१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

टिफिनपछि पढाइ बन्द

सन्तोष सिंह

धनुषा — रामगोपालपुर नगरपालिका–९ गोठबनौलीस्थित बालज्ञान अधारभूत विद्यालयको प्रवेशद्वारमा बाख्रा, पाठापाठी बाँधिएको छ । परिसरमा पीपलको बोटमुनि घाँसमा कक्षा १ देखि ३ सम्मका २० जना विद्यार्थीर् तीनजना शिक्षिकासँग पढ्दै थिए । 

टिफिनपछि पढाइ बन्द

टिपिनपछि कक्षा तीनसम्मका विद्यार्थी चौरमा बसेर खेलिरहँदा नजिकैको बेन्चमा बसेर बालविकास शिक्षिका मञ्जु यादव, सिन्धु यादव र राहत शिक्षिका सरिता मण्डल गफिँदै थिए ।


विद्यालयमा विद्यार्थी नभएकै कारण शिक्षक सरोजकुमार यादव फुर्सदमा मोबाइल चलाएर बसेका थिए भने अर्का शिक्षक कक्षा ४ र ५ का ८ जना विद्यार्थीलाई एउटै कक्षामा पढाउँदै थिए । कक्षा ५ सम्म २ सय ४१ जना विद्यार्थी नमांकन रहेको बालज्ञान अधारभूत विद्यालयमा २८ जना विद्यार्थी मात्रै उपस्थित थिए । विद्यालयको बेथितिकै कारण बिहान पढ्न आएका विद्यार्थी टिफिनमै घर फर्किने गरेका छन् ।


विद्यालयमा दिइँदै आएको खाजा रोकिएपछि विद्यार्थी टिकाउन समस्या भएको शिक्षक सरोजकुमार यादवले बताए । तर, स्थानीय अभिभावका अनुसार विद्यालयका शिक्षक गम्भीर नहुँदा विद्यालयमा पढाइनै हुँदैन । पढाइ नभएका कारण विद्यार्थी टिफिनमै घर लाग्ने गरेको स्थानीय जुगलकिशोर मण्डलले बताए ।


भर्ना भएका विद्यार्थी नजिकैको निजी विद्यालयमा जान थालेपछि विद्यालय सुनसान भएको प्रधानाध्यापक ठाकुर साहले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्न दुई पक्षको तनातानमा शैक्षिक अवस्था धराशायी भएको साहले बताए । ‘विद्यालयमै मदिराको बोतल फ्याकिएको हुन्छ,’ प्रअ साहले भने, ‘विद्यार्थीका अभिभावक र जनप्रतिनिधि सचेत नहुँदा विद्यालय सञ्चालन गर्नै समस्या भएको छ ।’ रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डलले दिवा खाजा केही दिन स्थगित भए पनि पुनः सञ्चालनको तयारी भइरहेको बताए ।


नगर सभा नहुँदा विद्यालयको खाजा कार्यक्रम रोकिएको मण्डलले बताए । गोठबनौलीस्थित बालज्ञान अधारभूत विद्यालय दयनीय अवस्था उदाहरण मात्रै हुन् । महोतरीको ग्रामीण क्षेत्रका अधिकांश अधारभूत विद्यालयको अवस्था दयनीय छ । विद्यालय राजनीतिक पहुँचका अधारमा जागिर खाने थलो मात्र बनेको छ । अनुदान शिक्षक कोटामा नियुक्त शिक्षक–शिक्षिका दक्ष नहुँदा पढाइ प्रभावित भएको छ ।


महोत्तरीमा शिक्षकको गैरजिम्मेवारीपनका कारण सामुदायिक विद्यालयको साख संकटमा परेको छ । शिक्षक विद्यालयमा हाजरी गरी गफमा व्यस्त भएपछि सामुदायिक विद्यालयमा पढन आएका विद्यार्थी समेत घर फर्किन थालेका छन् । शिक्षा स्थानीय तहमा आएपछि शिक्षकको व्यवहारमा परिवर्तन नहुँदा सामुदायिक विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?