गाउँपालिकामा कर्मचारी अभाव

ओमप्रकाश ठाकुर

(सर्लाही) — धनकौल गाउँपालिका–९ स्थित जयश्रीराम निर्माण सेवाका सञ्चालक शिवकिशोर सिंह संस्थाको नविकरणका भौंतारिएका छन् । संस्थाको नविकरणका असोज मसान्तभित्र गर्नुपर्ने कानुनी प्रावधान छ । कार्यालयमा कर्मचारी नभएकै कारण उनको संस्थाको नविकरण नभएको हो । 

संस्था नविकरण नभए ठेक्का पट्टाको काम गर्न पाइने छैन । सिंह सञ्चालक रहेको निर्माण सेवा ‘घ’ वर्गको छ । स्थानीय तह गठन हुनु अघि जिल्लामा रहेका ‘घ’ वर्गका निर्माण सेवाको नविकरण सदरमुकामस्थित जिल्ला विकास समितिबाट हुँदै आएको थियो । अहिले भने स्थानीय तहलाई जिम्मा दिइएको छ । स्थानीय सरकार गठनपछि नागरिकले आनै गाउँ ठाउँबाट नै सेवा सुविधा पाउने भन्ने छ । तर स्थानीय तहमा कर्मचारी अभावले नागरिक भने झनै मारमा परेका छन् । स्थानीय तहमा कर्मचारी अभावकै कारण आफुहरू वर्षभरी काम गर्न नपाउने भन्दै स्थानीय तहका निर्माण सेवाका सञ्चालकहरू चिन्तित छन् ।


सिंहले स्थानीय तहमा कर्मचारी अभावले संस्था नविकरण नहुँदा वर्ष भरीको रोजीरोटी गुम्ने खतरा बढेको बताए । ‘जिल्लास्थित ‘घ’ वर्गको निर्माण सेवाको नविकरण स्थानीय तहमा हुन्छ, तर हाम्रो स्थानीय तहमा कर्मचारी नै नभएर संस्था नविकरण हुनसकिरहेको छैन,’ उनले भने, ‘असोज मसान्तसम्म मात्र नविकरण गर्ने म्याद रहेकाले यस वर्ष हाम्रो रोजीरोटी गुम्ने खतरा छ ।’


संस्थाको नविकरण मात्र हैन कर्मचारी अभावका कारण गाउँपालिकाबाट समान्य सिफारिसलगायतका कुनै पनि काम अघि बढ्न सकेको छैन । धनकौलमा झण्डै डेढ वर्षदेखि प्रमुख प्रशासकिय अधिकृत छैनन् । नेपाल सरकारको एक जना लेखापाल रहेको गाउँपालिकामा केही करारमा कर्मचारी नियुक्त गरिएका छन् ।


गत अर्थिक वर्षका योजना अधुरै रहने भएपछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत असारमा एक महिनाका लागि गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अरुण महतोलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो । महतोलाई दिइएको जिम्मेवारी असार मसान्तमा सकिएपनि मन्त्रालयले नयाँ प्रमुख प्रशासकिय अधिकृत नखटाएको गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले बताए । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको व्यवस्था मिलाइदिन मन्त्रालयमा पटक पटक लिखित र मौखिकरुपमा जानकारी गराएपनि सुनुवाई नभएको अध्यक्ष साहको गुनासो छ । उनले गाउँपालिकालाई दिगो विकासका योजना बनाएपनि कर्मचारी अभावकै कारण पुरा हुन नसकेको जानकारी दिए । ‘गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नै छैनन्, पटक पटक मन्त्रालयमा जानकारी गराउँदा पनि सुनुवाई नै भएन,’ उनले भने, ‘विहान १० बजेदेखि बेलुकीसम्म कार्यालयमा बस्छु, कर्मचारीबाट हुने कतिपय काम आफै गर्छु ।’


प्रकाशित : कार्तिक १, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?