवाह ढिलो हुने गरेकाले कतिपय सेवाग्राहीको काम कर्मचारीको उपस्थिति र अनुकुलतामा गर्नपरेपछि सेवाग्राहीले बाध्यतामा आफूहरूलाई काम छोडेर जाने गरेको उनले बताए ।


सेवाग्राहीको काम गरे वापत लेखापढी व्यवसायी संघ बर्दिवासले तोकेको शुल्कका आधारमा आफूले सेवाग्राहीबाट १ हजार ५ सयभन्दा बढी रकम नलिएको उनले दाबी गरे । यता सेवाग्राहीले भने आफूसँग ३ हजारसम्म लिने र आफूलाई पैसा तिरेको रसिदसम्म नदिने गरेको बताएका छन् ।


यता, कार्यालयका निमित्त प्रमुख कोमल रञ्जन बरालले भने जनताको काममा कुनै ढिलासुस्ती नभएको दाबी गर्छन् । कर्मचारी अभावकै बीचमा पनि नेट र सर्भरले काम गर्दा जनताको काम नरोकिएको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?