चार वर्षमा बल्ल छाना

जनता आवासअन्तर्गत ०७३ झुप्रा भत्काएर निर्माण सुरु गरिएका घरमा ढिलो गरी छाना लगाए पनि अझै झ्याल ढोका राखिएका छैनन 
शिव पुरी

(रौतहट) — हावाहुरी, पानी, र शितहलरको मार खेप्दै आएका चन्द्रपुर ९ स्थित मुसहर बस्तीका स्थानीयले चार वर्षपछि घरको छाना पाएका छन् । जनता आवासले छँदाखाँदाको घर भत्काएर पक्की बनाउने सपना देखाइ बिजोग बनाइएका मुसहर बस्तीमा भर्खरै मात्र जस्ताको छाना लगाइएको हो ।

छाना नभएकाले जाडो र वर्षाका बेला उनीहरूको अवस्था कष्टकर हुन्थ्यो । मुसहर बस्तीका ७२ मध्ये २१ जनाको जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाइदिने भन्दै झुपडी भत्काइएको थियो । घर भत्काएपछि उनीहरू अर्काकोमा ओत लाग्ने गरेका थिए । कोही छाना नभएकाले घरभित्र त्रिपाल राखेर बस्ने गर्थे ।

स्थानीय कुन्ती माझीले चार वर्षपछि बल्ल छाना लगाइदिएको बताए । ‘एउटा घर बनाउन चार वर्ष लाग्ने रहेछ । हेप्ने पनि सीमा हुन्छ,’ उनले भनिन्, ‘कसरी वर्षा र जाडो कटायौं भन्ने अरूलाई के थाहा । गरिबको बिजोग गराउने काम भयो ।’ छाना लगाइए पनि अधिकांश घरमा अहिले पनि झ्याल ढोका छैनन् । प्लास्टर गरिएको छैन । भुइँ चिसै छ ।

लामो समयदेखि जिल्लाबाट सम्बन्धित निकायका मानिस नआएको भन्दै आक्रोसित थिए । जनता आवासले जिल्लाभरि सुरु गरेको घर बनाउने काम अलपत्र छाडेको थियो । यसले दलित बस्तीका स्थानीयको बिजोग बनाइदिएको छ । उनीहरूका बालबालिकालाई वर्षा र हिउँदमा चिसोबाट जोगाउनै मुस्किल पर्दै आएको थियो । गत वर्ष चिसो लागेर चेतनगरमा बालबालिका बिरामी परे ।

इशनाथ नगरपालिका २ औरैयास्थित मुसहर बस्तीमा ४५ घर मुसहर समुदायका छन् । दुई वर्ष अघि गरिब समुदायलाई पक्कीघरको सपना देखाएर आवास कार्यक्रम अन्तर्गत पुरानो झुपडी भत्काइएको थियो । उनीहरूलाई पक्की घर बनाइदिए पनि गौर नगरपालिकाको पुरेनवास्थित मुसहर बस्तीमा २ वर्षपछि मात्र घरमा छाना लगाइदिएको हो ।

यस जिल्लामा विपन्न समुदायका लागि ०७३/७४ मा १ हजार र ०७४/७५ मा ९ सय घर निर्माणका लागि छनोटमा परेका थिए । बजेट अभावले कतिपय बस्तीमा काम सम्पन्न हुन नसकेको जनता आवस कार्यक्रमका जिल्ला संयोजक एवम प्रदेश सांसद बाबुलाल साहले बताए । ‘अहिलेसम्म बजेट पठाएको छैन,’ उनले भने, ‘यसरी कार्यक्रम कसरी सम्पन्न हुन्छ । अझै पनि धेरै स्थानमा मुसहर समुदायको घर अलपत्र अवस्थामा छ । चाडो बजेट विनियोजन गरी अधुरो भवनको काम सक्नुपर्छ ।’ गरिबीको रेखामुनि रहेका नेपाली नागरिकको आवासको भौतिक अवस्थामा सुधार गरी स्वास्थ्य तथा सुरक्षित आवासमा उनीहरूको पहुँच बढाउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम ल्याएको हो ।

सरकारले ०६६/६७ को बजेट तथा कार्यक्रममा जनता आवास कार्यक्रममार्फत सिराहा, सप्तरी तथा कपिलवस्तु जिल्लाका दलित तथा विपन्न मुलसमानहरूलाई लक्षित गरी प्रत्येक जिल्लामा १/१ गरी ३ हजार परिवारलाई न्यून लागतका आधुनिक आवास निर्माण गरी बसोबासको व्यवस्था गर्ने उल्लेख भए अनुसार कार्यक्रम सुरु गरेको हो । आव ०६७ र ०६८ मा कार्यक्रमलाई निरन्तरता दिँदै चेपाङ राउटे तथा सुकुन्डा बस्तीमा पनि बिस्तार गरिएको थियो ।

आव ०७३/७४ मा नेपाल सरकार मन्त्रिपरिषद्ले लक्षित वर्गलाई आवासको व्यवस्था गर्ने सहरी विकास तथा भवन निर्माण विभागमार्फत कार्यविधि २०७१ स्वीकृत गरेको थियो । कार्यक्रम हुने स्थानमा स्थायी बसोबास गर्दै आएका डोम, मुसर, चामार, दुसाद, खत्वे र अन्य दलितको हकमा राष्ट्रिय दलित आयोगको सूची (गन्धर्व) परियार, बादी, विश्वकर्मा, सार्की, कलर, कैहिया, कोरी, खटिक, चिडिमार, तत्मा, धोबी, पत्थरकट्टा, पासी, बातर, मेस्तर, सरभंग, परिवार मुसहरभित्र पर्ने सबै थर जनता आवासको छनोटमा पर्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीरगन्ज–पथलैया सडक निर्माण सुस्त

शंकर आचार्य

(पर्सा) — सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरूको ढिलासुस्तीका कारण वीरगन्ज पथलैया व्यापारिक मार्ग निर्माणको कामले गति लिन सकेको छैन । योजना अन्तर्गत हालसम्म सरदर ४५ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न हुन सकेको छ । 

व्यापारिक मार्ग विस्तार योजना (वीरगन्ज–पथलैया सडक) का निमित्त प्रमुख अरुणकुमार कर्णले सम्पूर्ण प्याकेजमा हालसम्म सम्पन्न काम हेर्दा औसतमा ४५ देखि ५० प्रतिशत काम मात्र भएको बताए । ‘कसैले ३५ प्रतिशतसम्म र कसैले ६५ प्रतिशतसम्म काम गरेका छन्,’ उनले भने, ‘सबैभन्दा कम काम भएको प्याकेज नम्बर ५ हो, यसमा अन्य प्याकेजको तुलनामा अत्यन्त कम काम भएको छ ।’ प्याकेज ५ को ठेकेदार ज्वाइन्ट भेन्चरका ठेकेदार कम्पनीहरू शर्मा/युनाइटेड बिल्डर्स/दिवा हुन् । ढिलो काम गरेका यो प्याकेजको ठेकेदारलाई १ करोड ५० लाख रुपैयाँ जरिवाना पनि गरिएको उनले बताए ।

लक्षित समयमा निर्धारित काम पूरा नगरेकाले ठेकेदार कम्पनीलाई जरिवाना गरिएको उनले बताए । ‘३ चरणको माइलस्टोनमध्ये पहिलो नै मिट नगरेकाले जरिवाना गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा २५, दोस्रोमा ७५ र तेस्रो चरणमा शतप्रतिशत काम पूरा गर्नैपर्छ, अन्य प्याकेजको हकमा पनि यही नियम रहेको छ ।’

प्याकेज ५ को ठेक्का ८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा लागेको हो । २०७३ असार २९ को सम्झौता अनुसार २०७६ असोज २८ सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । कर्णले यो लगायत अन्य प्याकेजको काम पनि आउँदो असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताए ।

साउन यता २ महिना निर्माण कम्पनीले खोलानालाबाट बालुवा, क्रसर आदि नपाउँदा निर्माण प्रभावित भए पनि हाल खोला नाला खुलिसकेकाले अब निर्माणले गति लिनेमा आफू आशावादी रहेको उनले बताए ।

यस योजना अन्तर्गत निर्माणाधीन पथलैया–परवानीपुर–वीरगन्ज–सुक्खा बन्दरगाह सडक खण्डमा पर्ने लल्का र सिर्सिया खोलामा गरी ३ वटा पुल निर्माण भइरहेका छन् । ती पुल पनि ६ लेनकै निर्माण गरिँदै छन् । ३ वटै पुलको लागत १ अर्ब रुपैयाँ रहेको छ । लल्का पुल निर्माणको ठेक्का इलाइट/एसबीए कम्पनीले पाएका छन् भने सिर्सिया खोलाको दुवै पुलको निर्माणको ठेक्का लुम्बिनी/मृत सञ्जिवनीले पाएका छन् ।

पुलको निर्माण हालसम्म सन्तोषजनक रहेको कर्णले बताए । ३ वटै पुल ६ लेनको र ५० मिटर चौडा हुनेछन् । व्यापारिक मार्ग पनि ६ लेन र ५० मिटर चौडा निर्माण हुन लागेकाले पुललाई पनि त्यसै आकारको बनाउन लागिएको उनले बताए । राजमार्ग ६ लेनको र पुल २ लेनको हुँदा चालकलाई समस्या हुने, दुर्घटनाको जोखिम बढ्ने र पुलहरूमा जाम समेत लाग्न सक्ने भएकाले राजमार्ग र पुलको चौडाइ एक समान बनाउन लागिएको हो । पुल बनेपछि ६ लेनको सडकबाट गुज्रने सवारी साधनले पुल माथिबाट गएको अनुभव गर्नेछैनन् ।

३० किमि ६ सय ६० मिटर व्यापारिक मार्गलाई ७ वटा ब्लकमा विभाजित गरी भिन्दाभिन्दै ठेक्का लगाइएको छ । हाल २ लेनको रहेको त्रिभुवन राजपथ र परवानीपुर सुक्खा बन्दरगाह सडक खण्डलाई ६ लेनमा बिस्तार गर्न लागिएको हो । करिब ५ अर्ब ५० करोड रुपैयाँ लागतमा सडक खण्डलाई बिस्तार गर्न लागिएको हो । मुलुकको कुल आयातको आधाभन्दा बढी मालवस्तु आयात हुने वीरगन्ज नाकाको प्रमुख सडकलाई विस्तार नगरिँदा मालबाहक सवारी साधन गुडाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिक्कै रहँदै आएको छ । यहाँका उद्योगी व्यवसायीले पनि लामो समयदेखि यो सडक खण्डको बिस्तारको माग गर्दै आएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्