कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चुरे क्षेत्रमा बल्ल बिजुली

बिहीबारे, कसाइटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचौरीका १ सय ३ घरधुरीमा बिजुली पुग्यो
भरत जर्घामगर

(सिरहा) — वर्षौदेखि अँध्यारोमा बस्न बाध्य सिरहाको उत्तरवर्ती चुरेक्षेत्र धनगढीमाई नगरपालिका– १४ का बस्तीमा बल्ल बिजुली पुगेको छ । 

चुरे क्षेत्रमा बल्ल बिजुली

वडा–१४ र नगरस्तरीय बजेटबाट बिजुली पुगेपछि उत्तरवर्ती चुरेक्षेत्रका बिहीबारे, कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचौरीका १ सय ३ घरधुरी लाभान्वित भएका हुन् ।


उत्तरवर्ती विकट चुरे क्षेत्रका ती बस्ती बाटोघाटो, खानेपानी, बिजुली, सञ्चार र स्वास्थ्य सेवाबाट समेत वञ्चित थिए । धनगढीमाई नगरपालिका बनेसँगै ती बस्तीमा पुग्न सडक सञ्जाल बिस्तार गरिएको हो । सडक पुगेपनि बिजुली नपुग्दा सोलार र टुकी कै भर थियो ।


पूर्व पश्चिम राजमार्गको जिरोमाइलबाट १३ किलोमिटर उत्तर विकट क्षेत्रका ती गाउँका लागि नगरपालिकाले बिजुलीका लागि आर्थिक वर्ष २०७५/७६ को वडा र नगरस्तरीय ३० लाख रुपैयाँ बजेट खर्चिएको थियो । नगरप्रमुख हरि नारायण चौधरीले बिजुलीको उद्घाटन गरेका हुन् ।


‘रात परेपछि सोलारको भर पर्न बाध्य थियौं, वर्षायाम र जाडो मौसममा घाम नलाग्दा सोलार काम गर्दैनथ्यो।’ बिहीबारेकी गृहिणी लालसेरी राईले भनिन्, ‘सोलारले काम नगर्दा शिशीमा सलेदो हालेर महंगो मट्टितेल प्रयोग गरी टुकी बाल्नुपर्थ्यो, बिजुली बलेपछि खुशी छौं ।’ अन्धकारबाट टुकी र सोलारको प्रकाशले मधुरो उज्यालो भएपनि बालबालिकाको पठन पाठन र घरेलु कामकाजी महिलाले बिजुली नहुँदाको पीडा धेरै भोगेको उनले सुनाइन् ।


‘खाना, खुडो पकाउँदा दाउराको धुँवा, रातपर्‍यो टुकीको धुवा खप्नुपरेको थियो,’ अमलीटारकी रन्जना मगरले भनिन्, ‘दोहोर मारमा पर्दा कतिपय महिलामा स्वास्थ्य समस्या समेत देखा पर्न थालेको थियो, बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ ।’ ‘सोलारको प्रकाश मधुरो हुँदा अक्षर देख्नलाई समस्या हुन्छ,’ मदन भण्डारी स्मृति माविमा कक्षा ५ मा अध्ययनरत करमचौरीका सन्देश राईले भने, ‘बिजुली बलेपछि सोलारको मधुरो प्रकाश झेल्नुपरेको छैन, पढाईमा सहज भएको छ ।’


१० गाउँमा टुकीकै भर

धनगढीमाई नगरपालिकाको उत्तरवर्ती विकट चुरे क्षेत्रको वडा १४ का ६ गाउँमा बिजुली पुगेपनि त्यहीं वडाका १० गाउँ अझै टुकी कै भरमा छन् । केही घरमा मात्र सोलार बत्ती राखिएका छन् । चट्टान, मैनामैनी, चकमके, हात्तीढुंगा, राई खोला, बीचलापानी, खट्टी, मड्यान, महाजनी, अम्बलेलगायत १० गाउँका स्थानीय अझै टुकी कैं भरमा रात काट्न बाध्य छन् । । धेरैजसो खोलानाला पर्ने ती गाउँको वर्षायाममा तीन महिना बजारसँग सम्बन्धविच्छेद हुन्छ ।


अधिकांश मगर, राई, तामांग, सुनुवार समुदायको वसोवास रहेको उत्तरवर्ती विकट चुरे क्षेत्रमा अवस्थित ती गाउँमा ५ हजार भन्दा बढी जनसंख्याको बसोवास छ । वडाध्यक्ष ठरेन्द्र राईले १ सय ३ घरधुरीमा बिजुली पुर्‍याउन सफल भएपनि वडाका अझै १० गाउँमा बिजुली पहुँच नहुँदा टुकीकैं भरमा रहेको बताए । उनले चालु आवमा वडाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरी चट्टान, मैनामैनी, चकमके, हात्तीढुंगा, राईखोला लगायत आठ गाउँमा बिजुली पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिए । त्यसैगरी आर्थिक वर्ष ०७६/७७ मा बिजुलीकै लागि महाजनी र मड्यानसम्म बिजुली पुर्‍याउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।


प्रकाशित : कार्तिक १, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?